१. परिचय :
इलामको माङसेबुङ गाउँपालिका-२ इभाङस्थित देउमाई खोलाको (दक्षिण-पश्चिम दिशा) किनारामा रहेको छ, चमेरे गुफा । यो गुफा आफैमा एक पर्यटकीय सम्भावना बोकेको स्थान हो । प्रसिद्व धार्मिक तथा पर्यटकीय स्थल गजुरमुखी धामबाट पूर्व दक्षिण दिशातिर कच्ची सडक हुँदै १ किलोमिटर दुरीमा अवस्थित चमेरे गुफा पुग्न सकिन्छ ।
२. चेमेरे गुफाको बनोट र किंवदन्ती :
देउमाई खोला किनारको छेवैमा रहेको चुरे पहाड । त्यही पहाडको फेदीमा अवस्थित चमेरे गुफा निकै मनमोहक र आर्कषक पनि छ । झट्ट हेर्दा गुफा पस्ने ठाउँ घरको ढोका आकार झैँ देखिन्छ । यस गुफाको भित्री भागमा भने करिब ४०/४५ जना मानिसहरू सहजै आँट्न सक्छन् । जसको माथिल्लो भागमा भने परापूर्व कालदेखि नै सयौँको संख्यामा चमेरा बस्दछन् । चमेरा बस्ने गुफाका रूपमा यसको नामाकरण भएको स्थानीयको भनाइ छ ।
परापूर्व कालमा विभिन्न थुम (राज्य) का राजाहरूले आफ्ना सेनालाई राख्ने सेल्टरको रूपमा यो गुफालाई प्रयोग गरिन्थ्यो भन्ने किम्बदन्ती छ । तथापि, चमेरे गुफा बारे विस्तृत अध्ययन अनुसन्धान भने हुन सकेको छैन ।
३. चमेरे गुफाबारे पूर्व चर्चा :
माङसेबुङ गाउँपालिकाले आफ्नो वेबसाइटमा ‘माङसेबुङ गाउँपालिकाको परिचय’ मा चमेरे गुफा बारे उल्लेख गरेको छ । माङसेबुङ गाउँपालिकाको आर्थिक वर्ष २०७७/०७८, २०७८/०७९ लगायत को नीति, बजेट तथा कार्यक्रम पुस्तिकाहरुमा चमेरे गुफालाई पर्यटकीय स्थल भनी उल्लेख गरिएको छ ।
पालिकाले २०८० सालमा तयार गरेको स्थानीय पाठ्यक्रम कक्षा ८ मा माङसेबुङका पर्यटकीय क्षेत्रहरु शीर्षक राखेर चमेरे गुफालाई पर्यटकीय क्षेत्रको रूपमा उल्लेख गरेको छ । त्यस्तै, माङसेबुङ गाउँपालिकाबाट प्रकाशित ‘माङसेबुङ दर्पण’ (२०८१) मा तस्वीरसहित छोटो जानकारी समावेश छ । माङसेबुङ गाउँपालिकाले नै प्रकाशन गरेको ‘माङसेबुङ बुलेटिन’ (अङ्क २ जेठ–असार २०७९) मा योजना तथा कार्यक्रम शीर्षकमा उल्लेख छ ।
४. हालसम्म के के भयो ?
२०७५ सालबाट स्थानीय तह माङसेबुङ गाउँपालिकाले पर्यटकीय क्षेत्रको रूपमा चिनाउँदा निकै चर्चा कमाए पनि पर्याप्त बजेट नहुँदा चमेरे गुफा अझै ओझेलमा रहेको देखिन्छ । तात्कालीन वडा अध्यक्ष पुष्पराज कार्कीले आर्थिक वर्ष २०७६/७७ मा वडा सिलिङको एक लाख ५० हजार रूपैयाँ रकम चमेरे गुफाको विकास कार्यक्रम अन्तर्गत गेट तथा फलैँचा निर्माण भएको बताउँछ्न् ।
तर, सो संरचना २०७९ को कार्तिक २ गते राति देउमाई खोलामा आएको बाढीले बगाएको थियो । हाल चमेरे गुफा अगाडि त्यस बेला निर्मित संरचना मध्ये दुई वटा मुड्का मात्रै बाँकी रहेको छ ।
५. चमेरे गुफाबारे स्थानीयको भनाइ :
स्थानीय वृद्व भगिरथ बस्नेत (वर्ष ८४) का अनुसार चमेरे गुफा गाई, भैँसी चरनमा बेसी झारेका गोठालाहरूको भेटघाट, तथा गोठ बस्ने ठाउको रूपमा रहेको बताउँछ्न् । उहाँको स्मरणमा पहाड मधेस गर्ने बटुवा, भरिया, व्यापारी र माछा मार्ने जालहारीहरू चमेरे गुफा हुँदै ओहोरदोहोर गर्ने गरेको र यसरी यात्रा गर्दा आराम गर्ने स्थलका रूपमा चमेरे गुफा हुने गरेको थियो ।
