घरदैलोमा गएर सेवा दिदैं इभाङ्ग गाविस

नयाँ बुलन्द

इभाङ्ग : इभाङ्ग गाउँ विकास समितिले जनताको घरदैलो कार्यक्रम सुरु गरेको छ । स्थानीय नागरिकलाई सेवासुविधा लिन सहज होस् भन्ने उद्देशयका साथ अभियान सुरु गरेको गाविसले जनाएको छ ।

गाविसले कार्यालयबाट प्रदान गर्ने सबै प्रकारका सेवा जनताको घरघरमा गएर प्रवाह गर्ने उद्देश्यले कार्यक्रम सुरु गरिएको गाविस सचिव चन्द्र राउतले जानकारी दिए । यो अभियान गाविसले कार्यालयदेखि सबैभन्दा टाढाको वडा नम्बर ८ बाट सुरु गरेको छ ।

शुक्रबार सुरु गरिएको अभियान अन्तरगत वडा नम्बर ८, ७ र ६ मा सो कार्यक्रम सकिएको गाविस सचिव राउतले जानकारी दिए । नागरिक सचेतना केन्द्र समेत रहेको वडा नम्बर ८ बाट हालको गाविस कार्यालय आउन ६ घण्टा पैदल हिँड्नुपर्छ ।

अभियान अन्तरगत घटना दर्ता गर्ने, नेपाली नागरिकताको सीफारिस गर्ने, मालपोत दस्तुर संकलन गर्ने तथा गाविसले स्थानीय स्तरमा प्रदान गर्ने सबै प्रकारका सेवा प्रदान गरिएको सचिव राउतले जानकारी दिए ।

अभियानका क्रममा ६० जनाको जन्मदर्ता, ६ जनाको मृत्यूदर्ता, ११ जोडीको विवाह दर्ता गरिएको छ । त्यस्तै संयौको संख्यामा अन्य विभिन्न प्रकारका सिफारिस गरिएको सचिव राउतले नयाँ बुलन्दलाई जानकारी दिए ।

बाँकी वडाहरुमा समेत अभियान तत्काल सञ्चालन गर्ने सचिव राउतले जानकारी दिए । ‘यस्तो कार्यक्रमको माग वडावडाबाट आइरहेको छ’ सचिव राउतले नयाँ बुलन्दसँग भने, ‘समय मिलाएर बाँकी वडामा समेत यो कार्यक्रम सञ्चालन गर्नेछौं ।’ अभियान सुरु भएपछि सबैतिरबाट सकरात्मक प्रतिक्रिया आउनका साथै आफ्नो वडामा पहिले कार्यक्रम गर्न माग समेत आइरहेको राउतले बताए ।

गाविस सचिवको नेतृत्वमा गाविस कर्चमारी, राजनीतिक दल, वडा नागरिक मञ्च तथा स्थानीय सरोकारवाला संघसंस्थाहरुको सक्रियतामा गाउँमै गएर सेवा प्रदान गर्न थालेको हो । यसका लागि घरघरमा सूचना प्रवाह गर्ने काम वडा नागरिक मञ्चको नेतृत्वमा भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार