काठमाडौं : नेपालको कुल जनसंख्याको ५२.६१ प्रतिशत मानिस अझै पनि जीवन बीमाको पहुँच बाहिर रहेको नेपाल बीमा प्राधिकरणले जनाएको छ। मंगलबार आर्थिक वर्ष २०८२/०८३ को वार्षिक बीमा नीति तथा कार्यक्रम जारी गर्दै प्राधिकरणले यो तथ्यांक सार्वजनिक गरेको हो।
पत्रकार सम्मेलनमा बोल्दै प्राधिकरणका अध्यक्ष शरद ओझाले २०८२ साल वैशाख मसान्तसम्म नेपालको कुल जनसंख्याको ४७.३९ प्रतिशतमा मात्र जीवन बीमाको पहुँच पुगेको बताए। उनले तुलनात्मक रूपमा ग्रामीण तथा न्यून आय भएका वर्गहरू हालसम्म पनि बीमा सेवाबाट वञ्चित रहेको औंल्याए।
अध्यक्ष ओझाले बीमा विस्तारका लागि प्राधिकरणमा हाल १५८ जना र बीमा कम्पनीहरूमा २०८२ वैशाख मसान्तसम्म कार्यरत १२ हजार १६२ जना कर्मचारीको कार्यक्षमता अभिवृद्धि गरिएको जानकारी दिए। उनले ग्राहक केन्द्रित सेवा र वितरण प्रणाली विकास गर्न तथा बीमा साक्षरतामा जोड दिन आवश्यक रहेको बताए।
ओझाले भने, “२०८२ साल वैशाख मसान्तसम्म नेपालको कुल जनसंख्याको ४७.३९ प्रतिशतमा जीवन बीमाको पहुँच पुगेको छ भने ५२.६१ प्रतिशत जनसंख्या जीवन बीमाको पहुँच बाहिर छ। तुलनात्मक रूपमा ग्रामीण तथा न्यून आय भएका वर्गहरू हालसम्म पनि बीमा सेवाबाट वञ्चित छन्।”
उनले बीमा विस्तारका लागि अनुसन्धानमूलक तथा आवश्यकतामा आधारित नवीनतम बीमालेखहरू निर्माण गर्न, ग्राहक केन्द्रित सेवा र वितरण प्रणाली विकास गर्न तथा बीमा साक्षरतामा जोड दिन आवश्यक रहेको बताए। प्रविधिमैत्री बीमा सेवा प्रदान गर्नु अपरिहार्य भएको उनको भनाइ छ। प्राधिकरणले बीमा नीति हरेक वर्ष ल्याउने र बीमा प्रवर्द्धनलाई प्राथमिकतामा राख्ने पनि जनाएको छ।






















































