सवस्टेशन चार्ज नगरिँदा विद्युत खेर जाँदै

पाँचथर : फिदिमको थापाटारमा निर्माण गरिएको सवस्टेशन चार्ज नगरिँदा पाँचथर पावर कम्पनीद्वारा निर्माण गरिएको ‘हेवा ए’ जलविद्युत आयोजनाबाट उत्पादन गरिएको विद्युत खेर गइरहेको छ ।

सवस्टेशनको काम सकिएपनि चार्ज नगरेकै कारण आयोजनाबाट उत्पादन गरिएको आठ मेगावाट विद्युत् प्रयोगमा ल्याउन नसकिएको ‘हेवा ए’ जलविद्युत् आयोजनाका प्रमुख पुष्पज्योती ढुंगानाले बताए ।

‘हेवा ए बाट परिक्षण उत्पादन पनि सकिएको छ’ ढुंगानाले भन्नुभयो, ‘विद्युत् उत्पादन सुरु गरेर पनि सवस्टेशन चार्ज नगरिँदा विद्युत् जडान गर्न सकिएको छैन ।’ हेवा ए जलविद्युत् आयोजनाबाट कावेली कोरिडोरको फिदिमस्थित थापाटारमा निर्माण गरिएको सवस्टेशनसम्म विद्युत ल्याइएको छ । सवस्टेनको काम सकिए पनि चार्ज नगरिँदा हेवा ए बाट उत्पादन गरिएको विद्युत् खेर गएको हो ।

आयोजनाबाट १४ दशमलव ९ मेगावाट विद्युत् उत्पादन गर्ने भनिएपनि अहिले आठ मेगावाट मात्र विद्युत उत्पादन गर्न थालिएको छ । १ सय ३२ केभिए क्षमताको कावेली करिडोरको काम नसकिएकाले ३३ केभिए प्रशारण लाइनबाट सात मेगावाट बिजुली बिक्री गर्ने लक्ष्यका साथ आयोजनाले आठ मेगावाट विद्युत उत्पादन गर्न थालेको हो । तर, सवस्टेसन चार्ज नगरिँदा त्यो पनि बिक्री गर्न नसकिएको ढुंगानाको भनाई छ ।

१ सय ३२ केभिए विद्युत् प्रशासरण लाइनको काम सम्पन्न हुन् अझै केही समय लाग्ने भएपछि ३३ केभिए प्रशारण लाइबाट इलामको गोदक सबस्टेशनबाट मात्र १ सय ३२ केभिए प्रशारण लाइनमा जोड्ने योजनाका साथ हेवा ए बाट आठ मेगावाट विद्युत् उत्पादन गर्न थालिएको हो । तर फिदिमको थापाकारमा भएको सबस्टेशन नै चार्ज नगरिएकाले सात मेगावाट विद्युत् पनि जडान गर्न नसकिएको हो ।

आयोजनाबाट उत्पादन भइरहेको विद्युत् बिक्री गर्न नपाउँदा दैनिक १४ लाख ११ हजार रुपैयाँ घाटा हुने ढुंगाना बताउनुहुन्छ । ‘उत्पादन गरिएको विद्युत बिक्री गर्न नपाउँदा एक वर्षमा १५ करोड रुपैयाँ घाटा हुन्छ’ ढुंगानाले भन्नुभयो, ‘सात मेगावाट विद्युत् बिक्री गर्न नसक्दा यति हुन्छ, १४ दशमलव ९ मेगावाटकै हिसाब गर्ने हो भने घाटा झन ठूलो छ ।’

१ सय ३२ केभिए क्षमताको काबेली करिडोरको काम सम्पन्न नहुँदा आयोजनाले क्षमता अनुसारको विद्युत् उत्पादन नगरेको हो । ३३ केभिए क्षमताको प्रशारण लाइनबाट विद्युत् बिक्री गर्ने उद्देश्यले आठ मेगावाट विद्युत् उत्पादन गरेपनि सवस्टेशन चार्ज नगरिँदा आयोजनाले थप घाटा भोग्नु परेको हो ।

आयोजना निर्माणका लागि स्थानीय बासिन्दाको तीन करोड रुपैयाँ लगानी छ । त्यस्तै आयोजनामा कार्यरत कर्मचारीहरुको दुई करोड र बाँकी रकम सानिमा बैंकसहित अन्य ११ वटा बैंकले लगानी गरेका छन् । ७५ प्रतिशत बैंकको ऋण र २५ प्रतिशत स्थानीय बासिन्दा र अन्य लगानीकर्ताहरुले लगानी गरेका हुन् । ३५ प्रतिशत युबि इन्भेष्टमेन्ट कम्पनी लीमिटेडको, ३० प्रतिशत एक्सेस इन्भेष्टमेन्ट कम्पनी लीमिटेड काडमाडौको, २० प्रतिशत मेगा भेञ्चर प्रालीको र १५ प्रतिशत स्थानीय आगेजुङ विद्युत् कम्पनी लिमिटेडले लगानी गरेका हुन् ।

दुई अर्ब २४ करोड रुपैइाँको लागतमा काम सम्पन्न गर्ने लक्ष्यका साथ सुरु गरिएको आयोजनाको काम दुई अर्ब ५० करोड रुपैयाँको लागतमा मात्र सपन्न भएको हो । समयमै काम सम्पन्न गर्न नसक्दा ३६ करोड रुपैयाँ लागत बढेको हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार