इलामको इलम

इलाम : घुम्न आउनेहरूको समान प्रतिक्रिया हुन्छ– आहा… इलाम । नगदेबालीले ढाकिएका डाँडाकाँडा र स–साना थुम्कामा सजिएको चियाबारीसहित जाँगरिला इलामे देख्नेहरूबाट आउने यस्तो प्रतिक्रिया नौलो मानिँदैन ।

यहीँको कृषिउपज र जाँगरका कारण मेची राजमार्गमा चल्ने ट्रक तराई झर्दा रित्तो हुँदैनन् । पूर्वी पहाडी जिल्लामा खाद्यान्न, निर्माणलगायत उपभोग्य सामग्री बोकेर झापाबाट उकालो लाग्ने ट्रक फर्कंदा पनि भरिभराउ हुन्छन् । आर्थिकस्तर उकास्न मुख्यत: इलामको पर्याय बनेका नगदेबालीहरू ‘अ’ को योगदान उच्च छ । ‘अ’ बाट उच्चारण भएका ‘अलैंची, अदुवा, अकबरे, अम्लिसो अर्थोडक्स, ओलन, आलु’ नै यहाँको कृषि क्रान्तिका मेरुदण्ड हुन् । वार्षिक ३२ अर्बभन्दा धेरै रकम भित्र्याउने कृषि र पशु क्षेत्र अहिले पनि परम्परागत र कृषकको मिहिनेतकै भरमा टिकेको छ ।

इलमी हातहरूले उत्पादन गर्ने नगदेबालीकै कारण रोजगारीको वातावरण पनि वृद्धि हुँदै गएको छ । सिंगो जिल्लालाई मेची राजमार्गले चिरेको अवस्थासँगै ग्रामीण भेकमा फिँजिएको सडक सञ्जालले पनि कृषकको जाँगरलाई बजारीकरण गर्न सघाएको छ । कृषिको आधुनिकीकरणसँगै सागसब्जी र अन्य नगदेबाली उत्पादनको लहर चले पनि ‘अ’ को भूमिका कमजोर भएको छैन । कतिपय बाली रोगको प्रकोप बढ्नु, सिँचाइको भरपर्दो व्यवस्था नहुनु, ऋणको व्यवस्था हुन नसक्नु, मलखाद, औषधि र प्राविधिक ज्ञान अभावजस्ता कारणले भने उत्साहित कृषकमा जाँगरको अवरोध हुन् । पछिल्लो समय स्थानीय तहमा नयाँ नेतृत्वले कृषिलाई नजिकबाट बुझ्न नसक्दा भने कृषि क्षेत्र प्रभावित बनेको छ ।

आस जगाउँदै अलैंची 

खोल्साखोल्सी र ओसिलो माटोमा थोरै मात्र मिहिनेतले लाखौं रुपैयाँ आर्जन गर्न सकिने भएकाले ‘खोल्सीको सुन’ उपनाम पाएको अलैंची खेती रोगले सखाप बन्दै गए पनि कृषकले आस मारेका छैनन् । दानाबाट उत्पादन भएको निरोगी बिरुवा र नयाँ जातको अलैंची लगाएर आम्दानी बढाउने कृषक थपिँदै गएका गएका छन् । परम्परागत निर्वाहमुखी खेती प्रणालीमा आधारित यहाँको जनजीवनमा २० को दशकमै फस्टाएको अलैंची आय आर्जनको गतिलो माध्यम बन्यो । जिल्लाका अधिकांश स्थानीय तहमा फस्टाएको अलैंची खेतीकै कारण घरजग्गा जोड्ने, बालबच्चा पढाउने र आधुनिक जीवनशैली जिउनका लागि भरथोक गर्‍यो । रोगको प्रकोपले गाँजेपछि कृषक समस्या परे । छिर्के, फुर्के, डढुवा र गानो कुहिनेजस्ता रोगले ठूलाठूला बगानहरू उजाड भए । तर पुन: अलैंचीले आशा जगाउन थालेको छ । दक्षिणी जिर्मलेको सलकपुरका कृषकले सुन्तला र सुपारी बगानमा नै अलैंची फलाएर लाखौं कमाए । जिल्लाको समग्र उत्पादन घट्दै गएको र मूल्य उच्च भएका बेला यहाँ कृषकले प्रतिघर २० मनसम्म अलैंची फलाएर आम्दानी गरे । जिर्मलेको सिको गर्दै अहिले बेंसी क्षेत्रमा पनि अलैंची खेती फैलिएको छ । अलैंची खेतीलाई व्यस्थित गर्न उन्नति समावेशी परियोजनाले जिल्लाभर १८ वटा कृषक पाठशाला चलाएर अलैंचीको प्राविधिक ज्ञान बाँडिरहेको छ । उत्पादन बढाउन फिक्कल पान्दाममा रहेको अलैंची विकास केन्द्रले पनि पहल गर्दै आएको छ । ‘रोग निदनको उपाय स्वस्थ्य बिरुवा रोप्नु नै हो,’ केन्द्रका प्रमुख पदम अधिकारी भन्छन्, ‘बर्सेनि लाखौं विरुवा उत्पादन गरी कृषकसम्म पुर्‍याउने गरेका छौं ।’

