‘इलाम सिटीमार्ट’ भवनको शिलान्यास

  सुजता सुनुवार
0 Shares

इलाम : सुविधा सम्पन्न आधुनिक व्यापारिक महल ‘इलाम सिटी मार्ट’ को इलाम सदरमुकाममा शुक्रबार शिलान्यास भएको छ । नौ करोड भन्दा बढीको लगानीमा जिल्लामै पहिलो पटक निर्माण हुन लागेको मार्टको इलाम नगरप्रमुख महेश बस्नेतले वैद्धिक विधिअनुसार पूजाआजा गरी शिलान्यास गरे ।

शिलान्यासका क्रममा नगरप्रमुख बस्नेतले इलाम नगरपालिकाले पहिलो पटक यस्तो अत्याधुनिक र सुविधा सम्पन्न भवन निर्माण गर्न नगरपालिका अग्रसर भएको बताए । देशभरका स्थानीय तहमा नै यो पहिलो भएको भन्दै उनले इलाममा प्रविधिको विकाससँगै फड्को मार्ने क्रममा यो सिटी मार्टको काम सुरू भएको बताए ।

नीजि साझेदारीमा शुरू गरिएको भवन समय भित्र सक्नुपर्ने जनाउँदै, नगरप्रमुख बस्नेतले समयमा रकम निकासा भएन भन्ने कुनै पनि वहाना यहाँ हुन नहुने भनी निर्माण व्यवसायीलाई सचेत समेत गराए । यो भवन निर्माणका लागि नगरपालिकाले ठूलो आँट लिएर काम थालेको बताईएको छ ।

यस्तै कार्यक्रममा इलाम उद्योग वाणिज्य संघका अध्यक्ष आनन्द कट्टेलले इलाम नगरपालिकाले बनाउन लागेको भवन जिल्लामा नमुना रहेको बताए । उनले व्यापार व्यवसाय साथै पर्यटकीय दृष्टिले समेत सिटी मार्ट महत्वपूर्ण रहेको जानकारी समेत गराए ।

कार्यक्रममा निर्माण व्यवसायीका तर्फबाट बिकोई भगवती जे.भी. इलामका राजकुमार भक्तराजले समयमा काम सकेर जिम्मेवारी पूरा गरेरै देखाउने प्रतिबद्धता जनाए । इलाम नगरपालिका र नेपाल सरकारको नौं करोड ३८ लाख ५६ हजार १६९ रूपैयाँको लागतमा व्यापारिक प्रयोजनका लागि गएको असार २४ गतेबाट भवन बनाउन थालिएको हो ।

भवनमा दुई वटा लिफ्ट सिस्टम रहने छन् । चार तलाको भवन आगामी २०७६ चैत्र ३० गते भित्र निर्माण सम्पन्न हुने जनाइएको छ ।

भवनमा ९२ वटा सटर, दुई वटा लिफ्ट र चौथो तलाको शिरानमा मासु पसल राखिने बताइएको छ । कार्यक्रम इलाम नगरपालिका वडा नम्बर ७ का कार्यवाहक वडाध्यक्ष केशव प्रसाद खत्रीको अध्यक्षतामा भएको हो । शिलान्यासमा इलाम नगरपालिकाका सम्पूर्ण वडाका जनप्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार