
त्यसो त धरान सरहका बारेमा विस्तृतमा लेख्ने हो भने निक्कै ठूलो साइजको किताब तयार हुन्छ । तर यो लेखमा चाहिँ केवल धरान सहरको नामका सम्बन्धमा मात्रै लेखिने छ । भनिन्छ, विश्वका जुन सुकै ठाउँको नामसँग उसको इतिहास, ऐतिहासिकता, वीरता, इति–वृतान्त काम, प्रसिद्धि कमाएका व्यक्ति–व्यक्तित्व आदिसँग जोडिएको हुन्छ । त्यसरी हेर्दा नेपालको पूर्वी भागमा पर्ने एवम् पछिल्लो राजनीतिक विभाजनअनुसार ‘एक नम्बर प्रदेश’को सुनसरी जिल्लामा पर्ने ‘धरान’ बजार अर्थात् सहरको नाम चाहिँ कसरी ‘धरान’ रहन गयो ? यस सम्बन्धमा प्रायः हामी सबैले सामान्य ढंगले सुन्दै, पढ्दै आएको कथा–कुथुङग्रीअनुसार भन्ने हो भने, त्यो ठाउँ अत्यन्तै ठूलो र घना जंगलका रुपमा रहेको थियो । जुन पूर्व–पश्चिम फैलिएको ‘चार–कोशे झाडी’ उत्तरतर्फ रहेको थियो । त्यसैले उक्त ठाउँलाई ‘चार–कोशे झाडी’ पनि भनिन्थ्यो ।
जे होस्, सो सुरुमा सो ‘चार–कोशे झाडी’ अर्थात् घना जंगल (खास गरेर साल र सिसौको रुख) फाँडेर मानव वस्ती बसाउन योग्य जमीन बनाएको मान्न सकिन्छ । यस्तो काम आजभन्दा लगभग १२३ वर्ष अघि जति बेला नेपालमा ‘हुकूमको जवाफ छैन, कालको औषधि छैन !’ भनी सर्वसाधारण जनमा त्रास फैलाएर शासन गरिरहेका ‘श्री ३ महाराज’हरु जहाँनियाँ शासन थिए । स्मरणीय छ, उनीहरुले ‘आफैलाई ‘श्री ३ महाराज’ भन्थे । आफ्ना आसेपासे, चाकरीबाज, हनुमाने, झोलेपोके एवम् आफ्ना पिछलग्गूहरु जो लगाम लगाएको घोडासरह सीधा मात्रै देख्थे, दाँयाबाँया देख्दैन थिए, त्यस्ताहरुलाई ‘श्री ३ महाराज’ भन्न लगाउँथे । त्यसरी राणा शासकहरुको एकतन्त्रीय शासनकाल चलिरहेको बेला अर्थात् विक्रम संवत् १९४९–१९५० तिर हालको धरान र त्यसको आसपास ठूलो मात्रामा वन फँडानी भएको हो भन्ने भनाइ रहेको छ । भनिन्छ त्यो बेला ‘श्री ३ महाराज’ रहेका चन्द्र शमशेर राणा (फिस्टे महाराज) भनिने चन्द्र शमशेरले ठेकेदार गंगाप्रसाद श्रेष्ठ एवम् ‘सुब्बा’ रत्नप्रसाद श्रेष्ठलाई त्यहाँको वन फँडानी (रुख काट्ने) जिम्मा दिएका थिए । जुन ठाउँ केवल हालको धरान बजार रहेको क्षेत्र मात्रै नरहेर चार–कोशे झाडी (अहिलेको इटहरी समेत) रहेको थियो । त्यसरी श्री ३ महाराज अर्थात् राणा शासकहरुमध्यै धेरै समय शासन गर्नेमध्येमा दोस्रो व्यक्तिका रुपमा रहेका चन्द्र शमशेरको शासनकाल चलिरहेको बेला पूर्व–पश्चिम फैलिएको ‘चार–कोशे झाडी’ उत्तरतर्फ रहेको धरान क्षेत्रमा त्यसरी काठ काट्ने आरावालहरुले काठ काट्नका लागि बनाएको अस्थाई प्रकारको टाँड अर्थात् ‘धारान/धाराप’ बनाएको जुन आरा काट्ने ठाउँ हो त्यो ठाउँ नै अहिलेको विकशित धरान हो भन्दा अहिेलका पुस्ताले नपत्याउन सक्छन् । जबकि वास्तविकता त त्यही नै हो ।
सुरुमा काठ काट्ने आरावालहरुले काठ काट्न अस्थाई रुपमा बनाएको टाँड वा भनौं ‘धारान/धाराप’ भन्ने नामकै आधारमा पछि गएर/आएर सो ठाउँको नाम ‘धरान’ रहन गयो । अर्थात् उक्त ठाउँलाई विस्तारै आम जनजिब्रोले ‘धरान’ भन्न थाल्यो, धरान उच्चारण गर्न थाल्यो । अहिले आम नेपालीहरुका साथै विदेशीमाझ पनि धरान नामले ‘ख्यात–नामा’ कमाएको छ ‘धरान सहर–बजार’ले । त्यसरी घना जंगलका अर्थात् ‘चार–कोशे झाडी’ फाँडेर काठ चिर्न बनाईको ‘धारान/धाराप’को आधारमा नाम रहन गएको उक्त ठाउँमा विक्रम संवत् १९५९ तिर त्यो बेला ‘श्री ३ महाराज’ रहेका चन्द्र शमशेर राणा (फिस्टे महाराज) भनिने चन्द्र शमशेरले आफ्नो नाममा पहिलो र व्यवस्थित मानव वस्ती बसाएको मानिन्छ । जुन मानव वस्तीलाई आफ्नो नाममा चन्द्रनगर भनी नाम दिएका थिए । उक्त मानव वस्ती अहिले पुरानो बजार भनिने क्षेत्र हो भन्ने जानकारहरुको भनाइ रहेको छ । त्यस्तै गरेर जुद्ध शमशेर श्री ३ महाराज भएपछि उनले पनि अहिलेको धरानको मुख्य वस्ती रहेको धरान बजार क्षेत्रमा ‘जुद्धनगर’ भनेर अर्को मानव वस्ती बसाएका थिए, विक्रम संवत् १९९० तिर । हुन पनि हो, जुद्ध शमशेर श्री ३ महाराज भएपछि उनले विक्रम संवत् १९९० तिर बसाएको मानव वस्ती नै अहिलेको धरानको मुख्य वस्ती अर्थात् धरानको मुटु मानिने बजार क्षेत्र हो ।

