
इलाम : इलाममा दशैंको चहलपहल सुरु भइसकेको छ । बारीको काल्नामा ढकमक्क सायपत्री फूल फुल्न थालेका छन्, अनि घर-आँगन सफा सुग्घर देखिन थालेका छन् । वर्षभर गाउँ छाडेर रोजगारीको खोजीमा सहर वा विदेश पुगेका युवाहरु चाडपर्वमा गाउँ फर्किन थालेका छन् ।
उनीहरुका पाइला माटोले सजिएको आँगनमा र रमाइलोको रन्को बोकेर आमाबुबा, आफन्त र साथीभाइसँग भेटघाटको लागि आएका हुन् । यसरी गाउँ फर्कने लहरसँगै इलामका हाटबजार, सडक र चोकहरूमा चहलपहल उल्लेखनीय रूपमा बढेको छ । तर, समयक्रमसँगै दशैंको स्वरूप पनि परिवर्तन हुँदै गएको छ । केहि दिन अघि जेनजी आन्दोलनका कारण असान्त बनेको इलाम पछिल्ला केही दिनदेखि जनजिवन सामान्य बन्दै गएको छ । इलामको गोलाखर्कका राम बहादुर अधिकारी भन्छन्, “पहिला कमेरो माटोले घर लिपपोत गरिन्थ्यो, अहिले बजारबाट ल्याइने रङ र सजावटका सामग्रीहरूले त्यो ठाउँ सजिएको छ।” उनकाअनुसार परम्परागत लिङ्गे पिङ पनि पहिले जस्तो हरेक टोलमा देखिन छाडेको छ । बालबालिकाको रमाइलोको केन्द्र बन्ने पिङ अहिले बिरलै मात्र देखिन्छ ।
दशैंको परम्परागत स्वरूप हराउँदै गएकोप्रति धेरैले चिन्ता व्यक्त गरिरहेका छन् । जहाँ एकातिर घरघरमा रेडियो र टिभीमा बज्ने मालश्री धुनले पर्वको महत्त्व झल्काउँछ, अर्कोतर्फ दशैंको सांस्कृतिक मौलिकता आधुनिक जीवनशैलीमा बिलीन हुन थालेको अनुभूति हुन्छ ।
देश बाहिर रहेका नेपालीहरुका लागि दशैं अझ भावुक पर्व बनेको छ । विभिन्न मुलुकमा रोजगारी गरिरहेका युवाहरु वर्षको यही समयलाई अप्ठ्यारो पारेर भए पनि घर फर्कने प्रयासमा देखिन्छन् । कतिपयका लागि यो दशैं वर्षौंपछि परिवारसँग मनाउने अवसर हो । दशैंको यो विशेष समयमा बाल्यकालका रमाइला क्षणहरु, नयाँ लुगा, खेलौना र घरमा आउने पाहुनाको सम्झनाले उनीहरूलाई झनै भावुक बनाउँछ ।
यता चाडपर्वको भीड व्यवस्थापन गर्न इलाममा ट्राफिक ब्यवस्थापनलाई कडाइ गरिएको छ । इलामका ट्राफिक प्रमुख लिला नाथ न्यौपानेका अनुसार यात्रुहरुको सुरक्षाका लागि सवारी चेकजाँच कडा पारिएको छ । यात्रुलाई सहज र सुरक्षित यात्रा सुनिश्चित गर्न स्थानीय प्रशासन पनि सचेत बनेको छ ।
आजको पुस्ताले दशैंलाई नयाँ तरिकाले आत्मसात गर्न थालेका छन् । आधुनिक प्रविधि, सामाजिक सञ्जाल र बदलिँदो जीवनशैलीका कारण परम्परागत पर्वहरुमा पनि नवीन शैलीको प्रभाव परेको देखिन्छ । लवाई-खवाईदेखि सजावटसम्म, धेरै कुरा अब बजारमुखी भएका छन् । तर, यति हुँदा हुँदै पनि दशैं नेपाली समुदायका लागि परिवारसँगको पुनर्मिलन, आस्था र संस्कृतिको प्रतीक पर्व हो । समय परिवर्तन भए पनि यसको भावनात्मक र सांस्कृतिक महत्त्व अझै यथावत् छ ।



















































