
इलाम : नेपाल प्रेस युनियनको ३४ औं स्थापना दिवस इलाम चोक बजारमा दीप प्रज्वलन कार्यक्रम आयोजना गरि मनाईएको छ । युनियनको इलाम जिल्ला शाखाद्वारा आयोजित उक्त कार्यक्रममा पत्रकार, नागरिक समाजका अगुवा र स्थानीय बासिन्दाको उल्लेख्य उपस्थिति रहेको थियो ।
इलाम जिल्ला शाखा अध्यक्ष सबिता पाण्डेकाे अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमका प्रमुख अतिथि इलाम नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष नरेश श्रेष्ठ थिए । कार्यक्रमको सञ्चालन युनियनका सचिव प्रकाश नेपालले गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडा अध्यक्ष नरेश श्रेष्ठले प्रेस स्वतन्त्रता र पत्रकारहरूको हकहितका लागि नेपाल प्रेस युनियनले पुर्याएको योगदानको उच्च प्रशंसा गरे । उनले सत्य र निष्पक्ष समाचार सम्प्रेषणमा पत्रकारहरूले निर्वाह गरेको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै आगामी दिनमा पनि स्थानीय सरकारको तर्फबाट आवश्यक सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।
अध्यक्ष सबिता पाण्डेले युनियनको स्थापनाको उद्देश्य र यसले पत्रकारहरूको व्यावसायिक मर्यादा र अधिकारका लागि गर्दै आएका संघर्षबारे प्रकाश पारिन । उनले चुनौतीपूर्ण समयमा पनि पत्रकारहरूले आफ्नो कर्तव्य निष्ठापूर्वक निर्वाह गरिरहेको बताउँदै सबैलाई एकजुट भएर अगाडि बढ्न आह्वान गरिन ।

यसै अवसरमा बोल्दै इलामका सस्थापक सोम सुसेलीले नेपाल प्रेस युनियनले पत्रकारिता क्षेत्रमा खेलेको भूमिकाको चर्चा गरे । उनले युनियन स्थापनादेखि हालसम्म भोग्नुपरेका समस्याहरूलाई पनि उजागर गरे ।
उता दीप प्रज्वलन कार्यक्रममा सहभागी बक्ताहरूले प्रेस स्वतन्त्रताको पक्षमा बोल्दै पत्रकारहरूको सुरक्षा र अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिएका थिए ।
सचिव प्रकाश नेपालले कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरे । नेपाल प्रेस युनियन इलाम शाखाले आगामी दिनमा पनि पत्रकारिताको विकास र प्रेस स्वतन्त्रताको रक्षाका लागि विभिन्न कार्यक्रमहरू आयोजना गर्ने जानकारी गराएको छ।



















































