बजेट संशोधन पारित गर्दै फाकफोकथुम गाउँपालिकाको १९औँ गाउँसभाको अधिवेशन सम्पन्न

  युद्धबहादुर बोहोरा
63 Shares

इलामः फाकफोकथुम गाउँपालिकामा आइतबार १९औँ गाउँसभाको अधिवेशन सम्पन्न भएको छ। अध्यक्ष दीपेन्द्र खनालको सभाध्यक्षमा भएको यस अधिवेशनमा गाउँपालिकाका विभिन्न समितिहरूले प्रतिवेदन प्रस्तुत गरे। अधिवेशनमा आर्थिक विकास समिति संयोजक याम बहादुर खत्री पौडेल, सामाजिक विकास समिति संयोजक सिद्धमान आले (सुदिप), पूर्वाधार विकास एवं अनुगमन समिति संयोजक कविता राई र  राजश्व परामर्श समिति संयोजक उपाध्यक्ष कल्पना राईले आफ्नो वार्षिक प्रतिवेदन पेश गरिन्। उपाध्यक्ष राईले चालु आर्थिक वर्ष २०८२/८३ को बजेट तथा कार्यक्रम संशोधन प्रस्ताव पेश गर्दै संशोधित बजेट अनुमोदन गराइन्।

गत असोज १८ र १९ गते परेको विनासकारी झरी र पहिरोले गाउँपालिकामा ठूलो क्षति पुर्‍याएको थियो । झरी र पहिरोका कारण करिब सबै सडक अवरुद्ध भएका थिए । ४० भन्दा बढी घर आंशिकदेखि पूर्ण क्षतिग्रस्त भए। कृषि क्षेत्रमा समेत ठूलो असर पर्यो। १३७ जना कृषकको २३० रोपनीमा लगाइएको धान, चिया, अलैंची, कोदो, किवी लगायतका बाली नष्ट भएको थियो । जनावर र माछापोखरी पनि प्रभावित भए। पहिरोका कारण चार गाई मरे, तीन जना घाइते भए, तीन भैसी र दुई बङ्गुर मरे। छ वटा माछापोखरीमा करिब ९ सय केजी माछाका भूरा नष्ट भएका थिए । यस विनाशकारी घटनामा एक जनाको दुखद निधन भएको थियो भने पालिकामा करिब ३३ करोड रुपैयाँ बराबरको क्षति भएको थियो।

यस अवस्थाबाट प्रभावित परिवारलाई राहत उपलब्ध गराउन र पूर्वाधार पुनर्निर्माण सुनिश्चित गर्न गाउँपालिकाले चालु आव २०८२/८३ को बजेट तथा कार्यक्रम संशोधन गर्ने निर्णय गर्यो। संविधानको धारा १२५ अनुसार विनियोजित रकमलाई एक शीर्षकबाट अर्को शीर्षकमा रकमान्तर गर्ने व्यवस्था अनुसार पुराना योजनाहरूको शीर्षक संशोधन, केही कार्यक्रमको कटौती र नयाँ आवश्यकताअनुसार खर्च पुनःनिर्धारण गरी बजेट संशोधन गरियो।अधिवेशनले विभिन्न वडाबाट उठाइएका समस्या र सुझावहरू पनि संकलन गरेको छ। अध्यक्ष खनालले संघ र प्रदेशस्तरीय योजना पालिकाको मातहतमा अनुगमन नहुँदा गुणस्तर कमजोर भएको र स्थानीय तहले कार्यान्वयनमा कठिनाइ भोगिरहेको बताए।प्रतिनिधिहरूले स्थानीय तहले योजना कार्यान्वयन गर्न नसक्दा नागरिकबाट आएको गुनासो पनि उठाए। यसमा विद्युत आपूर्ति समस्या, सडक र पूर्वाधार अवरुद्ध, सेवामा ढिलाइ र अन्य असुविधाहरू समावेश थिए।अध्यक्ष खनालले यी गुनासो सुनेको र आवश्यक सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे।

अध्यक्ष खनालले अधिवेशनको समापनमा सहभागीहरूलाई वचन दिए कि गाउँपालिका अन्तर्गत सबै वडाबाट आएका सुझाव र समस्या उचित तरिकाले सम्बोधन, कार्यान्वयन र पहल गरिनेछ। साथै, प्रभावित क्षेत्रका परिवारको राहत, कृषि र पशुपालन पुनःस्थापना, पूर्वाधार सुधार र योजना कार्यान्वयनमा प्राथमिकता दिइने जानकारी दिइयो। पालिका प्रमुख प्रशासनिक अधिकृत निर्मल तुम्रोकले जानकारी जानकारी दिए अनुसार संशोधित बजेट गाउँसभाले पारित गरेको छ। यसले प्रभावित परिवारको राहत र स्थानीय विकास कार्यहरूलाई प्रभावकारी रूपमा अगाडि बढाउने उद्देश्य राखेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार