इलाम : आईतवार दिउँसो करिब ४ बजेर १० मिनेट जाँदा इलामको रोङ गाउँपालिका-३, पाथले डाँडास्थित मेची राजमार्गमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।
झापाबाट इलाम आउदै गरेको प्रदेश १-०१-००१ ख ४५४७ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको बा ८९ प २२६६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो।
दुर्घटनालगत्तै प्रहरी चौकी हर्कटेबाट प्रहरी सहायक निरीक्षक गोविन्द खत्रीको कमान्डमा खटिएको प्रहरी टोलीले घाइतेहरूलाई तत्काल उपचारका लागि झापाको बी एन्ड सी अस्पताल पठाएको थियो। उपचारकै क्रममा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेहरूमा मोटरसाइकल चालक बझाङको वित्थडचिर गाउँपालिका-१ बस्ने २६ वर्षीय मदनबहादुर बोहरा र पछाडि सवार जाजरकोटको छेडागाड नगरपालिका-८ बस्ने २३ वर्षीया सिर्जना गिरी रहेका छन्।
ट्रक चालक पाँचथरको कुमाय गाउँपालिका-९ बस्ने ३३ वर्षीय नितेश बुढाथोकीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।