माइजोगमाई गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम

नरेन इलामेली

माइजोगमाई : इलामको माइजोगमाई गाउँपालिकामा सुशासनका लागि सार्वजनिक सुनुवाई कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रप्रकाश बस्नेतले चालू आर्थिक वर्ष २०७४/७५ मा गाउँपालिकामा संचालित कार्यक्रमहरुको प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए । प्रतिवेदन अनुसार चालू आवमा पूर्वाधार विकासको काममा वडा नम्बर १ मा २० प्रतिशत, २ मा ३७ प्रतिशत, ३ मा ६७ प्रतिशत, ४ मा ४२ प्रतिशत, ५ मा ४५ प्रतिशत र ६ मा ४७ प्रतिशत काम समपन्न भएको देखाइएको छ ।

औसतमा गाउँपालिकामा ४५ प्रतिशत काम समपन्न भएको प्रतिवेदनले देखाइएको छ । साथै गाउँपालिकाभित्र शिक्षा, स्वास्थ्य, सञ्चार, सामाजिक सुरक्षा, बजार व्यवस्थापन लगायतका कार्यक्रम लगभग समपन्न हुने अवस्थामा रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

कार्यक्रममा सहभागीहरुको जिज्ञासाको जवाफ दिने क्रममा तपाईं निर्वाचित भएपछि यहाँका जनताको आशा र अपेक्षालाई कसरी पुरा गरिरहनु भएको छ भन्ने प्रश्नमा गाउँपालिकाकी उपाध्यक्ष सावित्रा भट्टराईले भनिन्, ‘यहाँका जनताको आशा अनुसार काम कमै भएको छ । मेरो न्यायिक निकाय भएकाले उहाँहरुले लिएर आउनु भएका समस्याहरु स्थलगत रुपमै गएर भए पनि समाधान गरिरहेकै छु । आठ बर्ष सम्म नमिलेका समस्याहरु पनि यसै न्यायिक समिति मार्फत समाधान भएका छन् । तसर्थ कामहरु भइरहेकै छन भन्ने अनुभव गरेको छु ।

त्यस्तै तपाईँको कार्यालयमा नागरिक वडापत्र पनि देखिएन नि यसरी सुशासनको प्रत्याभूति गर्न सकिन्छ भन्ने प्रश्नमा प्रमुख प्रशासकीय अधिकृत चन्द्रप्रकाश बस्नेतले नागरिक वडापत्रको खाका तयार भइसकेको र त्यसलाई चाँडै राख्ने तयारी भइरहेको बताए ।

सहभागीहरुको विविध प्रश्नका माझ तपाईं गाउँपालिकामा अध्यक्षको रूपमा आइसकेपछि जनतालाई आभाष हुने गरि के काम गर्नुभयो भन्ने प्रश्नमा गाउँपालिकाका अध्यक्ष जीतबहादुर राईले भने, ” गाउँपालिकाको अध्यक्षको रूपमा आइसकेपछि सर्वप्रथम त नीति नियम र निर्देशिकाहरू निर्माणका लागि समय खर्चिनु पर्यो । त्यस पछि यस गाउँपालिकाको सदरमुकाम नयाँबजारमा रहेका जग्गा धनी प्रमाण पुर्जा नभएका ४२ घरलाई मालपोत कार्यालय र नापी कार्यालयको सहयोगमा निःशूल्क जग्गा धनी प्रमाण पुर्जा वितरण गर्यौं । नीति नियम र निर्देशिकाहरू तयार भए पछि विकास निर्माणका काममा लागि परर निरन्तर लागि रहेका छौँ ।’

फरक प्रसङ्गमा अध्यक्ष राईले गाउँपालिका भित्रका सहकारी मार्फत कृषिमा आधुनिकीकरण र व्यवसायीकरण गर्नका लागि आधुनिक कृषि औजार, बिउविजन समेत प्रदान गरेको बताए ।

कार्यक्रममा गत आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई मुल्याङ्कन गर्दै अघिल्लो आर्थिक बर्षको निती तथा कार्यक्रममा भएका सवल र दुर्बल पक्ष औँल्याउँदै सुधार गर्नुपर्ने कुराहरु समेत समेटेर इलाम‌ एफ एमले तयार पारेको प्रतिवेदन समेत गाउँपालिका अध्यक्ष राईलाई बुझाइएको छ ।

कार्यक्रमको अन्त्यमा निर्वाचन पछिको लामो समय नीति नियम र निर्देशिकाहरू अभावमा काम गर्न जटिलता रहेकाले निती नियम र निर्देशिकाहरू बनाउन समय खचिनु परेकाले काममा ढिलाइ भएको बताउँदै आगामी दिनमा बनाएका नियमहरूलाई कठाइका साथ लागू गर्दै जनताको सुझाव र प्रतिक्रियालाई ध्यानमा राखी विकास निर्माणका कामलाई तिव्रता दिने अध्यक्ष राईले प्रतिबद्धता समेत व्यक्त गरे ।

माइजोगमाई गाउँपालिकाको आयोजना तथा इलाम एफ एमको प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । गाउँपालिकाका अध्यक्ष जीतबहादुर राईको अध्यक्षता समपन्न कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष सावित्रा भट्टराई, प्रमुख प्रशासकीय अधिकृत चन्द्रप्रकाश बस्नेत, ६ वटै वडाका वडा अध्यक्षहरु, बिभिन्न संघ संस्थाका प्रतिनिधी, पत्रकार तथा स्थानीयबासीको उल्लेखनीय उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार