खण्डहर बन्दै एक मात्र ऐतिहासिक लाप्चा गुम्बा

 

याम माबोहाङ लिम्बू

aइलाम, फिक्कलः सयौं वर्ष पुरानो भनिएको इलामको सूर्योदय नगरपालिका वडा नम्बर ६ फिक्कलमा रहेको ऐतिहासिक फेन्सोलिङ लाप्चा गुम्बा मर्मत हुन नसक्दा ढल्ने अवस्थामा पुगेको छ । पुरानो गुम्बालाई पटक पटकको भूकम्पले खण्डहर बनाउँदै लगेको हो । खण्डहरमा परिणत भएको लाप्चा समुदायको एक मात्र गुम्बा मर्मत नभए नेपालकै लोपोन्मुख लेप्चा जातिको सांस्कृतिक धार्मिक पहिचान संकटमा पर्ने खतरा बढ्दै गएको गुम्बा अध्यक्ष प्रेमबहादुर लाप्चाले बताए ।

गुम्बाको बाहिरी पर्खाल भत्किएको छ । पर्खालमा थप भार नपरोस र भवन नढलोस भनेर काठको टेको लगाइएको छ । झ्याल काम नलाग्ने गरी बाँङ्गिएको छ । चारैतिरको पर्खाल चिरा–चिरा परेका छन् । पर्खालका भित्ताभरी पूरानो थाङ्का चित्र लत्तपतिएका छन् । चर्किएको पर्खालमा हात छिराउन सकिने दुलैदुलो बनेको छ । सानो बस्ने सिकुवाबाट भित्र छिर्ने ढोका । ढोकाबाटभित्र छिर्न मनै नलाग्ने डरलाग्दो भत्किएला जस्तो भवन । मुस्किलले उज्यालो छिर्ने दुई वटा झ्याल र एउटा मात्र ढोका । भित्र छिर्दा विभिन्न धार्मिक पुस्तक झण्डै अलपत्र अवस्थामा । बुद्धका मूर्ति, छरिएका पूजा सामग्री । तीन दशकअघि दुई तले विशाल गुम्बा अहिले एक तलामा पुगेको छ ।

गुम्बालाई पटक पटकको भूकम्पले यस्तो बनाएको हो । यसअघि १९९०, २०४ सालको भूकम्पले चर्काएपछि एक तले बनाइएको गुम्बालाई २०६८ असोज १ र २०७२ सालको बैशाख १२ को भूकम्पले भवनलाई थिलथिलो बनाएको छ । पूर्ण रुपमा क्षतिग्रस्त गुम्बासँगै नेपालकै लोपोन्मुख लाप्चा जातिको एक मात्र ऐतिहासिक सँस्कृति सम्पदा समेत समाप्त हुने खतरा बढेको छ । खण्डहर भवन भग्नावशेषमा परिणत हुँदै गएको फेन्सोलिङ लाप्चा गुम्बाका अध्यक्ष लाप्चा बताउँछन् ।

पूर्णरुपमा क्षतिग्रस्त गुम्बामा दैनिक पूजाआजा गर्न समस्या छ । गुम्बामा रहेको पूराना माटोले बनेका बुद्धका ६ वटा मूर्ति, २ फिट लामो ८ इन्च चौडा भएको २८ वटा ऐतिहासिक बुद्ध शिक्षा (बुम सेट) अर्थात वेद ग्रन्थ पुस्तक, नयाँ २८ वटा किताब राख्ने ठाउँ नष्ट हुने अवस्थामा पुगेको समितिका अध्यक्ष लाप्चाले बताए । उनका अनुसार एउटा नगरा, ढ्याङ्ग्रो, २ वटा छादुङ्, ४ वटा ग्यालिन, एक सय ८ बत्ती सेट, झ्याम्टालगायतका करोडौंका सामग्री समेत गुम्बासँगै भग्नावशेष भएर जानेछन् ।

गुम्बा तत्कालै मर्मत नगरे लाप्चाको ऐतिहासिक सम्पत्ति अलपत्र हुने स्थानीय बताउँछन् । पूरानो लाप्चा संस्कृतिमा आधारित विभिन्न कलाकृति मासिनेछन् । लोपोन्मुख लाप्चा समुदायको पूजाआजा गर्ने ठाउँको नै अभाव हुनेछ । यसले लाप्चाको धर्म संस्कृति संकटमा पर्ने भएको छ । लाप्चाको इतिहास मेटिने पक्का छ ।’

लाप्चाका अनुसार यो क्षेत्रका समान समयमा बनेको अहिलेको करफोक क्याम्पस नजिकै रहेको गुम्बाको संरक्षण हुन नसक्दा मातलिङ्ग गुम्बाको अवशेष नै मासिएको छ । फेन्सोलिङ्ग गुम्बा पनि यहि  अवस्थामा पुग्ने खतरा बढेको छ ।

नेपालकै लोपोन्मुख लाप्चा जातिको पहिचानसँग जोडिएको ऐतिहासिक गुम्बाको अवस्था देखेर देशको सांस्कृतिक सम्पती भएको बताउँदै राज्यले संरक्षण गर्नुपर्ने सरोकारवालाको भनाई छ । पूर्ण रुपमा क्षतिग्रस्त गुम्बा भग्नावशेषमा परिणत भए माटो र ढुङ्गाले बनेको गुम्बाको पर्खालको भित्तामा पोतिएको बौद्ध कलाकृतिसँगै लाप्चा सँस्कृतिको इतिहास मेटिने पक्का भएको स्थानीय बीरबहादुर लाप्चाले बताए ।

पूरानै शैलीमा गुम्बा मर्मतमा लागेका प्रेम लाप्चाले मर्मत गर्ने आर्थिक स्रोतको खोजीमा रहेको बताउँदै उनले भने ‘स्रोतको अभावमा मर्मत गर्न सकेका छैनौं । अलपत्र परेको गुम्बा राज्यको सम्पति भए पनि राज्यले संरक्षणमा चासो नदेखाएपछि अलपत्र छोडेका छौं ।’

क्षतिग्रस्त गुम्बा मर्मतका लागि अहिलेकै ढेड करोड खर्च लाग्ने पुन निर्माण समितिले बताएको छ । गुम्बा समयमै मर्मत नभए नेपालकै लोपोन्मुख लेप्चा जातिको ऐतिहासिक पहिचान सहितको संस्कृतिक सम्पति समेत लोप हुने पक्का छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार