आर्थिक क्रान्ति गर्दै ओख्रेलीहरु

  लोकेन थेवे
931 Shares

माईजोगमाई : प्याङ इलामको माईजोगमाई गाउँपालिकाको वडा ६ प्याङको ओख्रेका युवाहरुले पशुपालनबाटै आर्थिक क्रान्ति गरेका छन् ।

साबिक प्याङ १ नम्बर वडामा पर्ने ओख्रेमा ३५ घरधुरी छन् । थेबे लिम्बू र मगर बस्ती रहेको यो क्षेत्रमा १५ वर्ष पहिले पुरानो अलैंची सबै रोगले सोत्तर भएपछि दैनिक घर व्यवहार चलाउन मुस्किल पर्न थालेकोले ओख्रेका राजेन थेबे, केशव लुङेली, आईन्द्र थेबे र धर्म थेबे रोजगारीको सिलसिलामा बिदेशीनु पर्यो ।

विदेशको बसाईमा सोचे जस्तो पैसा कमाउन नसकेपछि स्वदेश फर्केका आइन्द्र थेबे र केशव लुङेलीले सानो डेरि खोलेर दूध पेल्न थाले । सुरुमा कम दूध भएपनि आफ्नो पेसालाई निरन्तर दिइरहे । २ वर्ष पुग्दा सबै ठाउँबाट दूध संकलन हुन थाल्यो अहिले दुई डेरीमा दैनिक १४ सय भन्दामाथि दुध संकलन भईरहेको छ ।

विदेशबाट फर्केर गाउँमा पहिलो पटक क्रिम अनुसारको दूधको रकम दिन थालेकोले पशुपालक किसानहरुले पनि दूधको उचित मुल्य पाएको महसुस गर्न थाले । त्यसैले दुधालु गाई, भैंसी पाल्न थाले । गाई भन्दा भैंसीको दूधबाट धेरै क्रिम झर्ने भएकोले अहिले ओख्रेको प्रत्येक घरमा २ देखि ४ माउ भैंसी पालेका छन् ।

दैनिक राम्रोसँ घाँस खोले मिल्यो भने एक माउ भैसीको दुधको मासिक १५ हजारसम्म कमाउन सकिने ओख्रेका प्रकाश थेबे बताउँछ्न् । भैंसीको दूधबाट राम्रो आम्दानी हुँदै जान थालेकोले थेबेले एक महिना अगाडी १ लाख १० हजारमा १ माउ दुहुनो भैंसी ल्याएर २ माउ बनाएका छन् ।

एक छटाङ क्रिमको ६० रुपँया छ । भैंसीको १ लिटर दूधको क्रिम ७५ रुपैयाँदेखि ८० रुपैयाँसम्म झर्ने गरेको डेरि संचालक केशव लुङेली बताउँछन् । यो भेगका किसानहरुले दूधबाटै राम्रो आम्दानी लिन थालेकोले आवश्यक पर्दा पहिलेको जस्तो साहुको महँगो ब्याजमा पैसा खोज्ने दिन हराएको छ । अहिले वर्ष दिनको घर खर्च टारेर पनि राम्रै बचत गर्ने वानिको विकास भएको छ ।

केही वर्ष अगाडिदेखि पुरानो मासिएको अलैंची बगान र सब्जी खेती गर्ने ठाउँ नराखी पुन भर्लाङ जातको अलैंची लगाएर राम्रो उत्पादन लिन थालेका छन् । प्रत्येक घरमा कम्तिमा ५ देखि १८ मनसम्म अलैंची हुने ओख्रेका धर्म थेबे बताउँछन् ।

समुद्र सतहको १२ सयदेखि १४ सय हाराहारीमा बसोबास रहेको ओख्रेमा धर्म थेबेको भनाईलाई आधार मान्ने हो भने कुनै समय छाक टार्न धौ धौ परेकोले आफू ७ वर्ष विदेश बसेको बताउँछन् ।

अहिले क्रिममा तनमनले लागेकोले यो ठाउँ अहिले प्याङकै सम्पन्न, मेहनती र राम्रो ठाउँको रुपमा चिनिन्न थालेको छ । यो वर्ष सबैतिर अलैंची मासिएपनि ओख्रेमा मासिएको छैन । त्यसैले अलैंचीको भाउपनि आएकोले यहाँका किसानहरु खुशी नहुने कुरै भएन । हामी पनि ओख्रेलीहरुको सिको गरे पक्कै आर्थिक रुपमा सम्पन हुँदै जानेमा दुई मत छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार