नयाँ बुलन्द
इलाम : १ नम्बर प्रदेशको नाम ‘किरात-लिम्बुवान’ प्रदेश राख्न सबैभन्दा उत्तम हुने इलाममा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । इतिहास र भूगोलका आधारमा १ नम्बर प्रदेशको नाम ‘किरात-लिम्बुवान’ प्रदेश राख्न उपयुक्त हुने धारणा राखेका हुन् ।
लिम्बू विद्यार्थी मञ्च केन्द्रीय कार्यसमिति राजनैतिक विभागले मञ्चको २० औं स्थापना दिवसको अवसरमा इलाममा आयोजना गरेको ‘१ नम्बर प्रदेशको नामfरण लिम्बुवान नै किन ? वहस तथा छलफल कार्यक्रम’ का सहभागीहरुले त्यस्तो धारणा राखेका हुन् ।
उनीहरुले सैद्धान्तिक र वस्तुगत आधारमा अरुण सप्तकोशी पूर्वको ९ जिल्ला लिम्बुवान प्रदेश भएको जिकिर गर्दै १ नम्बर प्रदेशमा अरुण सप्तकोशी पश्चिमका समेत ५ जिल्ला किरात समेत गाभिएकाले ‘किरात-लिम्बुवान’ प्रदेश नामाकरण गर्दा उपयुक्त हुने धारणा राखेका छन् ।
कार्यक्रममा ‘प्रदेश नम्बर १ को नामाकरण : सैद्धान्तिक तथा वस्तुगत आधार’ विषयमा दिलेन्द्र कुरुम्बाङले कार्यपत्र प्रस्तुत गरेका थिए । उनले आफ्नो कार्यपत्रमा सैद्धान्तिक र वस्तुगत आधारमा अरुण सप्तकोही पूर्वको ९ जिल्ला लिम्बुवान प्रदेश नै हुनुपर्ने जिकिर गरेका छन् ।
तर उनले निष्कर्षमा ‘१ नम्बर प्रदेशलाई ‘किरात-लिम्बुवान’ नामाकरण गर्नु सबैभन्दा उत्तम हुनेछ’ उल्लेख गरेका छन् । उनले १ नम्बर प्रदेशमा लिम्बुवान (अरुण पूर्वका ९ जिल्ला) र किरात (अरुण पश्चिमका ५ जिल्ला) का भूभाग मिसाइएकाले दुवैको मनोविज्ञान, मनोभावना, स्वपहिचान र अस्तित्वलाई मध्यनजर गरी किरात-लिम्बुवान प्रदेश नामाकरण गर्न उत्तम हुने तर्क प्रस्तुत गरे ।
‘अरुण पूर्व ९ जिल्ला लिम्बुवान नै हो । यसमा कुनै दुई मत छैन । यो कुरा इतिहासले पुष्टि गरेकव छ’ कार्यपत्र प्रस्तोता कुरुम्बाङले भने, ‘१ नम्बर प्रदेशमा ९ जिल्ला मात्र छैन । यहाँ त किरातका ५ जिल्ला पनि मिसाइएको छ । त्यसलाई पनि लिम्बुवान भन्ने आधार त छैन । तसर्थ तत्कालका लागि यसलाई किरात-लिम्बुवान भनेर जानू नै उत्तम हुनेछ ।’ पछि पुनर्सीमाङ्कन गरी अलगअलग लिम्बुवान र किरात प्रदेश बनाउन सकिने उल्लेख गरे । उनले छिमेकी भारत १५ बाट २९ प्रदेश पुगेको उदाहरण प्रस्तुत गर्दै नेपालमा पनि त्यही हुने दावी गरे । त्यसका लागि क्रान्ति अझ बाँकी रहेको उनको भनाइ थियो ।
कार्यपत्रको टिप्पणीकार इतिहासविद युद्धप्रसाद वैद्यले १ नम्बर प्रदेशको नाम ‘किरात-लिम्बुवान’ नै राख्न उपयुक्त हुने भन्दै यो आवाजलाई सम्बन्धित ठाउँसम्म पुर्याउनु आवश्यक रहेको धारणा राखे । ‘हरेक नामलाई इतिहासले पुष्टि गर्दछ’ इलाम जिल्लाको नामाकरणको सन्दर्भमा इतिहास स्मरण गर्दै वैद्ययले भने, ‘पहिचान दिने गरी मामाङकन गर्न प्रदेश सांसदहरुलाई सुझाव दिनुहोस् । वहसलाई द्रूत गतिमा अगाडि बढाउनुहोस् । यो प्रदेश लिम्बुवान नै हो । त्यो इतिहासले बोल्छ । इतिहास साक्षी छ ।’
उनले यस्ता बहस कोठा र हलमा मात्र गरेर नपुग्ने भन्दै प्रतिनिधिसमक्ष पुग्ने गरी अभियान सञ्चालन गर्न लिम्बू विद्यार्थी मञ्चलाई सुझाव समेत दिए । ‘इतिहासले पुष्टि गर्दछ की यो प्रदेश लिम्बुवान नै हो । तर सबै पक्षबाट सर्वसम्मत स्वीकृत हुनका लागि सबै सांसद समक्ष यो कुरा पुर्याउनुपर्छ’ वैद्यले भने, ‘त्यसका लागि दवावमूलक कार्यक्रम गर्नुहोला ।’
कार्यक्रमका अधिकांश सहभागी वक्ताहरुले सबैको मनोविज्ञान, मनोभावना, अस्तित्व र पहिचान सम्बोधन ‘किरात-लिम्बुवान’ प्रदेश नामाकरणले मात्र गर्न सक्ने धारणा राखेका थिए । केही वक्ताले भने सबै जातजातिको समान सहभागिता र अपनत्व हुने व्यवस्था महत्वपूर्ण हुने भन्दै नाम जेसुकै राखे पनि खासै फरक नपर्ने धारणा राखेका थिए ।
कार्यक्रममा टिप्पणीकार वैद्य, किरा याक्थुङ चुम्लुङका पूर्व केन्द्रीय उपाध्यक्ष मोहनसिंह थेवे, वर्तमान उपाध्यक्ष यामप्रसाद लिम्बू, माजवादी विद्यार्थी फोरमका केन्द्रीय सदस्य रञ्जित साम्पाङ, अनेरास्ववियुका केन्द्रीय सदस्य रविन्द्र सुवेदी, नेपाल तामाङ विद्यार्थी घेदुङका केन्द्रीय सदस्य इश्वरी तामाङ, किरात राई विद्यार्थी संघका रोशन राई, नेपाल मगर विद्यार्थी संघका लक्ष्मी केप्छाकी मगर लगायतले धारणा व्यक्त गरेका थिए ।
लिम्बू विद्यार्थी मञ्चका केन्द्रीय सदस्य तथा राजनैतिक विभाग प्रमुख रामकुमार लिङदमको अध्यक्षता र लिम्बू विद्यार्थी मञ्चका केन्द्रीय अध्यक्ष फिपराज वेघाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको स्वागत केन्द्रीय सदस्य ममता लावतीले गरेकी थिइन् । कार्यक्रमो सञ्चालन केन्द्रीय सदस्य गुल्सन आङबुहाङले गरेका थिए ।