अर्का स्थानीय मित्र न्यौपाने (वर्ष ४७) ले चमेरे गुफा बढी जाडो पनि नहुने गर्मी पनि नहुने अनुकूल वातावरणमा अवस्थित रहकाले यहाँ सयौँका सङ्ख्यामा चमेरा बस्दै आइरहेकोले यसको नाम नै चमेरे गुफा बन्न पुगेको बताए । न्यौपानेको भनाइमा यो गुफाको विषयमा स्थानीय पाठ्यक्रममा समावेश भएर पनि यसले पूर्वाधार विकासा प्रथमिकता पाउन सकेको छैन ।
चमेरे गुफाको आवश्यक प्रचार प्रसार र पूर्वाधारका निम्ति पहिलो पटक वडा सिलिङमार्फत आर्थिक वर्ष २०७६/०७७ मा गरेपनि २०७९ सालको बेमौसमी झरीसँगै देउमाई खोलामा आएको बाढीले बगाएको स्थानीय राम अधिकारी (४६ वर्ष) बताउँछ्न् । आउँदो दिनमा समेत पर्यटन प्रवर्द्धनमा स्थानीय सरकारको लगानी आवश्यक रहेको उनी बताउँछन् ।
६. स्थानीय तहको प्रतिवद्धता :
माङसेबुङ गाउँपालिकाको आयोजनामा गाउँ पालिकाभित्रका धार्मिक तथा पर्यटकीयस्थलहरूको अवलोकन, अनुसन्धानका साथै पर्यटन प्रवद्र्धनका लागि सात दिने पदयात्राको समापन कार्यक्रममा सञ्चारकर्मीमाझ बोल्दै माङसेबुङ गाउँपालिकाका अध्यक्ष हेमन्त राईले पालिकाभित्रका सम्भावना बोकेका धार्मिक तथा पर्यटकीय स्थलहरूको विकास, संरक्षण तथा प्रचार–प्रसार गर्न आफू र पालिका टीम कटिबद्ध रहेको बताए । चमेरे गुफा जस्ता सम्भावना बोकेका क्षेत्रहरूको विकास, संरक्षण तथा प्रचार–प्रसार गर्न सके सिङ्गो पालिकाको विकासमा टेवा पुग्ने अध्यक्ष राईको भनाइ थियो ।
त्यसैगरी माङसेबुङ वडा नम्बर २ का वडा अध्यक्ष कृष्णबहादुर बस्नेतले लामो समयदेखि यस चमेरे गुफाको विकासमा वडाले कार्यक्रम गर्न नसकिरहेको स्वीकार गर्दै दुःख व्यक्त गरे ।
यो लेख तयारीका लागि गरिएको कुराकानीका क्रममा वडा अध्यक्ष बस्नेतले प्रतिबद्धता व्यक्त गर्दै भने, ‘आगामी दिनमा पहिलो प्रथामिकतामा राखेर चमेरे गुफाका लागि हामी काम गर्नेछौँ’, उनले भने, ‘वातावरण र पर्यावरण सन्तुलनका लागि महत्त्वपूर्ण भूमिका खेल्ने चमेराको संरक्षण गर्नु आजको आवश्यकता हो भन्ने हामीले बुझेका छौँ ।’
७. निकर्ष :
ठूलाठूला चट्टान, हरिया बोट बिरुवा, स्वच्छ हावापानी, बेमौसमि फलफूल तथा परापूर्व कालदेखि बस्दै आईरहेका स्तनधारी जीव चमेराले यस क्षेत्रमा आउने जो कोहीलाई आकर्षित गर्ने देखिन्छ । यस क्षेत्रको पर्याप्त प्रचार प्रसार हुने हो भने र यहाँसम्म आउने सडकलगायत अन्य पूर्वाधार निर्माणमा जोड दिने हो भने चमेरे गुफा धेरै मानिसका लागि पुग्नै पर्ने गन्तव्यका रूपमा स्थापित हुन सक्छ । हाम्रो वातावरणका करिब पाँच सय भन्दा बढी बोट विरूवाको परागसेचन कार्य चमेरामा निर्भर हुने गरेको बैज्ञानिक अनुसन्धानबाट प्रमाणित भएको छ । थुप्रै महत्त्वपूर्ण विशेषता बोकेको चमेरा अव्यवस्थित बसोबास, वन फडानी, अबैध सिकार जस्ता क्रियाकलापबाट जोखिममा पर्दै गएका छन् ।
(उद्धरण गरिएका व्यक्तिहरुसँगको कुराकानीमा आधारित ।)