ओलन (दूध) ले बढायो आत्मनिर्भरता 

स्थानीय भाषामा ओलन भनिने दूधको उत्पादन बढेसँगै कृषक आफैं मालिक बन्ने होडमा छन् । १९८० सालतिरै पूर्वी पशुपतिनगर बाघवीरेका कृषकले सीमापारि दार्जिलिङबाट गाई ल्याएर व्यावसायिकता दिएसँगै व्यवसाय फैलँदो छ । दुग्ध विकास संस्थानले दिने मूल्य कम भएकाले कृषकले आफ्नै पहलमा साना ठूला उद्योग खोलेर प्रशोधन थालेका हुन् । जिल्लामा सय/डेढ सयका हाराहारीमा डेरी उद्योग छन् । हरेकले दैनिक ५० देखि ५ सय लिटरसम्म दूध प्रशोधन गर्छन् । संस्थान अन्तर्गतका तीनबाहेक २४ चिज कारखाना सञ्चालनमा छन् । ती कारखनाले दैनिक हजारदेखि २ हजार लिटर दूध जम्मा गर्छन् । दैनिक २ सयदेखि ७ सय लिटरसम्म दूध संकलन गरी प्रशोधन गर्ने दर्जन बढी ललिपप उद्योग खोलिएका छन् । दैनिक ३ लाख ३६ हजार लिटर दूध उत्पादन हुने आँकडा छ । त्यसमध्यै घरायसी प्रयोजनमा खर्च हुने दैनिक डेढ लाख लिटर दूधबाहेक सबै बिक्री हुन्छ । २ लाख लिटर दूधमध्ये ठूलो हिस्सा स्थानीय स्तरमा खुलेका उद्योगमा खपत हुने गरेको छ । कृत्रिम गर्भाधानबाट उन्नत गाईको संख्या बढेसँगै दूधको उत्पादन पनि बढ्दै गएको हो ।

अर्थोडक्सको आयाम

 

१९२० सालमै सुरु भएको चिया खेती धेरैपछि मात्र कृषकस्तरमा पुगे पनि अहिले १५ हजार धेरै कृषक अश्रित छन् । यसमा योगदान छ अर्थोडक्स चियाको । जिल्लामा उत्पादित अधिकांश चिया अर्थोडक्स हो । विदेशी मुद्रा आर्जनका लागि पनि अर्थोडक्स चिया गतिलो माध्यम बन्दै गएको छ । दानादार चियालाई सीटीसी र पत्तीलाई अर्थोडक्स भनिन्छ । जिल्लामा २५ ठूला र १ सय बढी साना र मझौला अर्थोडक्स चिया कारखाना छन् । जिल्लामा ५० लाख किलोभन्दा धेरै तयारी अर्थोडक्स चिया उत्पादन हुन्छ । चियाका कारण स्वरोजगार बन्न पनि धेरैलाई मद्दत पुगेको छ ।

आफ्नै बगानमा आफैं काम गरी पत्ती बिक्री गर्ने चलन छ । ‘चिया खेती स्थायी जागिर जस्तै हो,’ श्रीअन्तुका कृषक पासाङ लेप्चा भन्छन्, ‘घरमा जति सदस्य भए पनि चिया बगानमै काम गर्न ठिक्क ।’ यसका अलावा अन्यलाई रोजगारीको अवसर पनि उत्तिकै सिर्जना भएको छ । यहाँ उत्पादित चिया भारतमा ८० प्रतिशत, १० प्रतिशत पश्चिमा मुलुक र बाँकी स्थानीयस्तरमा खपत हुने गरेको व्यवसायीहरू बताउँछन् । चियालाई पूर्ण अग्र्यानिक बनाउन सके पश्चिमा बजार कब्जा गर्न सकिने व्यवसायीहरूको विश्वास छ । पूर्वी फिक्कलको गोर्खा टी स्टेट, पशुपतिनगरको ग्रिन टि, साँखेजुङको हिमालयन सांग्रिलालगायत केही कारखानाले कृषकसँगको समन्वयमा अग्र्यानिक चिया उत्पादन बढाउँदै लगेका छन् । यी कारखानाबाट उत्पादित चियाको बजार जर्मन, बेलायतलगायत देश हुन् । हरियो चियापत्तीको अस्थिर मूल्य, औषधि र मलको अभाव, प्रस्ट चिया नीति अभाव, सहुलियत ऋणको अभाव जस्ता चिया कृषकका समस्या हुन् । ‘सरकारले विगतमा दिँदै आएको सुविधा पनि अहिले दिन छाडेको छ,’ कोल्वुङका हिमाल राईको गुनासो छ । अग्र्यानिक चिया कारखानाले ब्ल्याक टी, ओलङ, टी, ग्रिन टी, ह्वाइट टी र गोल्ड टी उत्पादन गर्छन् ।

