इलाम : इलामको माङेबुङ गाउँपालिकाले सेवाग्राहीको सहजताका लागि ६ नम्बर वडा कार्यालयको समेत शाखा कार्यालय स्थापना गरेको छ ।
पालिका अन्तरगत वडाको तेस्रो शाखा कार्यालयको रुपमा वडा नम्बर ६ को टोड्के टोलमा शाखा कार्यालय स्थापना गरेको छ । कार्यालयको एक कार्यक्रम गरी गाउँपालिका अध्यक्ष हेमन्त राईले उद्घाटन गरे ।
कार्यक्रमा अध्यक्ष राईले वडाको भौगोलिक विकटता र त्यहाँका जनताको सहजताको लागि गाउँपालिकाले कार्यपालिका वैठकबाटै निर्णय गरेर शाखा कार्यालय स्थापना गरिएको बताए ।
शाखा कार्यालयबाट स्थानीय टोड्के कुसुण्डे, मालबासे, मानेटार र साविक ३ को तल्लो भेगका नागरिक लाभान्वित हुने भएपछि सो क्षेत्रका नागरिक खुशी र उत्साहित भएका छन् ।
प्रत्येक महिनाको १५, १६ र २७ गते वडाबाट हुने सबै सेवा शाखा कार्यालयबाट प्रदान गरिने व्यवस्था गरिएको वडा अध्यक्ष प्रदिप साङपाङले बताए । सार्वजनिक विदा परेमा भने त्यसको भोलिपल्ट सेवा प्रवाह हुनेछ ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष विनोदकुमार नेम्बाङ, वडा अध्यक्ष साङपाङसहित, वडा सदस्य र कर्मचारी एवम् स्थानीय सेवाग्राहीहरुको समेत उपस्थिती थियो ।
यसअघि वडा नम्बर ३ को भञ्ज्याङमा र वडा नम्बर २ को गैरीगाउँ टोलमा वडाको शाखा कार्यालय स्थापना गरी सुचारु भइरहेको छ ।