यसरी हेर्दाखेरि धरानमा व्यवस्थित वस्ती सुरु भएको विक्रम संवत् १९५९ लाई मान्दा धरानमा मानव वस्ती सुरु भएको लगभग १२४ वर्ष भएको, पुगेको मान्नुपर्ने हुन्छ । तर, पनि धरानमा अलि बाक्लो र छिटो मानव वस्ती विस्तार हुन थालेको चाहिँ विक्रम संवत् २००९–२०१० तिर हो ठोकेरै भन्न सकिन्छ । किनभने, त्यो बेला बेलायत सरकारले आफ्नो सेनामा नेपालका आदिवासी जनजाति मूलका युवाहरु भर्ती गर्ने उदेश्यले धरान सहरमा गोरखा भर्ती केन्द्र स्थापना गर्यो । जुन उदेश्यका लिएर बेलायत सरकारले गोरखा भर्ती केन्द्र धरानमा खोलेको थियो, सो केन्द्रलाई जनजिब्रो (जनबोली) मा चाहिँ गोरखा भर्ती केन्द्र भन्दा पनि ‘घोपा क्याम् (क्याम्प)’ भनेर बढी उच्चारण गरियो । अर्थात् गोरखा भर्ती केन्द्र नभनेर ‘घोपा क्याम् (क्याम्प)’ भनियो, आम रुपमा । तर, धरानमा रहेको ‘घोपा क्याम् (क्याम्प)’ अर्थात् बेलायती भर्ती केन्द्र पनि विक्रम संवत् २०४६–२०४७ तिर पोखरामा सर्यो, सारियो । त्यसो हुनाको खास अर्थात् भित्री कारण चाहिँ भित्री रुपमा राजनीति चलिरहेको थियो, पूर्व र पश्चिम अर्थात किराती कथित् ‘राई !’ जाति र लिम्बु अनि मगर र गुरुङ जातिका अधिकृतहरुका बिचमा । अन्ततः यस्तो (पूर्व र पश्चिमको) राजनीतिमा पश्चिम अर्थात् मगर र गुरुङ जातिका अधिकृतहरुको जित भयो । त्यसमा बेलायती गोरा अधिकृतिहरुको साथ पनि पश्चिमतिर बढी ढल्केको थियो, भनी बेलायती सेनामा लामो समयसम्म अधिकृत भएर खटेका एक पुराना अधिकृतको भनाइ रहेको छ ।
जे भए तापनि धरानमा विक्रम संवत् २००९–२०१० मा बेलायत सरकारले आफ्नो सेनामा नेपालका आदिवासी जनजाति मूलका युवा भर्ती गर्ने उदेश्यले धरान सहरमा गोरखा भर्ती केन्द्र स्थापना गरेपछि पूर्वी पहाडी जिल्लाहरु ताप्लेजुङ/ताप्लिजङ, पाँचथर, संखुवासभा, तेह्रथुम, धनकुटा, सोलुखुम्बु, भोजपुर, ओखलढुंगा, खोटाङ, रामेछाप उदयपुरलगायतका जिल्लाका मानिसहरु बसाईँ सेर आए । त्यसरी बसाई सरेर आउनेहरुमा धेरै जसो त बेलायती सेनामा भर्ती भएका भूतपूर्व सेना र उनीहरुका परिवार नै थिए । त्यसपछि चाहिँ नेवार, क्षेत्री, बाहुनलगायत अन्य जातजातिका धनीमानी मानिसहरु धरानमा बसाई सरेर आएका थिए । फलतः धरान सरह (बजार) लाई एक ताका ‘लाहुरेहरुको सहर’ भनेर पनि चिनियो, त्यसो त अझै पनि धरान सरह (बजार) लाई अरु नामले कहाँ चिनिन्छ र ? ‘लाहुरेहरुको सहर’ भनेर नै चिनिन्छ, चिन्ने गरिन्छ ।
त्यसो त धरानमा त्यति ठूलो वा भनौं बाक्लो वस्ती नबस्दै अर्थात् विक्रम संवत् २००३ मा नै छोरो मान्छेहरु पढ्ने छात्र स्कूल/विद्यालय (पब्लिक स्कूल) खोलिएको थियो भने, केटीहरु पढ्ने अर्थात् छात्रा स्कूल (शारदा बालिका स्कूल) खोलिएको थियो । यसरी हेर्दाखेरि शिक्षा क्षेत्रमा पनि धरान सहर अग्रणी रहेको देखिन्छ । हुन पनि अहिलेसम्म धरान सहर पूर्वको एउटा प्रमुख सहरको रुपमा जीवन्तता लिएर एवम् सबै सामू आफ्नो अस्तितत्व बोध गराएर गुल्जार रहेको छ । साथै अनन्त कालसम्म धरान सहर गुल्जार रहिरने छ भनी ठोकुवा गर्न सकिन्छ ।



















































