चुलाचुली गाउँपालिकाको सय दिन : विकास र समृद्धिको आधार तयार

चुलाचुली गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङ । तस्वीर : नयाँ बुलन्द

इलाम : इलामको चुलाचुली गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले एक सय दिनको कार्यप्रगति सार्वजनिक गरेका छन् । इलाम सदरमुकाममा सञ्चारकर्मीहरुसँग आफ्नो एक सय दिने उपलब्धी सार्वजनिक गरेका हुन् । शपथग्रहण गरेपछिको कार्यारम्भ १ सय दिन पुगेपनि नयाँ आर्थिक वर्ष शुरु भएपश्चात आफुहरुले बनाएका नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको अवधि भने २ महिना मात्रै भएको बताए ।

२०७९ जेठ तेश्रो हप्ताबाट कार्यभार सम्हालेका केरुङले १ सय दिने उपलब्धी सार्वजनिक गर्दै विकास र समृद्धिको आधार तय भएको बताएका छन् । अध्यक्ष केरुङले आफू अध्यक्षमा निर्वाचित भइसकेपछि केही महत्वपूर्ण कामको सुरुवात भएको बताए ।

जसमध्ये पूर्वाधारतर्फ रिङ्गरोडको कालोपत्रेसँगै मुख्य भागहरुमा काम गर्ने गरी प्रर्याप्त बजेट विनियोजन भएको छ । मुख्य सडकहरु स्तरोन्तीका लागि संघ र प्रदेशसँग साझेदारीमा काम गर्ने गरी प्रक्रिया अगाडी बढाएको, वर्षातको कारणले यातायात आवागमन प्रभावित भएका सडकहरुको बाटो खुलाउन र निरन्तर यातायात आवागमनका लागि काम सुरु भएको छ ।

३३ करोड रुपैयाँको लागतमा चुलाचुली रिङरोड कालोपत्रेको प्रक्रिया सुरु भएको छ । सबै वडा जोड्ने सडक ३ करोड ५० लाखको लागतमा हुने कालोपत्रेका लागि ह्युमपाइप र कल्भर्ट निर्माण सुरु भएको छ । वडा नम्बर ६ साकफाराका लागि प्रदेश सरकारबाट ५० लाख प्राप्त भएको छ । तोरीबारी चुलाचुली सडकको डिपीआरको प्रक्रिया अघि बढाइएको छ ।

चुलाचुली १ र २ को सीमाना मंगलसिद्धिप सार्कीटार हुँदै माई नगरपालिकाको महमाई जोड्ने चुलाचुली महमाई सडक खण्ड ट्र्याक खोल्न लागि आवश्यक टेण्डर प्रकिया अगाडी बढाइएको छ । सो सडकका लागि प्रदेश सरकारबाट ७५ लाख र पालिकाबाट ५० लाख रुपैयाँ विनियोजन भएको छ ।

वडा नम्बर १ र २ जोड्ने बाघद्वार खोला पुल, हस्पिटल जाने चाँजु खोलाको पक्की पुल निर्माणका लागि आवश्यक कागजातहरु माथिल्लो निकायमा पठाइएको छ । पुलको डीपीआर, स्वोइल टेस्टको काम यसअघि नै भइसकेको थियो ।

निर्माणाधीन मदन भण्डारी मार्गमा पर्ने रतुवाखोला पुल, वुकुवाखोला पुल, विदुवाखोला पुल, चाँजु खोला पुल निर्माण कार्य तीब्रता दिन सहजीकरण गरी समयमै हस्तान्तरका लागि पहल भइरहेको छ ।

वर्खामा ग्रामीण क्षेत्रमा बिग्रिएको बाटो मर्मत एवम् स्थानीय खोला खहरे नियन्त्रणका लागि गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट १८ लाख रुपैयाँ विनियोजन गरेका छन् । बाटो मर्मतको काम सुरु भइसकेको छ ।

यसैगरी वडा नम्बर १ देखि ६ सम्मकै विद्युतीकरण हुन बाँकी घरधुरीको डिपीआर गरी १६ करोड ३५ लाख रुपैयाँ बजेट केन्द्रलाई माग गरिएको छ ।

पर्यटकीय क्षेत्र शिववरकमा ५ करोडको योजना सुरु भएको छ । पाँच सय जना अट्ने हल र फनपार्कसहितको संरचना निर्माण सुरु भएको हो ।

स्वास्थ्यतर्फ वडा नम्बर २ मा निर्माण गरिएको १५ शैयाको अस्पताल संचालनका लागि आवश्य प्रक्रिया अगाडी बढाइएको छ ।