अदुवामा अगुवा 

अदुवाको बिक्रीबाट जिल्लामा वार्षिक २ अर्ब रुपैयाँ भित्रने गरेको छ । मुलुकमै धेरै अदुवा उत्पादन हुने जिल्लाको सूचीमा पर्ने इलाममा अदुवाकै खेतीकै कारण धेरै घर व्यवहार चलेको छ । ३ हजार एक सय ६६ हेक्टरमा अदुवा खेती गरिंदै आएको छ । यहाँ उत्पादन भएको अदुवामा रेसा बढी हुने भएकाले गुणस्तरीय समेत मानिन्छ । नेपाल विश्वको अदुवा उत्पादन गर्ने देशको पाँचौं सूचीमा पर्छ । अदुवा निर्यात गर्ने मुलुकमा चीन पहिलो स्थानमा छ । नेपालमा उत्पादन भएको अदुवा सामान्य प्रशोधन र ग्रेडिङ नभई बिक्री गर्ने गरिएकाले किसानले उचित मूल्य पाउन सकेका छैनन् । बिनाप्रशोधन भारतीय बजारमा पुर्‍याइने गरेको अदुवामा मूल्य निर्धारण भारतीय व्यापारीहरूले नै गर्ने गरेका छन् । सरकारले अदुवा प्रशोधन गरेर मात्र बिक्री गर्ने नीति बनाए चित्तबुझ्दो मूल्य पाउन सकिने किसान बताउँछन् । माटोसहित, ग्रेडिङ नगरी अदुवा निकासी हुँदा नेपालले ५० प्रतिशतभन्दा बढी मूल्य गुमाउने गरेको अध्ययनले देखाएको छ ।

अकबरेको आकर्षण

औषधीय गुण, भिन्न स्वाद र वासनाका कारण धेरैको रोजाइमा पर्ने अकबरे खोर्सानीको पनि यहाँका कृषकले व्यावसायिक उत्पादन गर्ने गरेका छन् । जिल्लाका अधिकांश स्थानीय तहमा पनि लक्ष्मीपुर, पञ्चकन्या, कोल्वुङ, कन्याम, सुम्बेक, फिक्कललगायत गाउँमा यसको उत्पादन धेरै छ । एकजना कृषकले वार्षिक छ लाख रुपैयाँ सम्मको आम्दानी अकबरेबाट गर्न सकेका छन् । ‘मूल्य धेरै लिन अकबरेलाई प्याकिङसमेत गरेर बजारमा पुर्‍याउँदा राम्रो आम्दानी हुने गरेको छ,’ सुम्बेककी उर्मिला निरौलाले भनिन्, ‘यसको खेतीले अन्य परम्परागत बालीलाई पछि पार्दै लगेकाले गाउँमा खेती मोह बढ्दै गएको छ । इलाम घुम्न आउनेका लागि पनि अकबरे राम्रो कोसेली बेनेको छ । आर्थिक दशकअघि ७० हेक्टर क्षेत्रफलमा खेती भएको अकबरेको क्षेत्रफल र उत्पादन दोब्बर धेरैले बढेको छ । अघिल्लो आर्थिक वर्षमा जिल्लामा एक सय ६० हेक्टरमा गरिएको अकबरे खेतीबाट पाँच सय ५६ मेट्रिक टन उत्पादन भएको थियो ।

आलुको दिगो आम्दानी

जिल्लाका सबै १० स्ठानीय तहमा खेती हुने आलुले कृषकलाई ठूलै भरथेक गरेको छ । हिउँदे र बर्खे गरी दुवै सिजन उत्पादन हुने आलु खेतीलाई थप व्यावसायिक बनाएर आम्दानी लिने ध्याउन्न कृषकको छ । कृषि विकास कार्यालयको तथ्यांकअनुसार जिल्लामा हिउँदे आलु वार्षिक रूपमा ६७ हजार ७ सय मेट्रिक टन र बर्खे आलु २३ हजार २ सय मेट्रिक टन उत्पादन हुन्छ । चिसो क्षेत्रमा हुने झ्याले बिटेलगायत आलुको स्वाद मिठो हुने भएकाले यसको माग सीमापारि भारतका ठूला सहरमा पनि हुने गरेको छ ।

अम्लिसोमा आश्रित

ठाँट, पात र फूल सबैको प्रयोग हुने भएपछि सुक्खा भीरपाखाबाट सुम्बेकका ओमिन्द्र याखाले वार्षिक लाखौं आम्दानी गर्ने गरेका छन् । सुलुवुङका चित्रबहादुर सुब्बाले ढुङ्यान पाखोबारीलाई आम्दानीको दिगो स्रोत बनाए । जिल्लाका हरेक गाविसमा अम्लिसो रोपेर आम्दानी बढाउने क्रम बढ्दो छ । अम्लिोसोको डाँठ दाउरा, पात घाँस र फूल राम्रो मूल्यमा बिक्री हुने भएकाले कृषकको आकर्षण बढेको हो । व्यावसायिक रूपमा कुचो उत्पादन गर्ने यहाँका कृषक बर्सेनि कुचोको मूल्य बढ्दै गएकाले पनि उत्साहित भएका हुन् । भारतका ठूला सहरमा निर्यात हुने मुलुकभरको कुचो झापाको धुलबारीमा जम्मा हुने गरेको छ । कान्तपुर दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार