गुनासा, सुझाव र जिज्ञासा राख्ने अवसर : माङसेबुङ गाउँपालिकाको सार्वजनिक सुनुवाइ सोमबार हुँदै

  नयाँ बुलन्द
14 Shares

इलाम : सेवाग्राहीका गुनासा, सुझाव तथा जिज्ञासा प्रत्यक्ष रूपमा सुन्न माङसेबुङ गाउँपालिकाले सोमबार सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गर्ने भएको छ ।

गाउँपालिकाबाट प्रवाह हुने सेवा, विकास निर्माणका काम, प्रशासनिक कार्यप्रणाली तथा जनप्रतिनिधि र कर्मचारीको भूमिकाबारे नागरिकको प्रत्यक्ष धारणा संकलन गर्ने उद्देश्यले सार्वजनिक सुनुवाइ कार्यक्रम गर्न लागिएको हो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षहरू, कार्यपालिका सदस्य, विषयगत शाखा प्रमुख तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहने जनाइएको छ ।

सार्वजनिक सुनुवाइको पहिलो चरणमा चालु आर्थिक वर्ष २०८२/०८३ मा गाउँपालिकाबाट भएका विकास निर्माण, सेवा प्रवाह तथा सुशासन प्रवर्द्धनसम्बन्धी प्रगति विवरण प्रस्तुत गरिनेछ । साथै अघिल्लो सार्वजनिक सुनुवाइमा उठेका प्रश्न, गुनासा तथा सुझावको कार्यान्वयन अवस्थाबारे पनि जानकारी गराइनेछ । त्यस्तै तेस्रो पक्ष बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिको तर्फबाट तयार गरिएको नागरिक प्रतिवेदन र बहिर्गमन प्रतिवेदन प्रस्तुत हुनेछ ।

कार्यक्रमको दोस्रो चरणमा सेवाप्रदायक निकाय र सेवाग्राहीबीच प्रत्यक्ष सवालजवाफ हुनेछ । यस क्रममा स्थानीय बासिन्दाले विकास निर्माण, सेवा प्रवाह, सुशासन तथा अन्य सरोकारका विषयमा आफ्ना गुनासा, जिज्ञासा र सुझाव राख्न सक्नेछन् ।

कार्यक्रममा उठेका विषयहरूको समाधानका लागि आवश्यक पहल गरिने गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाले स्थानीय बासिन्दा, नागरिक समाज, राजनीतिक दल, महिला, दलित, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, युवा, पत्रकार तथा अन्य सरोकारवालालाई कार्यक्रममा उपस्थित भई आफ्ना धारणा राख्न आग्रह गरेको छ।

सार्वजनिक सुनुवाइ कार्यक्रमले स्थानीय सरकार र नागरिकबीचको दूरी घटाउने, सेवा प्रवाहलाई थप पारदर्शी र जवाफदेही बनाउने तथा जनताको विश्वास अभिवृद्धि गर्ने अपेक्षा गरिएको गाउँपालिकाले जनाएको छ ।

  

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार