भट्टराई नेतृत्वको महासंघले युनियन र फोरमसँग वार्ता गर्ने

नयाँ बुलन्द

इलाम : नेपाल पत्रकार महासंघ, इलाम शाखाको दशौं जिल्ला अधिवेशन हुकुमी शैलीमा सञ्चालन गरिएको भन्दै नेपाल प्रेस युनियन र संघीय प्रेस फोरम इलामले गम्भीर असहमती जनाएका छन् ।

ती संगठनले केन्द्रीय प्रतिनिधि खगेन्द्र पन्तले शाखा अन्तर्गतका महासंघ सदस्यहरुको नामावली गोप्य राखी एकलौटी ढंगले विधानविपरित जबरजस्ती अधिवेशन गर्न खोजेकोले मान्य नहुने जनाएका हुन् ।  युनियन र फोरमले आज एक संयुक्त प्रेस विज्ञप्ति निकाल्दै पत्रकार महासंघको जिल्ला शाखामा तालाबन्दी भएकै अवस्थामा पन्तले विधि, विधान र प्रक्रियाविपरित आफैं अधिवेशनको प्रमुख अतिथी भई उद्घाटन गर्न खोज्नु नाजायज भएको बताएका छन् ।

शाखाको अधिवेशनको उद्घाटन सत्रमा छिर्नसमेत नदिएपछि इलाममा क्रियाशिल र सक्रिय पत्रकारहरुले शनिबार छुट्टै भेलाको आयोजना विप्लव भट्टराईको नेतृत्वमा नेपाल पत्रकार महासंघ, इलाम शाखाको नयाँ कार्य समिति गठन गरेका थिए ।

भट्टराईको नेतृत्वमा बनेको नयाँ समितिप्रति पूर्ण साथ र समर्थन रहेकोले कथित अधिवेशनको नाममा बन्ने कुनै पनि समानान्तर समितिलाई मान्यता नदिन ती संगठनले सम्बद्ध सबैलाई आग्रह गरेका छन् । ती संगठनले नयाँ समितिले कार्यालय खोली भावी योजनाहरु अगाडि बढाउनेक्रममा कुनै खालको अवरोध र हर्कत गर्ने दुस्साहस नगर्न तथा शाखा कार्यालय कब्जा गर्ने र आक्रमणको कुनै खालको प्रयास भए कडा प्रतिकारमा उत्रन बाध्य हुने चेतावनी दिएका छन् ।

यसैबीच भट्टराई नेतृत्वको नवनिर्वाचित समितिको पहिलो बैठकले आन्दोलनरत नेपाल प्रेस युनियन र संघीय प्रेस फोरमसँग तत्काल वार्ताका माध्यबाट समस्या समाधान गरी ताला खोल्ने र कार्यालय सञ्चालन गर्ने निर्णय गरेको छ ।

साथै शाखाले आफू अन्तर्गतका निस्कृय, राजनीतिक कार्यकर्ता र सरकारी सेवामा क्रियाशिल २० जना सदस्यको सदस्यता खारेज गर्दै अनुमोदनका लागि केन्द्रीय कार्यालयमा पठाएको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार