
पाँचथर : जिल्ला विपत् व्यवस्थापन समिति पाँचथरले प्राकृतिक विपत्तिको लागि आवश्यक पूर्व तयारी गरेको छ ।
वर्षायाम शुरु भएकाले हुनसक्ने प्राकृतिक विपत्तिमा उद्वार तथा राहतका लागि सबै किसिमको तयारी अवस्थामा रहेको जिल्ला विपत् व्यवस्थापन समितिले जनाएको छ । सम्भावित जोखिमका क्षेत्रको आँकलन गर्ने तथा जनशक्ति परिचालको बारे तयारी गरिएको समितिका संयोजक प्रमुख जिल्ला अधिकारी पुन्य प्रसाद ढकालले जानकारी दिए ।
शुक्रवार बसेको समितिको बैठकले यस वर्षको मनसुन शुरूवात भईरहेको अवस्थामा अत्यन्तै सचेत रहन,विपत्तका लागि पूर्व तयारी ,नागरिकलाई अग्रिम सूचना प्रणालीको व्यवस्था तथा तत्काल उद्वारका लागि सबै क्षेत्रलाई तयारीमा रहन सम्बन्धित सबै निकाय परिचाल हुने गरी टेवलटक एक्सर्साइज गरिएको छ । जोखिमका विषयमा समितिले प्रत्येक स्थानीय तह साथै जिम्मेवारी पक्षलाई घटनाको बारेमा तत्काल जानकारी दिन निर्देशन दिएको छ ।
यसैबीच,नेपाली सेनाको रणशेरगुल्मले सम्भावित विपत्तको जोखिम,उद्वारको तयारी र सामाग्री लगायतका विषय समेटर प्रयोगात्मक प्रस्तुती प्रदर्शन गरेको छ ।
उक्त बैठकमा विपत् व्यवस्थापन समिति र नेपाल रेडक्रस सोसाइटी पाँचथरले जिल्लाका सबै स्थानीय तहका ६० वटा वडा मध्ये २२ वटा वडाहरु बाढीपहिरोको जोखिममा रहेको पहिचान गर्दै विपत् व्यवस्थापन समितिले यस स्थानहरुमा पूर्वतयारी गर्नुपर्ने निष्कर्श निकालेको छ ।
जोखिम मानिएका क्षेत्रहरु जिल्लाका माथिल्लो भाग अन्तर्गत विगत वर्षदेखिनै पहिरोको चपेटामा परेको फालेलुङ गाउँपालिका १ नम्बर वडाको खुंगा,२ नम्बरको एक्तिन,३ नम्बरको मेमेङ, ७ र ८ नम्बरको औंसी भञ्ज्याङ् रहेका छन् ।
हिलिहाङ गाउँपालिकाको १ नम्बरको फेदेपा र ६ नम्बरको तेनुपा साथै याङ्वरक गाउँपालिकाको १ नम्बरको च्याङ्थापु, २ नम्बरको फलैचा,३ नम्बर वडालाई पनि जोखिममा रहेको बताइएको छ ।
त्यस्तै,जिल्लाको दक्षिणी क्षेत्र मिक्लाजुङ गाँउपालिकाको १ नम्बर वडाको साराङडाडा र ७ नम्बरको दुर्दिम्बा जोखिममा रहेको जनाइएको छ । फाल्गुनन्द गाउँपालिकाको २ नम्बर वडाको इम्बुङ,३ नम्बरको पौवासारताप,६ नम्बरको आङ्साराङ समेत जोखिममा रहेका छन् ।
फिदिम नगरपालिकाको १३ नम्बर वडा र १४ नम्बरको लुङ्रुप्पा,८ नम्बरको रानीटार ,५ नम्बरको चोकमागु ,१० नम्बरको याङ्नाम र ११ नम्बरको नाङ्गिन जोखिममा रहेको नेपाल रेडक्रस सोसाइटी पाँचथरका संयोजक गुरुराज तिम्सिनाले बताए ।
उनका अनुसार कुम्मायक गाउँपालिका र तुम्वेवा गाउँपालिकामा भने बाढीपहिरो जाने जोखिम न्यून रहेको छ । उक्त गाउँपालिका सुख्खा क्षेत्र रहेकोले आगलागीका घटना भने निक्कै सम्भावना रहेको जनाइएको छ ।
मेची राजमार्ग अन्तर्गत फाल्गुनन्द ३ स्थित गुम्बाडाँडा नजिकैको पाङ्ग्रेभीर पनि अति जोखिमको क्षेत्र बनेको बताइएको छ ।



















































