
इलामः फाकफोकथुमको दोकानडाँडामा परम्परागत रूपमा लाग्दै आएको दुतिया बजार बृहत् सांस्कृतिक कार्यक्रम यस वर्ष पनि भव्य रूपमा सम्पन्न भएको छ।
भाइटीकाको अवसरमा ७ नम्बर वडास्थित दोकानडाँडामा हरेक वर्ष आयोजित हुने मेला यो साल झन उत्सहका साथ समापन गरिएको हो । उक्त कार्यक्रममा स्थानीय र राष्ट्रिय कलाकारको बेजोड आकर्षक प्रस्तुति रहेको थियो ।

दुतिया बजारको सांगीतिक र सांस्कृतिक कार्यक्रमले बजारमा छुट्टै रौनक थपेको थियो।

कार्यक्रममा लोकप्रिय गायक तथा संगीतकार पुष्प राई, दिनेश योङ्हाङ, चर्चित गायिका भगवती खाती, नृत्य निर्देशक रोमित कर्माचार्य र रोसित कर्माचार्य, साथै प्रनिशा श्रेष्ठको दमदार प्रस्तुति रहेका थिए।

कार्यक्रमको प्रमुख अतिथि पालिकाका अध्यक्ष दिपेन्द्र खनालसहित जनप्रतिनिधिहरुको उपस्थितिमा सौहार्दपूर्ण वातावरणमा सम्पन्न कार्यक्रममा माङ्सेबुङ आइडल दिनेश योङ्हाङलाई सम्मानसमेत गरिएको समितिका सचिव प्रकाश परियारले जानकारी दिए ।


त्यस्तै, स्थानीय प्रतिभाहरूको सहभागितामा नृत्य र गायन प्रतियोगिता पनि आयोजना गरिएको थियो। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विजेताहरूलाई आकर्षक पुरस्कार र सम्मानपत्र प्रदान गरिएको आयोजक समितिले जनाएको छ।

कार्यक्रमलाई सभ्य, भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्न स्थानीय राजनीतिक दलका प्रतिनिधि, विभिन्न संघ–संस्थाका पदाधिकारी, सुरक्षाकर्मी, पत्रकार, कलाकार, युवा तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति थियो।
यस मेलामा पर्वसँगै एकता, संस्कृतिको संरक्षण र सहयोगी मनको उत्सवको रुपमा पनि हेरिएको छ । यस वर्षको दुतिया बजारलाई सफल बनाउन फाकफोकथुम–७ वडा कार्यालय, देश–विदेशमा रहेका सहयोगी समुदायका सदस्यहरू, स्थानीय दाताहरू र स्वयंसेवकहरूको सक्रिय योगदान रहेको आयोजक समितिका अध्यक्ष पञ्चबहादुर योङ्हाङले जानकारी दिए।

आयोजक समितिले कार्यक्रममा भएका साना कमजोरीहरू सुधार गर्दै आगामी वर्षहरूमा अझ सशक्त र सांस्कृतिक रूपमा समृद्ध कार्यक्रम ल्याउने प्रतिबद्धता जनाएको छ।
‘दिपावलीको खुशीसँगै भाइबहिनीको आत्मीयता, संगीत र संस्कृतिको रौनकसँगै मनाऔं’ भाइटिकाको दिन दोकानडाँडामा भेटौं,” भन्ने आयोजक समितिको सन्देश अनुसार बच्चादेखि बुढापाकासम्म दर्शकको घुँइचो लागेको थियो ।




















































