महिलाले पनि गरे के हुन्‍न र ? (सफलताको कथा)

लोकेन थेवे

माईजोगमाई : २०५८ सालको हिउँदमा ६ घण्टाको पट्यार लाग्दो पैदल हिँडेर इलाम सदरमुकाम पुगेकी माईजोगमाई ६ की मुना थापा त्यही बेला घरेलु तथा साना उघोग विकास समितिले सञ्‍चालन गरेको ६ महिने सिलाई कटाइ तालिममा सहभागी भइन् ।

जाडो महिनामा कस्टसँगै मेहनत साथ सिकेपछि आफूले पनि केही गरेर स्वावलम्बी बन्‍ने सोच बनाएर ५ वर्ष अगाडी घरेलु तथा साना उद्योग विकास समितिमा सिलाई बुनाई कटिङ दर्ता गरी माईजोगमाई ६ पन्चमी बजारमा सञ्‍चालन गर्न सुरु गरेकी थापाले सुरुमा निक्कै कष्ट खेप्‍नुपर्‍यो ।

अन्धविश्‍वासले जरा गाडेको समाजमा सिलाई कटाइको पेसा अँगाल्नु निक्कै कठिन भएको स्मरण गर्छिन् थापा । घरपरिवारले राम्रो सहयोग गरेकोले आफूले पुरानो संस्कार जितेको र सीपलाई कुनै जातजातिले नछेक्‍ने उनी बताउँछिन् । ‘मासिक ६ सय रुपैयाँमा कोठा खोजेर सुरु गरेको हिजोअस्ति जस्तो लाग्छ, ५ बर्ष बितिसकेछ’ उनी भन्छिन् ।

उनले माइजोगमाईका महिलाहरुलाई विभिन्न समयमा सिलाई कटाई तालिम समेत दिएर धेरैलाई स्वावलम्बी बनाएकी छ्न् । त्यसमा उनी खुशी पनि छ्नि् । उनले सिकाएकामध्ये माइजोगमाइ ६ की सीता खालिङ पनि एक हुन् । अहिले उनै गुरु मुना थापासँगै काम गर्छिन् । सँगै बसेको पनि ४ वर्ष पुगिसकेको खालिङ बताउँछिन् ।

दुवै जना मेहनतका साथ रातदिन काम गर्दा पनि भनेको समयमा ग्राहकको काम पूरा गर्न नसक्दा निक्कै दु:ख लाग्ने उनीहरु बताउँछन् । उनीहरु दौरासुरुवाल र कोट भाहेक सबै प्रकारका कपडा सिलाउने गर्छन् । महिला भएकाले सुरुमा कसैले नपत्याएपनि अहिले सबैले बिस्वास गर्न थालेको उनीहरु बताउँछन् ।

एक जनाले दिनमा एक जोर पाइन्ट र सट सिलाई सक्छन् । ज्याला पनि ५ सय रुपैयाँ मात्र लिन्छ्न् । खासै महँगो पनि छैन । त्यसैले पनि कपडा सिलाउन आउने ग्राहक दैनिक बढ्दो छ । उनीहरुलाई वैसाख-जेष्ठमा विद्यालय सुरु हुने भएकाले विद्यार्थीको युनिफर्म रातदिन काम गर्दा निकै हैरानी खेप्‍नुपर्ने र असोज-कार्तिकमा चाडबाडका कारण ग्राहकको काम पूरा गर्न गाह्रो पर्ने उनीहरु बताउँछ्न् ।

यो पेसाले राम्ररी खान लगाउन मात्र होइन, मासिक संघसंस्थामा राम्ररी बचत गर्न पुग्ने गरेको छ । उनीहरु महिलाहरुले गरे नहुने केही नभएको बताउँछन् । पैसा खासै नकमाए पनि सबैको माया पाउनु ठुलो कुरो रहेको उनीहरु बताउँछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार