इलाम-२ उपनिर्वाचनमा प्रेमदिप लिम्बूको पनि स्वतन्त्र उम्मेद्वारी घोषणा

  नयाँ बुलन्द
245 Shares

शुक्रबार इलाम सदरमुकाममा पत्रकार सम्मेलन आयोजना गरी इलाम-२ उपनिर्वाचनमा स्वतन्त्र उम्मेद्वार घोषणा गर्दै ‘किरात लिम्बुवान प्रदेश नामाङ्कन अभियान’का केन्द्रीय अध्यक्ष प्रेमदिप लिम्बू । तस्बिर : नयाँ बुलन्द

इलाम : आउँदो वैसाख १५ गते हुन लागिरहेको इलाम-२ को प्रतिनिधिसभा उपनिर्वाचनका लागि चुनावी चहलपहल बढेको छ । उपनिर्वाचनमा उम्मेद्वार बन्नेको लर्को लागेको छ । राजनीतिक दलहरुले उम्मेद्वारको टुङ्गो लगाउन ढिलाई गरिरहेको अवस्थामा स्वतन्त्र उम्मेद्वारहरु उम्मेद्वारी घोषणा गर्दै चुनावी अभियानमा होमिन थालिसकेका छन् ।

विषेश गरी यो क्षेत्रमा स्वतन्त्र उम्मेद्वारी घोषणा गर्नेहरु पहिचानको मुद्धालाई प्रमुख चुनावी एजेण्डा बनाएर होमिन थालिसकेका छन् । यसैक्रममा शुक्रबार किरात लिम्बुवान प्रदेश नामाङ्कन अभियानका केन्द्रीय अध्यक्ष प्रेमदिप लिम्बूले स्वतन्त्र उम्मेद्वार घोषणा गरेका छन् ।

नेपाल पत्रकार महासंघको कार्यालयमा पत्रकार सम्मेलन गरी लिम्बूले आफूलाई पहिचानवादी स्वतन्त्र उम्मेद्वार घोषणा गरेका हुन् । प्रदेशको नाम कोशी खारेज गरी किरात लिम्बूवान प्रदेश नामाकरण गरिनुपर्ने प्रमुख एजेण्डा लिएर आफूले उम्मेद्वारी दिएको उनले बताए । पहिचानको मुद्धा लिएर उम्मेद्वारि घोषणा गर्नेहरु भर्खरै मात्र मैदानमा आएपनि आफू भने २५ बर्षदेखि पहिचानको मुद्धा बोकेर हिँडेको उनको तर्क थियो ।

लिम्बूले चुनावी एजेण्डामा चुलाचुलीमा इलाका प्रशासन र मालपोत कार्यालय स्थापनामा पहल गर्ने, कृषि सडकको स्तरोन्नति गर्ने, बैंक तथा सहकारी/लघुबित्तबाट सीमान्तकृत वर्गको ऋण मिनाहा गराउने लगायतका एजेण्डा रहेका छन् । गणतन्त्रबादी भनौंदा दलले पहिचान मासिदिएको जनाउँदै पहिचानको रक्षा गर्नका लागि पनि आफूले उम्मेद्वारी दिने घोषणा गरेको उनको तर्क थियो ।

स्वतन्त्र उम्मेद्वार घोषणा गरेका लिम्बूले चुनाव चिन्ह भने राजनीतिक दलकै लिन भएका छन् । उनले सिके राउत नेतृत्वको जनमत पार्टीको चुनाव चिह्न (हाते माइक) बाट चुनाव लड्ने सहमति भएको बताउनुभयो ।

सो क्षेत्रमा यसअघि स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह थेगिम, मिलन लिम्बू र अर्जुनबिक्रम शाहीले यसअघि काठमाडौंमा पत्रकार सम्मेलन गरी स्वतन्त्र उम्मेद्वार घोषणा गर्दै चुनावी अभियानमा होमिएका छन् । पहिचानको प्रमुख मुद्धा बोकेर निर्वाचनमा होमिनुभएका थेगिम प्रदेश नामाङ्कनको विषयलाई लिएर कोशीमा आन्दोलनरत ‘प्रदेश नं. १ पुन: नामाङ्कन संयुक्त संघर्ष समिति’ को तर्फबाट साझा उम्मेद्वार खडा भएका छन् । उनलाई पहिचान पक्षधर पार्टीहरु राष्ट्रिय जनमुक्ति पार्टी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नागरिक उन्मुक्ति पार्टी, जातीय संस्थाहरु किरात याक्थुङ चुम्लुङ, किरात राई यायोक्खालगायत किरात धर्मगुरु आत्मानन्द लिङदेनको समर्थन छ ।

त्यस्तै युवाहरुलाई स्वरोजगार र आत्मनिर्भर बनाउने मुख्य मुद्धा पत्रकार लिम्बू चुनावी मैदानमा होमिएक छन् । उनी नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का महसचिव र दृष्टि न्युजका सम्पादक हुन् । उता युवाकै मुद्धा लिएर इलाम आउनुभएका पाहुना उम्मेद्वार शाही समेत भेटघाटमा व्यस्त छन् ।

उता जिल्लाका कुनैपनि राजनीतिक दलहरुले अहिलेसम्म उम्मेद्वार टुङ्गो लगाउन सकेका छैनन् । उम्मेद्वार चयनमा सर्वसम्मत हुन नसकेपछि नेपाली कांग्रेसले सात, नेकपा एमालेले छ र जनता समाजवादी पार्टीले तीन जना आकाङंक्षीको नाम केन्द्रीय समितिमा सिफारिस गरी पठाएका छन् । सिफारिसमा परेका सबै नेताहरु आफूले टिकट पाउने विश्वस्त हुँदै निर्वाचन क्षेत्रमा केन्द्रित भएका छन् ।

यस्तो छ, स्वतन्त्र उम्मेद्वार प्रेमदिप लिम्बूको प्रतिवद्धता :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार