
पाँचथरः फाल्गुनन्द ३ चिम्फुलामा किरात राई यायोक्खाको आयोजनामा दोस्रो उधौली साकेला कप पुरुष फुटबल प्रतियोगिता मंसिर १४ देखि १८ गतेसम्म हुने भएको छ। उधौली पर्वको अवसरमा आयोजना हुने प्रतियोगिताबाट खेल विकास र समुदायबीच आपसी सम्बन्ध मजबुत बनाउने उद्देश्य राखिएको आयोजक समितिले जनाएको छ।
१६ टिम सहभागितामा सञ्चालन हुने प्रतियोगिताका लागि दर्ता मंसिर १३ गते दिउँसो १ बजेसम्म खुला रहनेछ । दर्ता शुल्क तीन हजार र धरौटी एक हजार रुपैया तोकिएको आयोजकले जानकारी दिए । सोही दिन बेलुका ५ बजे खेल तालिका सार्वजनिक गरिने जनाइएको छ । प्रतियोगितामा विजेता टोलीलाई ४० हजार ४४० नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेतालाई २० हजार २२० नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षकलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ।
प्रचलित फुटबल नियमअनुसार सञ्चालन हुने खेलमा प्रत्येक टिममा ६ अतिरिक्तसहित ८ खेलाडी अनिवार्य रहनेछन्। खेलका क्रममा हुने विवादमा रेफ्री तथा आयोजकको निर्णय अन्तिम मानिनेछ। खेलाडीले खान–बस्ने व्यवस्था स्वयं गर्नु पर्ने र मदिरा सेवन गरी मैदान प्रवेश गर्न नपाइने जानकारी आयोजकले दिएको छ ।प्रतियोगिताबारे थप जानकारीका लागि खेल संयोजक राजेश राई (९८६२९०७८३९) र सह–संयोजक विधान राई (९८४२८५२८६४) सम्पर्क व्यक्ति तोकिएका छन्।



















































