पाँचथर : प्रदेश सरकारद्वारा प्रदेशसभामा प्रस्तुत गरिएको ‘प्रदेश आम सञ्चार सम्बन्धी विधेयक’को विरोधमा पाँचथरका पत्रकारहरुले बिहीबार जिल्ला प्रशासन कार्यालय अगाडि शान्तिपूर्ण धर्ना दिएका छन्।
नेपाल पत्रकार महासंघ, पाँचथर शाखाको आयोजनामा गरिएको धर्नामा महासंघका केन्द्रीय सदस्य लवदेव ढुंगानासहित पत्रकारहरुको उल्लेखनीय उपस्थिति रहेको थियो। ढुंगानाले विधेयकमा प्रेस स्वतन्त्रता कुण्ठित गर्ने प्रावधान रहेको भन्दै त्यसको सशक्त विरोध आवश्यक भएको बताए। “प्रेस स्वतन्त्रता लोकतन्त्रको मेरुदण्ड हो,” ढुंगानाले भने, “कुनै पनि कानुन यस्तो हुनु हुँदैन, जसले पत्रकारितालाई नियन्त्रण गर्ने कोसिस गर्छ।”
नेपाल पत्रकार महासंघ पाँचथरका अध्यक्ष भीम कुमार बाँस्कोटाले विधेयक तत्काल संशोधन नगरिए महासंघ थप कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका छन्। विधेयक सार्वजनिक भएपछि प्रदेशभर पत्रकार समुदायबाट चर्को विरोध सुरू भएको छ। नेपाल पत्रकार महासंघ प्रदेश समितिको आह्वानमा बिहीबार प्रदेशका १४ वटै जिल्लामा एकैसाथ जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिइएको हो।
धर्नामा सहभागी पत्रकारहरुले ‘स्वतन्त्र प्रेस हाम्रो अधिकार’, ‘दमनकारी कानुन खारेज गर’, ‘पत्रकारिता नियन्त्रण होइन, प्रोत्साहन चाहिन्छ’ जस्ता नारासहित प्लेकार्ड प्रदर्शन गरेका थिए।
संघीयता कार्यान्वयनसँगै प्रदेश सरकारले आमसञ्चार क्षेत्रलाई कानुनी रुपमै व्यवस्थापन गर्न विधेयक ल्याएको भए पनि त्यसमा अभिव्यक्ति तथा प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने खालका प्रावधान समावेश गरिएको भन्दै पत्रकारहरु आक्रोशित छन्। नेपाल पत्रकार महासंघले प्रदेश सरकारसँग प्रेसविरोधी प्रावधान खारेज गर्न माग गर्दै आवश्यक परेमा चरणबद्ध आन्दोलनमा जाने चेतावनी दिएको छ।




















































