माङसेबुङका ६९३ जनाले पाए हातहातमा सामाजिक सुरक्षा भत्ता

फाइल तस्बिर

इलाम : इलामको माङसेबुङ गाउँपालिकाले ६९३ जना स्थानीय लाभग्राहीलाई वडा कार्यालयमार्फत हातहातमा सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । गाउँपालिकाले चालु आर्थिक वेष २०८०/०८१ को दोस्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता वडा कार्यालयबाटै वितरण गरेको हो ।

माङसेबुङ गाउँपालिकाले वडामार्फत लाभग्राहीको हातहातमा सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको हो ।  माङसेबुङले वडा नं. १ मा दुई सय २० जना लाभग्राहीलाई रु २४ लाख ७४ हजार र वडा नं. ३ मा एक सय २९ जना लाभग्राहीलाई रु १४ लाख ११ हजार पाँच सय सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ ।

त्यस्तै,  वडा नं. ५ मा एक सय ८० जना लाभग्राहीलाई रु २० लाख ७९ हजा पाँच सय र वडा नं. ६ मा एक सय ६४ जना लाभग्राहीलाई रु १८ लाख ९८ हजार सामाजिक सुरक्षा भत्ता वितरण गरेको पञ्जीकरण शाखा प्रमुख मनकुमार मगरले जानकारी दिए । माङसेबुङले वडा नं. २ र ४ मा भने बैंकिङ प्रणालीबाट नै सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ ।

माङसेबुङका अधिकांश क्षेत्र भौगोलिक विकटता रहेका भन्दै माङसेबुङले बैंकसँगको सहकार्यमा वडागत रुपमा नगद नै लाभग्राहीको हातहातमा पुर्‍याउन थालेको गाउँपालिका अध्यक्ष हेमन्त राईले बताए। स्थानीय सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडसँगको सहकार्यमा गाउँपालिकाले नगद नै लाभग्राहीको हातहातमा पुर्‍याउन थालेको उनको भनाई छ ।

‘बैंक सबैको पायक पर्ने ठाउँमा छैन । चेक साट्न इभाङ वा दमकसम्म पुग्नेपुर्ने अवस्था छ । गाडीभाडा मात्र रु एक हजारदेखि १५ सयसम्म तिर्नुपर्ने अवस्था छ । धेरै लाभग्राहीहरु बैंकसम्म आफैं उपस्थित हुन समेत सक्दैनन्’ अध्यक्ष राईले भने, ‘लाभग्राहीको यस्ता विभिन्न समस्यालाई मध्यनजर गर्दै हामीले सिटिजन्स बैंकलाई अनुरोध गरेर लाभग्राहीको हातहातमा सामाजिक सुरक्षा भत्ता पुर्‍याउन थालेका हौं ।’

घरबाट बैंकसम्म पुग्न नसक्ने अशक्त, अपाङ्गता भएका, बालबालिका र जेष्ठ नागरिकहरुलाई सामाजिक सुरक्षा भत्ता हातहातमा थमाइदिन अध्यक्ष राईसहित जनप्रतिनिधि र कर्मचारीको टोलि वडागत रुपमा पुगेका थिए ।

यसअघि गाउँपालिकाले माङसेबुङमा रहेको सिटिजन्स बैंक इन्टरनेशनलमार्फत ६ वटै वडामा भत्ता वितरण गर्दै आएको थियो । त्यसो गर्दा बैंकमा सेवाग्राहीको चाप बढ्ने र टाढाटाढाबाट गाउँपालिका र झापाको दमकसम्म धाउनुपर्ने भएकाले सेवाग्राहीले हैरानी खेपिरहेका थिए ।

हातहातमै भत्ता आउन थालेपछि सेवाग्राही समेत खुसी भएका छन् । गाउँपालिकाको यो निर्णयबाट जनताले स्थानीय सरकार घरघरमा आएको वास्तविक रुपमा महसुस गर्न पाएका छन् ।

बैंकिङ प्रणालीबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्दा लाभग्राहीलाई हैरानी खेप्नुपरेको भन्दै गाउँपालिकाले नगद नै वितण गर्न थालेको हो । यसबाट भत्ता लिनकै लागि टाढाटाढादेखि आएर बैंकमा पालो कुर्नुपर्ने झन्झटको अन्त्य भएको छ ।

माङसेबुङ गाउँपालिकामा जेष्ठ नागरिक (अन्य), जेष्ठ नागरिक भत्ता (दलित), एकल महिला, विधवा (आर्थिक सहायता), पूर्ण अशक्त अपाङ्गता आर्थिक सहायता (क वर्ग), अति अशक्त अपाङ्गता आर्थिक सहायता (ख वर्ग), र दलित बालबालिका गरी सात प्रकारका एक हजार आठ सय ४९ जना  सामाजिक सुरक्षा भत्ता लाभग्राही रहेको गाउँपालिकाको तथ्याङ्क छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार