उम्मेद्वार गाउँगाउँमा भोट माग्दै मतदान गर्न सिकाउँदै

सुजता सुनुवार

इलाम : आसन्न स्थानीय तहको चुनावको मिति नजिकिदै जादाँ उम्मेद्वार चुनावी प्रचारप्रसारमा लागेका छन् ।

यस पटकको मतपत्र ठूलो भएकाले मत बदर हुन्छ भन्ने चिन्ता पनि उम्मेद्वारहरुलाई उत्तिकै छ । भोट माग्दै मतदान गर्ने तरिका सिकाउदा आम नागरिक पनि खुशी हुने गरेको सबै भन्दा कान्छी उम्मेद्वार माईजोगमाई गाउँपालिका माओवादी केन्द्रकी उपप्रमुख संगीता थामीले सुनाइन् । उनले भनिन्, गाउँका अधिकांश व्यक्तिहरुले मतपत्र नै देखेका रहेनछन् । मतदान गर्न सिकाउदै भोट माग्नुको मज्जा बेग्लै हुँदोरहेछ । थोरै मानिसहरुलाई भोट माग्न भ्याए पनि बदर हुनबाट बचाएँ भन्ने कुराले आत्म सन्तुष्टि हुने उनले बताइन् ।

२० वर्ष पछि चुनाव हुनु, यसका कारणले पहिलो पटक भोट हाल्ने व्यक्तिहरु बढी हुनुले पनि मतदाता बढी अन्यौलमा पर्ने गरेका छन् । स्थानLय तहको चुनाव भएकाले पार्टी होइन व्यक्तिलाई छनौट गर्ने भन्ने नागरिकको सोचाईले पनि पढेलेखेकाले नै पनि नमुना मतदाता कार्यक्रममा अल्मलिने गरेको निर्वाञ्चन कार्यलय इलामका निर्वाञ्चन अधिकारी प्रेमकुमार काफ्लले बताए ।

निर्वाचन कार्यालयले गतअसार ५ गतेबाट नै मतदान गर्ने तरिकाबारे नगरपालिका तथा गाउँपालिकाका गाउँगाउँमा मतदाता शिक्षा कार्यकर्ता परिचालन गरेको छ । इलामका ग्रामीण क्षेत्रहरुमा भने स्वयमसेवक नै नपुगेको आम नागरिकहरुले गुनासो गर्ने गरेका छन् ।

गाउँगाउँमा विभिन्न दलका उम्मेद्वारले मत माग्न जाँदा मतदान गर्ने तरिका नै थाहा नभएको जवाफ मतदाताबाट पाए पछि मतपत्र साथैमा लिएर भोट माग्न हिडेको नेपाली कांग्रेस इलाम नगरपालिका वडा नं. ४ का वडाध्यक्ष होम दुलालले बताए । मतपत्र अलि अप्ठ्यारो भएकोले मतदाताको मागलाई ध्यानमा राखेर अहिले निर्वाचनको मतपत्र बोकेर गाउँगाउँमा मतदान गर्ने तरिकाबारे सिकाउँदै प्रचारप्रसारको काममा व्यस्त छु उनले आफ्नो दैनिकी सुनाए ।

कतिपय गाउँमा मतदाता शिक्षा कार्यकर्ता नै नपुगेको र कतिपय गाउँमा पुगे पनि सबैका घरघरमा नपुगेको गुनासा धेरैको रहेको उनको भनाइ छ । उनका अनुसार केही ठाउँका मतदाताले निर्वाचन नजिकिँदै जाँदा मतदाता स्वयम्सेवक गाउँमा कहिले आउँछन् भनेर पर्खेर बसेका छन् ।

चार नगरपालिका र छ गाउँपालिका रहेको  जिल्लामा एक लाख ८९ हजार दुई सय ७४ मतदाता रहेका छन् । जिल्लाका ८१ वडामा एक सय ४४ मतदान स्थल र दुई सय ४९ मतदान केन्द्र छन् । अहिले जिल्लाभर एउटा मतदान केन्द्रमा ६ जना कर्मचारी खटाइएको जिल्ला निर्वाचन कार्यलय इलामले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार