इलामका एक नवविवाहित जोडीले विवाह खर्च बचाएर विद्यालयलाई गरे आर्थिक सहयोग

  युद्धबहादुर बोहोरा
525 Shares

 

इलामः विवाहमा हुने अनावश्यक खर्च बचाएर समाजोपयोगी कदम चाल्ने उदाहरणीय पहल स्थानीय समुदायमा प्रशंसनीय बनेको छ। समाजसेवी तथा युवा राजनीतिज्ञ अर्जुन योङ्हाङ (फाकफोकथुम–७) र मौसमी गुरुङ (सन्दकपुर–४, मावु) बीच गतहप्ता विहाह बन्धनमा बाँधिएका थिए  । उनीहरुले विवाहलाई सरल खर्चमा सम्पन्न गरी फाकफोकथु-७ दोकानडाँडास्थित जनकल्याण माध्यमिक विद्यालयमा २० हजार २८ रुपैयाँ विद्यार्थी सहुलियत कोषमा सहयोग गरेका छन्।

११ वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा रूपान्तरण गरेका जोडीले सादगीपूर्ण विवाह गर्दै विपन्न र जेहेन्दार विद्यार्थीहरूको पठनपाठनमा योगदान पुर्‍याएका छन्। विवाहको अवसरमा शुभकामना दिने सबै इष्टमित्र, आफन्त र साथीहरूप्रति उनीहरूले धन्यवाद व्यक्त गरेका छन्।

अर्जुन योङ्हाङ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हुन्। उनका नेतृत्वमा विद्यालयले विगत केही वर्षमा उल्लेखनीय प्रगति हासिल गरेको छ। उनले शैक्षिक सुधार, पुस्तकालय र प्रयोगशाला विकास, नयाँ भवन निर्माण, खेलमैदान व्यवस्थापन जस्ता महत्वपूर्ण कामहरू सम्पन्न गराएका छन्। नयाँ भवन उद्घाटनका अवसरमा शिक्षा प्रेमी विभिन्न व्यक्तित्वहरुलाई समेत सम्मान गरिएको थियो । अध्यक्षको सक्रिय योगदानमा विद्यालयले पाठ्यक्रम सुधार, छात्रवृत्ति र सहुलियत कार्यक्रम, विज्ञान तथा प्रविधि प्रयोगशाला स्थापना गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ।विद्यालयले विगतमा विज्ञसँग संवाद, “प्रविधि र पत्रकारिता सम्बन्धी शैक्षिक संवाद” र ‘विद्यार्थीसँग प्राध्यापक’ जस्ता कार्यक्रम सञ्चालन गरी विद्यार्थीको सृजनात्मक क्षमता, संचार-सीप र व्यावहारिक ज्ञानमा वृद्धि गरेको छ।

यस विद्यालयको इतिहास लामो छ। २०२३ सालमा स्व. उज्ज्वलसिंह योङहाङले पठन–पाठन प्रारम्भ गरेपछि २०२३ सालमा ‘जनकल्याण आदर्श प्राइमरी स्कुल’ दर्ता भएको थियो। २०४० सालमा कक्षा ५ सम्म, २०६४ सालमा माध्यमिक विद्यालयको रूपमा विकास भएको यस विद्यालयमा अहिलेसम्म ९ जना विव्यस अध्यक्ष र १० जना प्रधानाध्यापकले सेवा दिएका छन्। हाल विद्यालयमा १७ शिक्षक तथा स्टाफ कार्यरत छन् भने करिब १५० विद्यार्थी अध्ययनरत छन्।

विद्यालयले आगामी दिनमा खेलमैदान व्यवस्थापन, भवनको छतमा ट्रस जडान, शौचालय र क्यान्टिन निर्माण, सरस्वती मन्दिर स्थापना, घेराबारा र प्रवेशद्वार निर्माणलाई प्राथमिकतामा राखेको छ। समुदाय–विद्यालय साझेदारीलाई सुदृढ गर्दै पूर्व विद्यार्थीको सहयोगमा विद्यालयलाई सकारात्मक रूपान्तरणतर्फ लैजाने अभियान अघि बढाइरहेको छ। विवाह खर्च बचत गरेर शिक्षा क्षेत्रमा योगदान पुर्‍याउने नवविवाहित जोडीको कदम स्थानीय समुदायमा प्रेरणादायी बनेको छ। यसले युवा पुस्तालाई समाजसेवा, शिक्षा र सादगीपूर्ण जीवनशैलीतर्फ प्रेरित गर्ने विश्वास व्यक्त गरिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार