इलाम : इलाम–२ को उम्मेदवारका लागि माओवादीबाट चार जनाको नाम सिफारिस भएको छ ।
प्रदेश समितिले जिल्ला समन्वय समिति इलामको सिफारिसको आधारमा चार जनाको नाम केन्द्रमा पठाएको बताइएको छ ।
माओवादीका कोशी प्रदेश अध्यक्ष हर्क बहादुर नेम्वाङका अनुसार केन्द्रीय सदस्य धिरेन्द्र शर्मा तिम्सिना, उर्मिला तामाङ, ओमबहादुर गुरुङ र कुमार बराइलीको नाम सिफारिसमा परेको हो।
हालसम्म एमालेले स्व नेम्बाङका छोरा सुहाङ नेम्बाङलाई उम्मेदवार बनाएको छ । यस्तै कांग्रेसबाट ७ जनाको नाम केन्द्रमा सिफारिस भएको छ ।
उता, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले इलाम क्षेत्र २ को उपनिर्वाचनका लागि उम्मेदवारमा तीन जनाको नाम सिफारिस गरेको छ ।
पार्टीको जिल्ला सचिवालयले केन्द्रीय परिषद् सदस्य पूर्णबहादुर बस्नेत, जिल्ला सचिव हरिबाला राई र सचिवालय सदस्य जितबहादुर राईको नाम प्रदेश कमिटीमा सिफारिस गरेको जिल्ला सदस्य चेतन अधिकारीले जानकारी दिए ।
यसअघि नेकपा (एस)बाट पूर्वप्रधानमन्त्री झलनाथ खनाल र जिल्ला अध्यक्ष भक्त केसीसमेत उम्मेदवार बन्ने चर्चामा थिए । तर, खनाल र केसीलाई पार्टीले वाम दलको साझा उम्मेदवार बन्ने अवस्था आउँदमात्रै अघि सार्न खोजेको थियो ।
नेकपा (एमाले)ले पार्टीको एकल उम्मेदवार घोषणा गरेपछि नेकपा (एस)ले खनाल र केसीलाई जिल्लाबाट सिफारिस नै नगरेको हो ।
त्यस्ते, राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) इलाम जिल्ला समितिले उम्मेद्वारको नाम कोशी प्रदेश समितिमा सिफारिस गरेको छ ।
वैशाख १५ गते हुने सङ्घीय उपनिर्वाचनका लागि राप्रपा इलामको जिल्ला कार्य सम्पादन समितिको बैठकले क्रमशः लक्ष्मी गुरुङ, यामनाथ भण्डारी र लालबहादुर डाँगीको नाम उम्मेदवारको रूपमा प्रदेशमा सिफारिस गरेको राप्रपा इलामका प्रवक्ता गोपाल पौड्यालले बताए ।
बैठकमा राप्रपा कोशी प्रदेश अध्यक्ष तथा दमक नगरपालिकाका प्रमुख राम थापा, कोशी प्रदेश सभासद् गोपाल गजमेर र हल्दिबारी गाउँपालिकाका अध्यक्ष तथा राप्रपा इलाम क्षेत्र नम्बर २ उपनिर्वाचनका संयोजक रवीन्द्र लिङ्देनको समेत उपस्थिति रहेको थियो ।
इलाम क्षेत्र २ मा आउँदो वैशाख १५ मा उपनिर्वाचन हुँदैछ । एमाले नेता सुवासचन्द्र नेम्बाङले चुनाव जितेको यो क्षेत्र गत भदौ २६ मा नेम्बाङको निधन भएपछि रिक्त छ । ब