स्वास्थ्य वीमा सेवाको प्रथम सेवा केन्द्र चुलाचुली गाउँपालिकामा नै रहने गरी काम भईरहेको छ । गाउँपालिकाको प्रशासकीय भवनमा एमबीबीएस डाक्टर र फार्मेसीसहितको सेवा दिने गरी निर्णय भएको अध्यक्ष केरुङले आफ्नो उपलब्धिमा उल्लेख गरका छन् । त्यसैगरी स्वास्थ्य वीमा सेवाका लागि एक करोड बराबरको स्वास्थ्य सम्बन्धी सामग्री स्वास्थ्य मन्त्रालयबाट उपलब्ध गराईएको छ ।

नागरिकहरुलाई सरल र सहज रुपमा स्वास्थ्य सेवा प्रवाह गर्न एम्बुलेन्स खरिद गर्ने प्रक्रिया अगाडी बढेको छ । सुत्केरी, अपाङ्गता भएका र जेष्ठ नागरिकलाई निशुल्क अस्पतालसम्मा पुर्याउने र घरसम्म ल्याउने तयारी छ । क्यान्सर रोगीलाई एक लाख बराबरको छुटका लागि ९ जनालाई गाउँपालिकाबाट सिफारिस गरिएको छ ।

शिक्षातर्फ बुहारी शिक्षा कार्यक्रम सुरुवात गरिएको छ । गाउँपालिकाका बुहारीहरुलाई कक्षा १२ सम्म निशुल्क शिक्षा दिने गरी इच्छुकलाई आवेदन माम गरेको छ । गाउँपालिकाको सरकारी विद्यालयमा अध्ययन गर्न  लाग्ने सबै खर्च गाउँपालिकाले व्यहोर्नेछ ।

त्यस्तै प्राविधिक शिक्षा छात्रवृत्ति सुरु भएको छ । प्राविधिक शिक्षा अध्ययन गर्न चाहने पालिकाकाका ४ विधाका विद्यार्थीलाई पालिकाले छात्रवृत्ति दिनेछ । एमबीबीएस डाक्टर, हेल्थ असिस्टेण्ड, इन्जिनियर र जेटीए पढ्न चाहनेलाई गाउँपालिकाले ५० प्रतिशत छात्रवृत्तिको व्यवस्था गरेको छ ।

वडा नम्बर २ स्थित पंचकन्या आधारभूत विद्यालयमा साढे ३ करोड रुपैयाँको लागतमा भवन निर्माण प्रक्रिया सुरु भएको छ ।

सामाजिक सुरक्षातर्फ सामाजिक सुरुक्षा भत्ता टोलटोलमा गएर सेवाग्राहीको हातहातमा वितरण गर्न सुरु गरिएको छ । स्थानीय एनएमबी बैंकसँगको सहकार्यमा घुम्ती टोलिमार्फत टोलटोलमा नै भत्ता वितरण सुरु गरिएको हो । जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरु गाउँपालिकाको केन्द्रमा रहेको बैंकसम्म पुग्न समस्या रहेकाले घुम्ती शिविर संचालन गरी वितरण थालिएको हो ।

त्यस्तै एकल पुरुष भत्ता वितरण कार्यक्रम सुरु भएको छ । त्यसकाका लागि आवेदन माग गरिएको छ । सम्बन्ध बिच्छेद भएका, पत्नीको निधन भएपछि विवाह नगरी बसेका र ४० वर्षमाथिका अविवाहित पुरुषलाई समेत मासिक भत्ताको व्यवस्था गरेको छ ।

हात्तीपीडित र अन्य विरामीलाई ५ देखि १० हजारका दरले नियमित रुपमा आर्थिक सहायता दिने काम भइरहेको छ ।

संस्थागत विकासतर्फ गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि ४५ लाख बराबरको जग्गा निशुल्क प्राप्त भएको छ । स्थानीय समाजसेवी गणेश राईबाट पालिकाको नाममा १ कठ्ठा जग्गा रजिष्ट्रेशन पास भएको छ ।

राष्ट्रिय भूमि आयोगसँग सम्झौता गरी अव्यवस्थित र भूमिहीन सुकुम्बासीहरुलाई जग्गा दिलाउने कामको थालनी भएको छ ।  चुलाचुली रंगमन्च नाट्यघर निर्माणका लागि निशुल्क जग्गा प्राप्तिका लागि आवेशन माग गरिएको छ ।

सूचना प्रविधितर्फ वडा नम्बर ६ मा फोरजी इन्टर नचलेपछि टुजी इन्टरनेट सेवा विस्तार गरिएको छ ।

यसअघि नीति तथा कार्यक्रम सर्वदलीय बैठकमा प्रस्तुत गरी छलफल गर्नुका साथै आम नागरिकलाई जानकारीका लागि टेलिभिजन र रेडियोबाट प्रत्यक्ष प्रशारण गरिएको थियो ।

कार्यपालिका बैठक ८ वटा सम्पन्न भएका छन् ।

(चुलाचुली गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङसँगको कुराकानीमा आधारित)

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार