
काठमाडौं ट्ठ आज विविध कार्यक्रम आयोजना गरेर संविधान दिवस मनाइँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आज बिहान ८ः ३० बजे सैनिक मञ्च, टुँडिखेलमा दिवसको मूल कार्यक्रम आयोजना तय भएको छ ।
समारोहलाई प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्नेछन् । अहिलेको विशेष राजनीतिक परिस्थितिमा दिवसका अवसरमा झाँकी, परेडलगायत कार्यक्रम भने स्थगन भएका छन् ।
नेपाली जनताको लामो बलिदानीपूर्ण र लामो सङ्घर्षको उपलब्धिस्वरुप संविधानसभाबाट नेपालको संविधान २०७२ असोज ३ गते घोषणा भएको थियो । मुलुकमा भएको दोस्रो संविधानसभाको निर्वाचनपछि गठित संविधानसभाले अथक मेहेनत र लामो विवादपछि ‘नेपालको संविधान, २०७२’ जारी गरेको थियो ।
विसं २०७२ असोज ३ गते राति नयाँ बानेश्वरस्थित तत्कालीन संविधानसभा बैठकस्थल अन्तरराष्ट्रिय सम्मेलन केन्द्रबाट तत्कालीन राष्ट्रपति डा रामवरण यादवले यो संविधानलाई जारी भएको घोषणा गरेका थिए ।



















































