
इलाम : बुधबार दिउँसो चिसो मौसममा न्यानो घाम लागिरहेको थियो। मेची राजमार्गको इलाम भञ्ज्याङ सामान्य दिनझैँ सवारीचापले व्यस्त बन्दै थियो। तर त्यो समय केही छुट्टै थियो राजमार्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय र यातायात व्यवस्था सेवा कार्यालय इलामको संयुक्त टोली खटिएको थियो । सामान्यजस्तो देखिने चेकिङभित्र पछिल्ला समयमा बढ्दो सवारी दुर्घटनालाई रोक्ने गम्भीर उद्देश्य लुकेको थियो ।
त्यही क्रममा सुर्योदय नगरपालिका–लक्ष्मीपुरका मनिश बस्नेत पनि आफ्नै मोटरसाइकलमा यात्रामा थिए। चेकपोस्ट नजिकिँदै जाँदा ट्राफिकले रोकिन संकेत गरे । नियमअनुसार कागजात पेश गर्न भनियो। बस्नेतले आत्मविश्वासका साथ लाइसेन्सदेखि ब्लुबुक र बीमासम्म सबै कागजात देखए। सबै कागजात अद्यावधिक रहेकाले उनले सहजै अघि बढ्न अनुमति पाए र बस्नेतले भने,“यस्ता संयुक्त चेकिङ नियमित हुनुपर्छ, यसले नियम पालना गर्ने चालकलाई हौसला दिन्छ भने लापरवाहि गर्ने चालकलाई सचेत बनाउँछ।”

इलाम–झापा जोड्न लाईफलाईनको रुपमा रहेको मेची राजमार्गको कयौं संवेदनशील क्षेत्रमा पछिल्ला समयमा सवारी दुर्घटना बढ्दै गएको छ । यहीकारण पनि संयुक्त चेकिङलाई अझ प्रभावकारी रूपमा अघि सारिएको हो।
बुधबारको चेकिङमा मात्र एक दर्जनभन्दा बढी सवारी साधन कारबाहीमा परे । कारबाही पर्नेमा कागजात नवीकरण नभएका, प्रदूषण जाँच नगरेका, ओभरलोड, हेल्मेट नलगाएका, सिटबेल्ट नबाँधिएका, सिग्नल वा सिसा बिग्रिएका,नबर प्लेट नभएका यस्ता त्रुटिहरू धेरै देखिए।

यातायात व्यवस्था सेवा कार्यालय इलामका प्रमुख खगेन्द्र प्रसाद मैनाली भन्छन,“यो चेकिङ कागजात मात्र होइन, चालकको व्यवहारदेखि सवारीको भौतिक अवस्था र प्रदूषणसम्म समेटिएको बहुआयामिक अनुगमन हो । दुर्घटना कमीका लागि यस्ता चेकजाँच अपरिहार्य छन्।”
यस्तै यातायात कार्यालयका सूचना अधिकारी सुबर्ण खड्काका अनुसार लापरबाही गरेर सवारी चलाएको भेटिएको सवारीलाई कारबाहीसँगै चालकलाई नियम र जोखिमबारे तत्काल जानकारी तथा मार्गदर्शन पनि दिइयो। उनले भने यो अनुगमनको दण्ड मात्र होइन, सचेतना नै मुख्य लक्ष्य हो ।
चेकिङका क्रममा प्रहरीले चालकहरूको व्यवहारलाई गम्भीरताका साथ मूल्यांकन गरेको थियो। धेरैले आधारभूत ट्राफिक नियम नै नबुझेको, कतिपयले बुझेर पनि त्यही लापरवाही दोहोर्याएको अवस्था भेटिएको
जिल्ला ट्राफिक प्रहरीका प्रमुख लिलानाथ न्यौपानेको भनाई छ । न्यौपानेले भने,“अनुशासनबिना सवारी चलाउँदा दुर्घटनाको जोखिम बढ्छ। चेकिङले चालकलाई जिम्मेवार बनाउने काम गर्छ।”
यस्तै यातायात कार्यालयका इञ्जिनियर सुरज केशीका अनुसार सडकमा मर्यादित व्यवहार र सभ्य बानीसँगै सुरक्षित यात्रा सम्भवहुन सवारीसाधन समेत चुस्त हुनुपर्ने बताए ।
इलामका ग्रामीण सडक, राजमार्ग र बजार क्षेत्रमा विगत केही वर्षमा सवारी चाप उल्लेख्य रूपमा बढेको छ।
अनियमित पार्किङ, ट्राफिक व्यवस्थापनको चुनौती, समय अभाव र चालकको मनोवृत्ति यी सबै मिलेर जोखिम थपिएको छ।
ट्राफिक प्रमुख न्यौपाने भने,“सवारी चाप बढ्दै जाँदा नियम पालना नहुने प्रवृत्ति झनै खतरनाक बन्छ। त्यसैले अनुगमनलाई निरन्तर र दिगो बनाउने तयारीमा छौँ।”
सडक सुरक्षा केवल कानुनी दायित्व मात्र होइन, सामाजिक व्यवहारसँग पनि जोडिएको विषय हो।
परिवार, समाज, समयको दबाब, प्रतिस्पर्धा—यी सबैले चालकको निर्णयमा प्रभाव पार्छन्। त्यसैले चेकिङ ‘दण्ड’ भन्दा ‘अनुशासन र चेतना’ बढाउने माध्यमको रुपमा सबैले हेरिनु आवश्यक देखिन्छ । सवारी अनुगमनले चालकलाई जिम्मेवारी सम्झाउँछ भने यात्रुलाई सुरक्षाको अनुभूति दिन्छ र दुर्घटना न्यूनीकरणमा सहयोग गर्नुको साथै नियम पालनको संस्कार विकास पनि गर्छ ।
इलाममा समय समयमा हुने संयुक्त चेकिङ केवल एक दिनको अभियान मत्र नभइ सुरक्षित सडक, अनुशासित चालक र जिम्मेवार समाज निर्माण गर्ने दीर्घकालीन प्रक्रियाको प्रारम्भ रहेको बताईएको छ ।
सवारी चाप बढ्दै जाँदा चुनौती बढ्छ, तर नियम पालन र नियमित चेकिङले ती चुनौतीलाई पराजित गर्न सक्छ।

























































