बालबालिकालाई चेस सिकाउँदै वडाध्यक्ष

  नयाँ बुलन्द
777 Shares

इलाम : इलामको सूर्योदय नगरपालिका-५ का वडाध्यक्ष उर्गेन बम्जनले बालबालिका र विद्यालयहरु सँग जोडिने कार्यक्रमहरु अगाडि बढाइरहेका छन् । आफूले विद्यालय तहमा नपाएको अवसर आफ्नो वडाध्यक्ष कार्यकाल भरी कम्तीमा आफ्ना वडाका सबै विद्यार्थीहरुले प्राप्त गरून् भन्ने लक्ष्य उनले राखेका छन् ।

पछिल्लो चरणमा वडाध्यक्ष बम्जन वडाभित्रका विभिन्न विद्यालयमा बुद्धिचाल (चेस) सिकाउँदै गरेको अवस्थामा भेटिन थालेका छन् । सूर्योदय नगरपालिका नगर खेलकुद विकास समितिले नगरपालिका भित्रका विद्यालयका विद्यार्थीहरुलाई चेस प्रशिक्षण सुरु गरेपछि वडाध्यक्ष बम्जनले आफ्नो वडाका विद्यालयहरुलाई प्राथमिकतामा राखेर चेस प्रशिक्षण गराउन आग्रह गरे ।

नगर खेलकुद विकास समितिले वडाध्यक्षको आग्रह मान्दै वडा कार्यालयमा नै विद्यार्थीहरुलाई चेस प्रशिक्षण सम्पन्न गर्यो ।

विद्यार्थीहरुलाई पहिलो चरणको प्रशिक्षण नगर खेलकुदले गराएपछि वडाध्यक्ष बम्जन अहिले वडा भित्रका विद्यालयहरूमा पुगेर आफैले बालबालिका सँग चेस खेल्दै र सिकाउँदै गरिरहेका छन् ।

चेस खेलले बालबालिकाहरुको मानसिक, बौद्धिक, रणनितीक क्षमतामा वृद्धि गर्ने र बालबालिकाहरुलाई धैर्यवान बनाउनका साथै सोचेर निर्णय लिने र आइलागेको समस्या आफैले समाधान गर्ने बानी विकसित गर्ने भएकोले चेसलाई आफूले महत्व दिएर सिकाइरहेको वडाध्यक्ष बम्जन बताउँछन् ।

आफै पनि चेसका कुशल खेलाडी रहेका वडाध्यक्ष बम्जन विद्यार्थीहरुलाई चेस सिकाएर भविष्यमा आफ्नै वडाका बालबालिकाहरुले चेसमा राम्रो गर्ने वातावरण बनाउने गरी आफु लागिरहेको बताउँछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार