३१औँ विश्व आदिवासी दिवसमा याक्थुङ मुन्धुम विमर्श कार्यक्रम सम्पन्न

  युद्धबहादुर बोहोरा
483 Shares

 


पाँचथर
: ३१ औँ विश्व आदिवासी दिवसको अवसरमा काठमाडौंको अनामनगरस्थित युनियन हाउसमा याक्थुङ मुन्धुम विमर्श विषयक एक विशेष प्राज्ञिक कार्यक्रम सम्पन्न भएको छ। ईस्ट ब्लक सेन्टर (East) काठमाडौँको आयोजनामा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता संयोजक नवीन वनेमले गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि रूपमा उपस्थित ‘तेस्रो दर्शन’ का निर्माता तथा कवि–लेखक धर्मेन्द्र नेम्बाङले अबको युगमा मुन्धुमी दर्शनमा आधारित ज्ञान सिद्धान्त विकास गर्दै राज्य संरचनामा प्रभावकारी हस्तक्षेप गर्नुपर्ने विचार व्यक्त गरे । उनले मुन्धुम अब भावनात्मक या परम्परागत सीमाभित्र मात्र सीमित नरही नीति निर्माण र वैचारिक बहसको केन्द्रमा आउनु आवश्यक रहेको धारणा राखे ।

कार्यक्रममा ११ जना प्राज्ञिक व्यक्तित्व तथा शोधार्थीहरूले विविध शिर्षकमा कार्यपत्र प्रस्तुत गरेका थिए। प्रस्तुतकर्ता मध्ये प्रा. अमर तुम्याङ, डी. बि. आङबुङ, डा. युवराज लिम्बू, डा. क्षितिज लिम्बू सावाँ, यासेली योङहाङ, रमेश लिङ्देन, कवि विमल तुम्खेवा, सुर्य माखिम, दिल विक्रम आङदेम्बे, के.वि. साम्यु, थेवा माङ तथा मूकुम नेम्बाङ प्रमुख थिए।

विमर्श कार्यक्रममा सहभागीहरूले विषयमा खुलेर धारणा राखेका थिए। सहभागी शोभा श्रेष्ठ नेम्बाङ (प्रदेश सदस्य, नेपाली कांग्रेस कोशी) ले आफ्ना सन्तानलाई मुन्धुमबारे सिकाउन आवश्यक देखिए पनि स्रोत र सिकाइको माध्यमको अभाव रहेको बताइन् । विद्यार्थी ईक्षा चेम्जोङले मुन्धुमबारे जान्ने तीव्र इच्छा भए तापनि बुझ्न अवसर नपाएको गुनासो गरिन् ।

उक्त विमर्शका विषयवस्तुहरूलाई उप प्राध्यापक दीपक लुङ्गेली मगर र लिला चेम्जोङले सक्षेपिकरण गरेर प्रस्तुत गरेका थिए। कार्यक्रमको स्वागत मन्तव्य भेषराज चेम्जोङले राखेका थिए भने, विषय प्रवेश तथा कार्यक्रम सन्दर्भ नवीन वनेमले प्रस्तुत गरेको कार्यक्रम संचालन तथा प्रस्तुति मूकुम नेम्बाङले गरे । कार्यक्रममा पहिचानवादी मोर्चाका अध्यक्ष डा. महेन्द्र लावतीको विशेष उपस्थिति पनि रहेको थियो।

यो विमर्श कार्यक्रमले याक्थुङ मुन्धुम र त्यसको दर्शनलाई शैक्षिक, वैचारिक तथा नीतिगत स्तरमा विस्तार गर्ने खाँचो देखाउँदै प्राज्ञिक बहसको थालनी गरेको सहभागीहरूको निष्कर्ष रहेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार