साउन पहिलो सातासम्म ४० प्रतिशत रोपाई

सुजता सुनुवार

इलाम : इलाममा साउन पहिलो सातासम्ममा ४० प्रतिशत रोपाई सम्पन्‍न भएको छ ।

जिल्लामा कुल धानखेती हुने १५ हजार ९ सय ९५ हेक्टर क्षेत्रफलमध्ये ६ हजार ३ सय ९८ हेक्टरमा रोपाई सकिएको साविक जिल्ला कृषि विकास कार्यालय इलामले जनाएको छ ।

गत वर्ष यही समयमा ३६ प्रतिशत हाराहारीमा रोपाई भएको कार्यालयका सूचना अधिकारी दिनकरमणी आचार्यले जानकारी दिए । जिल्लाका अधिकांश ठाउँमा आकाशे पानीमा भर पर्नुपर्ने भएकाले गतवर्षको तुलनामा यस वर्ष समयमा नै पानी परेकाले छिट्टै रोपाई सुरु भएको अधिकारी आचार्यको भनाई छ ।

जिल्लाका सबैभन्दा धेरै धान उत्पादन हुने क्षेत्र माई नगरपालिका, चुलाचुली गाँउपालिका, देउमाई नगरपालिका रहेका छन् । इलामका कुल कृषक परिवार ६४ हजार ५सय २ ले ६३ हजार २ सय ९५ हेक्टरमा खेती गर्दै आएको कार्यलयको तथ्याङ्कमा उल्लेख छ । यीमध्ये १५ हजार ९ सय ९५ हेक्टर जमिनमा मात्र धान खेती हुने गरेको छ ।

यस्तै जिल्लामा ४४ हजार ९ सय ४० हेक्टर पाखो जमिनले ओगटेको छ । आर्थिक वर्ष अघिल्लो आर्थिक वर्ष ०७३/७४ को तुलनामा आव ०७५/७६ मा ०.५ प्रतिशतले धानखेतीमा वृद्धि भएको कार्यालयले जनाएको छ ।

नेपाल सरकारले खुमल १,२,३,४, राधा , मनसुली , कालीमार्ची लगायत गरी ९१ जातका धानको बिऊ सिफारिस गरेको छ । यीमध्ये इलाममा राधा र मनसुली जातका धानमा बढी कृषकको आकर्षण रहेको अधिकारी आचार्यले बताए ।

उनका अनुसार यस वर्ष भने सबै अधिकार गाउँकेन्द्रित भएकाले साविक जिल्ला कृषि विकास कार्यलय इलामबाट कुनै पनि जातका धानका विऊ वितरण नगरिएकाले ट्रिटमेण्ड नगरिएका विऊ नै किसानले रोपेको पाइएको छ । संक्रमण भएको विऊ भएमा राम्रो सिंचाई पुगे पनि धान उत्पादनमा सोचे जस्तो प्रगति नहुने अधिकारी आचार्यको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार