नयाँ बुलन्द
इलाम : पञ्चकन्या माई हाइड्रो पावर लिमिटेडमा पचास करोड रुपैंयाँ बराबरको शेयर रकम संकलन भएको छ । गत माघ ५ गतेदेखि २३ गतेसम्म शेयर आव्हान गरेको हाइड्रोमा लक्ष्यभन्दा अत्यन्तै बढी शेयर रकम संकलन भएको हो । हाइडूोले जम्मा ११ लाख कित्ता अर्थात ११ करोड रुपैंयाँ शेयर निष्काशन गरेकोमा साडे चारगुणा बढी ५० करोड रुपैंयाँ शेयर रकम जम्मा भएको हो ।
हाइड्रोले अति प्रभावित र प्रभावितका लागि छुट्टाछुट्टै गरेर एघार लाख कित्ता अर्थात एघार करोड रुपैंयाँ शेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो ।
अति प्रभावित भनेर सन्दकपुर गाउँपालिकाका लागि ६ लाख ६० हजार कित्ता (६० प्रतिशत) अर्थात ६ करोड ६० लाख रुपैंयाँ र प्रभावित भनेर इलाम नगरपालिकामा ४ लाख ४० हजार कित्ता (४० प्रतिशत ) अर्थात ४ करोड ४० लाख रुपैंयाँ निष्कासन गरेको थियो ।
हाइड्रोका कार्यकारी निर्देशक सन्तोषकुमार प्रधानका अनुसार सन्दकपुर गाउँपालिकामा चाहिएभन्दा साडेदुइ गुणा बढी शेयर रकम संकलन भएको छ । सो गाउँपालिकामा ६ लाख ६० हजार कित्ता शेयर निष्काशन गरेकोमा १७ करोड रुपैंयाँ शेयर रकम संकलन भएको छ ।
यस्तै इलामनगरपालिकामा ४ लाख ४० हजार कित्ता शेयर निष्कासन गरेकोमा ३३ करोड रुपैंयाँ शेयर रकम संकलन भएको छ । हाइड्रोले जिल्लाका तीनवटा बैंक सनराईज, प्रभु र लक्ष्मि बैंक सहित सन्दकपुर गाउँपालिकाको कार्यालय र माबु हाइड्रोको कार्यालयबाट शेयर रकम संकलन गरेको थियो ।
शेयरमा न्यूनतम २० कित्तादेखि अधिकतम पाँचहजार पाँचसय कित्तासम्मका लागि आवेदन गर्न पाउने ब्यवस्था रहेको थियो । कम्पनीले इलाम सन्दकपुर गाउँपालिका स्थित माबु, माईमझुवा र सुलुबुङ्गमा अप्पर माई जलबिद्युत आयोजनाबाट १२ मेगावाट क्षमताको अपरमाई हाइड्रोपावर आयोजना सञ्चालनमा ल्याएको छ ।
त्यस्तै ६ दशमलव १ मेगावाटको क्यास्केड आयोजना पनि निर्माण सम्पन्न भएको छ ।






















































