युद्धबहादुर बोहोरा
पाँचथर : पुर्वी नेपालमा पुरानो बिनायो बाजा गाउँघरमा बजाउने चलन थियो । जुन बाँसबाट बनाइने गरिन्थ्यो । आजकाल लोप हुँदै गएको छ । यस्तै बाजाका मार्मिक धुनबाट झ्याउरे लोक गीतहरुको उत्पति हुँदै आएको हो ।
चर्चित लोकगायक शम्भु राई, टंक केशी, जितेन राई, नवीन खड्का लगायत दर्जनौं कलाकारका गीतहरुमा बिनायोको धुन सुन्न पाइन्छ । यस्तै, लोपोन्मुख बिनायो बाजा, बाँसका चिम्टी, काँइयो र ऎनाको फ्रेम जस्ता आकर्षक बासका सामानहरु तयार गर्ने कलाकौशलमा निपुण छन् दिपेन्द्र चेम्जोङ।
पाँचथर फाल्गुनन्द गाउँपालिका-५, निवासी बुबा तिलोकसिं चेम्जोङ र आमा नन्मा राई चेम्जोङका साहिला छोरा दिपेन्द्र हाल अपाङ्ग अवस्थामा छन् । उनको जन्म २०३० सालमा भएको हो । २०५४ सालमा दुर्गा माध्यमिक विधालय रवि पाँचथरबाट प्रवेशिका परिक्षा उत्तीर्ण गरी इलाम क्याम्पस अध्यन गर्दै गरेका उनी २०६० सालमा काठमाडौं जाने क्रममा बसमा दुर्घटनामा परे।
उपचार गर्दा धेरै खर्च भयो। काठमाडौंको केटिएम इस्पाइनल ईन्जुरीमा ५/६ महिना उपचार पछि व्हिल चियरमा बस्नुपर्ने बाध्यता भयो । उनको मेरुदण्ड भाँचिएर अपाङ्ग बन्न पुगे। त्यस बेला उनले एक लाख ५ हजार रुपैयाँ विमा सुविधा पाएका थिए। त्यसपछि आफ्नो घरमा बस्नुपर्ने अवस्था भयो। उनको परिवारमा श्रीमती, दुई छोरा र एक छोरी छन् । उनका छोराहरु कक्षा ९ र १० मा पढ्दै छन् । छोरी झापा दमक स्थित लाईफ लाइनमा रेडियोलोजि दोस्रो वर्षमा अध्यनरत छिन्।
जेसिआइ मास्टर नेपालले आयोजना गरेको प्रतियोगितामा नृत्यतर्फ कान्छा छोरा टप २० मा पुग्न सफल भएका थिए। श्रीमती गाउँपालिकामा सानोतिनो जागीरे छिन् । उनको उच्च माध्यमिक विद्धालय छेउमा उनको सानो किराना पसल छ।
तर त्यतिले मात्र उनको घरव्यवहार चल्दैन । घरव्यवहार चलाउन र छोराछोरीको पढाई खर्च जुटाउन आफ्नो सीपको उपयोग गर्ने गरेका छन् । बाँसका विभिन्न सामग्री तयार गरी बिक्री गर्ने गरेका छन् । धेरै मेहनत र परिश्रमबाट मात्र सामान तयारी हुने उनको भनाइ छ। आफुले बनाएका सामानहरु बिक्रीको लागि व्यापारीले दार्जिलिङ, सिक्किम र काठमाडौं लाने गरेका छन् । ऎना फ्रेम प्रति गोटा दुइ हजार पाँच सय रुपैयाँ, बिनायो ढाका खोल लगाएर एक हजार रुपैयाँ, चिम्टी र काँइयो दुई सय ५० रुपैयाँ सम्ममा बिक्री हुने गरेको बताउँछन् ।
हङकङ र युकेका लाहुरेहरुले पनि उनले बनाएका सामानहरु लाने गरेका छन् । एउटा चोया बाँसबाट सामान बनाएर बेच्दा ६० हजार रुपैयाँ सम्म हुन्छ । स्वास्थ्यले साथ दिएर राम्रो काम गर्दा वार्षिक तीन लाखसम्म कमाइ हुने उनी बताउँछन् ।
विद्धालयमा उनी असल विद्धार्थी रहेको जनकल्याण माध्यमिक विद्धालयका प्रधानाध्यापक कुम्बाहाङ नेम्बाङ स्मरण गर्छन् । उनी भलिबल खेलका पनि राम्रा खेलाडी थिए । मिलनसार स्वभाव भएका चेम्जोङ अपाङ्ग हुँदा उनका धेरै सहयात्रीहरू दुखित छन् । भेट्न आउने जो कोहिले कोशेलीको रुपमा पत्रपत्रिका र पढ्ने सामाग्रीहरु ल्याइ दिए उनी खुशी हुन्छन् ।
उनी भन्छन् “अध्यन, मेहनत र खोजीले सीप हासिल गर्न सकिन्छ।” ज्ञान प्राप्ति बिना असल व्यक्ति बन्न नसक्ने उनके तर्क छ । आफुले खोज र अनुसन्धानबाट नै सीप हासिल गरेको उनी बताउँछन् । उनी अपाङ्गता भएपनि समाजसेवी र सहयोगी मनका छन् । आफू दुर्घटना परि आधा जिवनमा घरमै थन्किनु परेकोमा उनी दुखी छन् । यो अवस्था अरुलाइ नपरोस् भन्दै धेरैलाई उपदेश दिने एक गुरुका रूपमा स्थापित भएको स्थानीय समाजसेवी सुजन चेम्जोङ बताउँछन् । उनी साविक फाक्तेप गाउँ विकास समितिको अपाङ्ग संघका सचिव समेत थिए ।