
इलाम : किरात समुदायको ऐतिहासिक तथा मौलिक पर्व कक्फेवा तङ्नाम २०८२ को अवसरमा फाकफोकथुम ७, एकतप्पा दोकानडाँडामा बृहत् सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ। माघ १ गते मनाइने पर्वलाई विशेष बनाउन आयोजकले सांगीतिक रमझम, सांस्कृतिक झाँकी र विविध प्रतियोगितात्मक कार्यक्रमहरू समावेश गरेका छन्।
कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति रहनेछ। च्याब्रुङ नाच, हुर्रा, मारुनी, लाखे, साकेला, भाले झिक्ने खेल लगायतका परम्परागत सांस्कृतिक प्रस्तुतिहरू देखाइने छन्। यस वर्षको विशेष आकर्षणका रूपमा चर्चित गायिका सम्झाना योङहाङको प्रस्तुति रहनेछ।
नृत्य प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो पुरस्कार क्रमशः रु. ५,१००, रु. ३,६०० र रु. २,६०० प्रदान गरिनेछ। कार्यक्रममा नयाँ बुलन्द मिडिया पार्टनर र डान्स पार्टनर युनिक डान्स सेन्टर रहेका छन्।
स्थानीयवासीका अनुसार दोकानडाँडा क्षेत्र ऐतिहासिक रूपमा मेला पर्वको केन्द्र रहिआएको हो। नजिकै निर्माण भएको माङ्हिम मन्दिर र अन्य धार्मिक तथा पर्यटकीय स्थलले यस स्थानको महत्त्व अझ बढाएको छ। यस क्षेत्रमा आवतजावत सहज भएकाले पश्चिमी इलाम र पाँचथर जिल्लाबाट समेत दर्शकहरू सहभागी हुने गरेका छन्।
कक्फेवा तङ्नाम प्रकृति, समयचक्र र जीवनदर्शनसँग जोडिएको ऐतिहासिक पर्व हो। ‘कक्फेवा’ शब्दको अर्थ चाँपको फूल फुल्ने समय हो भने ‘तङनाम’ पर्व वा विशेष दिन जनाउँछ। यसले प्रकृतिप्रति सम्मान, जीवनको पुनर्जागरण र सामुदायिक एकतालाई संकेत गर्दछ।
पर्वका अवसरमा वनजंगल सरसफाइ, वनस्पति सम्मान, सामूहिक भोजन र आफन्त मित्रसँग भेटघाट गरिन्छ। लिम्बू, याक्खा, सुनुवार, मगर लगायत प्रकृतिपूजक समुदायहरूले यस पर्वलाई आफ्नै सांस्कृतिक पहिचानको रूपमा मनाइरहेका छन्।
आयोजक समितिका अध्यक्ष पच बहादुर योङ्हाङका अनुसार, कक्फेवा तङ्नामले किरात सभ्यताको ऐतिहासिक गहिराइ, सांस्कृतिक सम्पन्नता र पहिचानलाई पुस्तौँदेखि जीवित राख्दै आएको छ।यहाँ हरेक वर्ष पर्व मनाउँदै आएको उनले बताए ।यस वर्ष पनि फाकफोकथुमको यो क्षेत्र सांस्कृतिक उत्सवको केन्द्र बन्ने विश्वास स्थानीयवासीहरूले व्यक्त गरेका छन्। देश तथा विदेशमा रहेका दाताहरुले विभिन्न पर्व मनाउन आर्थिक सहयोग गरिरहेका छन् भने स्थानीयको सकृयता नै यहाँको विशिष्ट पहिचान बनेको आयोजक समितिले जनाएको छ।



















































