
पाँचथर : फाल्गुनन्द गाउँपालिकाले नसुवा बेसीमा २२ औं राष्ट्रिय रोपाइँ महोत्सव मनाइएको छ ।
“धान बालिमा सघनता– खाद्य सुरक्षा र आत्मनिर्भरता” भन्ने नारासहित असार १५ गते पालिकाको ७ नम्वर वडास्थित नसुवा बेसीमा महोत्सव भव्य रूपमा मनाइएको छ।
स्थानीय हर्कबहादुर चेम्जोङको खेतमा नौमती बाजासहित परम्परागत शैलीमा गरिएको सामूहिक रोपाइँले नेपाली कृषि संस्कृतिलाई पुनः उजागर गरेको छ। कार्यक्रम पालिकाको कृषि विकास शाखा, फाक्तेपको आयोजनामा तथा कृषि ज्ञान केन्द्र फिदिम पाँचथरको सह–आयोजनामा सम्पन्न भएको हो।
गाउँपालिका अध्यक्ष वृजहाङ आङदेम्बे, पालिकाको टोली र कृषि ज्ञान केन्द्र पाँचथरका निमित्त प्रमुख महेश कुमार चौधरीसहितको सहभागीता रहेको थियो । पालिका अध्यक्ष आङ्देम्वेले भने, “धान उत्पादनमा आत्मनिर्भर बन्नु भनेको खाद्य सुरक्षासँगै आर्थिक समृद्धिको बाटो समाउनु हो।” उनले थपे, ‘यस पालिकाले विगतदेखि थालनी गरेको किसान सम्मान कार्यक्रमलाई निरन्तरता दिइने छ ।’
कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख महेश कुमार चौधरीले यस्ता कार्यक्रमले कृषकलाई प्रविधिमैत्री उत्पादन प्रणालीतर्फ उन्मुख गराउने विश्वास व्यक्त गरे।
गाउँपालिकाले उत्कृष्ट धान उत्पादन गर्ने कृषकलाई हरेक वर्ष नगदसहित सम्मान गर्दै आएको छ । कृषिमा निरन्तर सुधार र आधुनिकीकरण गर्न महोत्सवमा खेतैमा पुगेर स्थानीय सरकारले किसानलाई उत्साह थप्ने कामबाट सकारात्मक सन्देश फैलिएको छ।



















































