‘बालबालिकाको सवालमा उनीहरुकै नेतृत्व हुनुपर्छ’

याम माबोहाङ लिम्बू
इलामः बाल बालिकाको सवालमा उनीहरुकै नेतृत्व हुनपर्ने इलाममा आयोजित एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । उनीहरुले मानव अधिकार मञ्च नेपाल इलामले बाल क्लबका संरक्षक शिक्षकलाई दिएको तालिम समापन समारोहमा यस्तो बताएका हुन् ।

बालबालिकालाई भविष्यका कर्णधार भनेर वर्तमानमा केही अवसर नदिए भविष्यमा अयोग्य ठहरिने भएकोले विद्यालय स्तरमै व्यवहारिक सीप र ज्ञान दिनुपर्नेमा जोड दिए ।

बालबालिकालाई विद्यालयमै आधारभूत व्यवहारिक सीपको ज्ञान नदिएरै देशले अहिले समस्या भोग्नु परेको ठहर गर्दै, भविष्यमा देशलाई समृद्धि तर्फ लाने हो भने विद्यालयबाटै आधारभूत व्यवहारिक सीप दिनु पर्ने सुझाव समेत दिए ।

शिक्षकले राजनीति गरेरै शिक्षाको गुणस्तर खसेको बताउँदै, उनिहरुले शिक्षालाई राजनीतिक नाफा मुलक व्यवसाय नबनाउन सरोकारवालासँग आग्रह समेत गरे ।

उनीहरुले विद्यालयमा बालमैत्री शिक्षण प्रभाकारी रुपमा कार्यान्वय गर्न सकेको खण्डमा बालबालिकामा सबै खालको विकास हुने विश्वास गर्दै, बालबालिका सम्बन्धी बनेको नीति नियमलाई अर्थपूर्ण कार्यावन्यन गर्न सबै पक्षलाई अनुरोध गरे ।

बालबालिकाको सवालमा उनिहरुले नेतृत्व गर्न पाए जिम्मेवारी र क्षमतामा विकास हुने भएकोले अवसर, असल संस्कार विद्यालयमै सिकाउन शिक्षक आफै सचेत हुन आवश्यक रहेको समेत बताए ।

तालिम समापनका अवसरमा इलामका जिल्ला शिक्षा अधिकारी टंक प्रसाद गौतम, मानव अधिकार मञ्च नेपाल इलामका उपाध्यक्ष वीरबहादुर खड्का, कार्यकारी निर्देशक देबेन्द्र विश्वकर्मा, कार्यक्रम संयोजक ठाकुर श्रेष्ठ लगायतले बोलेका थिए ।

किन्डरमिसनरेक जर्मनिको सहयोगमा मानव अधिकार मञ्च नेपालको परियोजना बाल अधिकार तथा शान्ति शिक्षा अन्तर्गत भएको तालिममा बालअधिकार, बालअधिकार सम्बन्धी राष्ट्रिय अन्तर्राष्ट्रिय कानुनहरु, बाल दुब्र्यवहार, मानव अधिकार, बालबालिकाको क्षेत्रमा विनियोजित बजेट, त्यसको उद्देश्य र कार्यान्वयन प्रकृयाको बारेमा जानकारी दिइएको परियोजनाका जिल्ला संयोजक रुद्र थेबेले बताए ।
तालिममा फाकफोक गाविसमा गठित गाविस स्तरीय बाल संरक्षण तथा संबद्र्दन उपसमिति र बालमैत्री स्थानीय शासन समितिका सदस्यहरुकोे सहभागिता रहेको थियो । तालिमलाई संस्थाका पारस राई र सुवास निरौलाले सहजिकरण गरेका थिए । यसै गरि सरक्षक शिक्षकका लागि महिला तथा बालबालिका कार्यालयकी लक्ष्मी कँडेल, जिल्ला शिक्षा कार्यालयकी सुनिता योङहाङ, मानव अधिकार मञ्च नेपाल इलामका उपाध्यक्ष बीरबहादुर खड्का, शिखरनाथ सापकोटा, योगराज सापकोटा, मनकुमार बराइली लगायतले सहजीकरण गरेका थिए । तालिममा विद्यालयमा रहेको बाल क्लबका बीस संरक्षक शिक्षकको सहभागीता रहेको थियो ।
मञ्चले झापा, इलाम, पाँचथर, ताप्लेजुङ, संखुवासभा, तेह्रथुम र धनकुटा जिल्लामा किन्डरमिसनरेक जर्मनको आर्थिक सहयोगमा बाल अधिकार तथा शान्ति शिक्षा कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार