
इलाम : इलामको माङसेबुङ गाउँपालिकाका तीनवटा वडा कार्यालयले झापाको दमकमा बसोबासो गर्दै आएका सामाजिक सुरक्षा भत्ता लिने लाभग्राहीका लागि शिविरमार्फत सेवा दिने भएको छ । वडा नं. १, २ र ६ ले सूचना प्रकाशित गर्दै भदौ ४ र ५ गते लाभग्राहीलाई अनिवार्य रूपमा विवरण नवीकरण (बायोमेट्रिक भेरिफिकेशन) गर्न आग्रह गरेको हो ।
ती वडाका अनुसार अशक्त, अशक्त विधवा, अपाङ्ग, अशक्त अपाङ्गता भएका, बालबालिकाका लागि भत्ता प्राप्त गर्ने सबैले तोकिएको शिविरमा गई विवरण नवीकरण गर्नुपर्नेछ ।
यसका लागि नागरिकताको प्रतिलिपि, राष्ट्रिय परिचयपत्र वा परिचय खुल्ने कागजात, दुई प्रति पासपोर्ट साइज फोटो र सामाजिक सुरक्षा भत्ता परिचयपत्रको प्रतिलिपि पेश गर्नुपर्ने वडाले जनाएको छ ।
शिविर राजन श्रेष्ठको घर (दमक–रवि ट्याक्सी स्टेण्ड छेउ) मा सञ्चालन हुने छ । बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म लाभग्राहीहरूले आफ्नो विवरण अद्यावधिक गर्न सक्नेछन् ।
वडाध्यक्षहरुले सामाजिक सुरक्षा भत्ता वितरणमा सहजता ल्याउन शिविरमार्फत सेवा प्रवाह गरिने बताउँदै तोकिएको समयमा उपस्थित भई नवीकरण गर्न लाभग्राहफलाई आग्रह गरेका छन् ।



















































