समाधिलमा चिहान उत्खनन, कारवाही गर्न चुम्लुङको माग

इलाम : इलाम नगरपालिका ४ मलातेमा रहेको आदिवासी जनजाति लिम्बूहरुको ऐतिहासिक समाधिस्थल चिहानडाँडामा अज्ञात समूहले सयौं वर्ष पूरानो चिहान उत्खनन गरेका छन् ।

गएको शनिबार राती चिहानडाँडामा रहेको सबैभन्दा पुरानो चिहान उत्खनन गरि मानव अस्थिपञ्जर लुटेर लगेको स्थानीय विक्रम सोङ्मीले बताए । कुनै बहुमुल्य वस्तु रहेको अनुमान सहित चिहान उत्सखन गरेको हुनसक्ने उनको भनाई छ ।

सोङ्मीका अनुसार चिहान उत्खनन गरिएको ठाउँमा केही थान मानव अस्थिपञ्जर भेटिएको छ । अज्ञात समूहले चिहानबाट बहुमुल्य वस्तु चोरी गरेर लगेको सोङ्मीको आरोप छ ।

लिम्बू परम्परा अनुसार दाहसंस्कारका क्रममा मृतकको गरगहनाहरु समेत राखेर गाड्ने प्रचलन रहेकाले त्यसैको लोभमा उत्खनन भएको हुनसक्ने स्थानीयको आशंका छ ।

यसैबीच चिहान उत्खनन भएको घटनाप्रति किरात याक्थुङ चुम्लुङ इलामले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । चुम्लुङले एक प्रेस विज्ञप्ति जारी गर्दै घटनामा संलग्नको तत्काल पहिचान गरी कानुनी कारवाही गर्न माग गरेको छ ।

साथै चुम्लुङले समाधिस्थलको संरक्षण गर्न सम्पूर्ण सरोकारवालाहरुमा अपिल समेत गरेको  छ ।

पछिल्लो समय विकासको नाममा राज्यपक्ष र अन्य समूहबाट समेत लिम्बूहरुको ऐतिहासिक समाधिस्थलमाथि अतिक्रमण हुने क्रम बढेको छ ।  त्यसप्रति किरात याक्थुङ चुम्लुङले खबरदारी गर्दै आएको  छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार