सौर्यबत्ती जडानका लागि पोलिङ सुरु

इलाम : इलाममा सौर्य सडक बत्ती जडानका लागि पोलिङको काम सुरु भएको छ । इलाम नगरपालिकाको बजार क्षेत्रमा रहेका सडक बत्तीलाई व्यवस्थित बनाउन सौर्य सडक बत्ती जडानका लागि पोलिङको काम सुरु भएको हो ।

सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय इलामले सघन सहरी विकास कार्यक्रम लागु गरेको छ । यसै अन्तर्गत एक सहर एक पहिचान कार्यक्रम सुरु गरी सौर्य सडक बत्तीको योजना लागु भएको सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय इलामले जनाएको छ ।

डिभिजन कार्यालयका अनुसार यो योजना गत आर्थिक वर्षकै असार मसान्तमा सक्नेगरी काम थालिएको थियो । तर ठेक्का सम्झौता लगायतका बिभिन्न प्राविधिक कारणले समयमा हुन नसकेपछि यस वर्ष सुरु गरिएको हो ।

जिल्लाका इलाम नगरपालिका कार्यालयको समन्वयमा सहरी विकास कार्यालयले सौर्य सडक बत्तीको लागि काम थालेको हो । यो काम चालु आर्थिक वर्षकै माघ महिना सम्ममा सक्ने बताइएको छ ।

पोल खरिददेखि लिएर सौर्य बत्ती जडानसहित सम्पूर्ण कामका लागि सिप्रदी इनर्जीले भ्याटसहित एक करोड ८९ लाख ३२ हजार पाँच सय रुपैयाँमा ठेक्का लिएको छ ।

सौर्य बत्ती इलाम नगरपालिकाका साविकको वडा नम्बर १, २ र ३ को मुख्यबजार क्षेत्रमा जडान गर्ने कार्यालयले जनाएको छ । कार्यालयका अनुसार बजार क्षेत्रमा २ सय ३ वटा सौर्य बती जडान गरिनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार