दुई महिना नपुग्दै भत्कियो पुल

चुलाचुली गाउँपालिका वडा नम्बर २ र ३ को बीचमा बग्ने चाँजु खोलाको पुल (भत्किनु अघिको) ।

राम योङहाङ

इलाम : निर्माण सम्पन्न भएको दुई महिना नपुग्दै इलामको चुलाचुली गाउँपालिकाको चाँजु खोलाको झोलुङ्गे पुल भत्किएको छ ।

निरन्तरको वर्षापछि आएको बाढीले चुलाचुली २ र ३ को बीचमा बग्ने चाँजु खोलामा बनाइएको झोलुङ्गे पुल भत्काएको हो । पुल भत्किएपछि स्थानीयलाई आवतजावतमा समस्या भएको छ । उनीहरुको यात्रा कष्टकर र जोखिमपूर्ण बनेका छ ।

गत वैशाख अन्तिम साता निर्माण सम्पन्न भएको पुल उद्घाटन नै नगरी भत्किदा स्थानीय चिन्तित र आक्रोसित बनेका छन् । ‘बल्लतल्ल निर्माण सम्पन्न भएको पुल औपचारिक उद्घाटन नै नगरी भत्किदा स्थानीय आक्रोसित बनेका हुन्’ आङथुपोले भने, ‘यो भन्दा हद हुने ठाउँ छैन । पहिलो पटक आएको बाढी मै भत्कियो ।’ उनले सरकारी पक्षको लापरबाहीले चुलाचुलीबासीले पुल पाएर पनि गुमाउनु परेको बताए । बालुवा बढी भएको क्षेत्रमा कमसल जग निर्माण गरिएका कारण बाढीले जमिन खोलेर पुल भत्काएको उनको भनाई छ ।

चाँजु खोलामा २ सय ४ मिटर लम्बाईको झोलुङ्गे पुल निर्माण भएको थियो । झोलुङ्गे पुल महाशाखा काठमाडौको ७० लाख रुपैयाँमा पुल बनेको थियो । पुलको पिल्लर ३ फिटसम्म मात्र गाडिएकाले पूर्व पट्टीको एउटा पिल्लर भाँसिएको पुल रेखदेख समितिका अध्यक्ष राजेन्द्र केरुङले जानकारी दिए ।

चुलाचुली ३, ४, ५ र ६ का बासिन्दालाई गाउँपालिकाको कार्यालयसम्म आउन सो पुल प्रयोग गर्दै आएका थिए । ती वडाहरूबाट जनता माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थीका लागि पनि पुल अति आवश्यक थियो । अहिले पुल नहुँदा ती वडाका बासिन्दालाई समस्या भएको छ ।

सानाठूला गरी करिब एक दर्जन खोला रहेको सो चुलाचुलीमा पुल नहुँदा त्यहाँका बासिन्दाले वर्षाैदेखि कष्टकर र जोखिमपूर्ण जीवन व्यतित गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार