मेची करिडोर निर्माणले गाँउबस्तिको मुहार फेरीदै,सदरमुकाम इलाम बजार चलायमान हुने आशा

इलाम : केचना कंचनजगा (मेची करिडोर) सडक ट्रयाक खोली संचालन भएसंगै इलाम सदरमुकाम आउन र झापा जान निकै छिटो मात्र भएको छैन त्यस सडकले छोएको गाँउ बस्तिको मुहार नै बदलिएको छ । मेची राजमार्ग भएर झापाको बिर्तामोड पुग्न ८६ किलोमिटरको यो दूरी यो सडक बाट बढीमा ५० किलोमिटरमा सीमित भएको छ ।

करीब तीन घण्टा लाग्ने मेची राजमार्गको यात्रा आधा छोट्टिएपछि इलामबासी हर्षित छन् । इलाम सदरमुकामबाट गोलाखर्क भञ्ज्याङ,पुवाखोला, सोयाक, बेलासे, चिसापानी र दानाबारी हुँदै झापा खुदुनाबारी भएर बिर्तामोड जोडिने यो मार्गमा अहिले सवारी साधन बाक्लै मात्रामा चल्न थालेको छ । गाउँमा उत्पादन हुने धान, तरकारी, केरालगायत कृषिजन्य उत्पादनले पनि भाउ पाएको छ ।

सोयाक बेलासेका जग्गा–जमिनको धेरै वर्ष भाउ थिएन, अब चाहिँ राम्रो मूल्यमा बिक्ने आशा जागेको बेलासेमा होटल बयाबसाय चलाउदै आउनुभएका राज लोक्तामले बताए । गाउँमा उत्पादन हुने अदुवा, कुचो, तरुल र तरकारीले राम्रो भाउ पाउन थालेको पनि उनको भनाई छ ।

पहाडी जिल्ला इलामका बासिन्दा किनमेलका लागि झापा बिर्तामोड झर्छन् । जिल्लाको पूर्वीका बासिन्दालाई तराई झर्न सदरमुकाम आउन नपरे पनि पश्चिमी क्षेत्रका बासिन्दा सदरमुकाम भएरै तराई झर्नुपर्ने बाध्यता थियो तर अहिले त्यो बाध्यता हटेको छ । पाँचथर र ताप्लेजुङका बासिन्दा समेत मेची राजमार्ग छाडेर राँके–रवि हुँदै सोझै तराई झर्दा इलाम सदरमुकाम ओझेलमा पर्ने सम्भावना रहेका बेला मेची करिडोर खुलेपछि सुविधा थपिएको छ ।

अब इलाम सदरमुकामबाट सबैभन्दा छिटो तराई झर्ने मार्ग यही भएको होटल ब्यबसायी संघ इलामका अध्यक्ष देवी पौडेलले बताए । सडकको ट्र्याक खुलेर अहिले कामले गति लिएसंगै यो क्षेत्रमा नयाँ घर बन्ने र पसल खुल्नेक्रम बढेको छ । मानिस आउ–जाउ बढेपछि गाउँमै व्यवसाय चल्ने आशाले स्थानीय हर्षित छन् । यो सडक कालोपत्रे भएर संचालनमा आउनसाथ इलाममा मानिसको आउ–जाउ बढ्ने र पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने पौडेलले बताए । यो सडक निर्माण भए इलामले आर्थिक विकास, समृद्धि र पर्यटनमा छलाङ मार्छ भन्ने विश्वास रहेको पौडेलको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार