फाल्गुनन्दका धार्मिक पर्यटकिय स्थलको अवलोकनमा संचारकर्मीसहित जनप्रतिनिधि

  युद्धबहादुर बोहोरा
301 Shares

पाँचथरः फाल्गुनन्द गाउँपालिका भित्र रहेका धार्मिक पर्यटकिय स्थलको अवलोकनमा पाँचथरका संचारकर्मीसहित जनप्रतिनिधि पुगेका छन् ।

कृषि र पर्यटनलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने उदेश्य लिएको यस पालिकाले धार्मिक तथा साँस्कृतिक स्थलको संरक्षण गर्दै पर्यटन प्रवर्द्धन विकास गर्ने लक्ष्य राखेसंगै विभिन्न स्थलको अध्ययन,प्रवर्धन,प्रचार,संरक्षण र व्यवस्थापन गरि संरचना निर्माणको प्रकृया थाल्ने भएको छ ।

यसैबीच,नेपाल पत्रकार महासंघ पाँचथर शाखाको आयोजना तथा पालिकाको सहयोगमा शनिवार जिल्लाको पत्रकार टोलीले जनप्रतिनिधि र कर्मचारीसंग अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा उठेका सवालहरुलाई पालिका अध्यक्ष बृजहाङ आङ्देम्बे र पालिकाका प्रमुख प्रशासकिय अधिकृत निर्मल तुम्रोकले जवाफसहितको प्रतिवद्धता जानएका छन् । छलफलमा शिक्षा,स्वास्थ्य,कृषि,भौतिक पूर्वधार,खानेपानी सुशासन,संचार क्षेत्रलाई सामानुपातिक र समावेशी दृष्ठिकोण लागु गर्ने र  यस पालिकाको सरोकारमा रहेको भेडेटार-रवि-राँके सडकको वर्तमान दयनिय अवस्था लगायतका विषयमा चर्चा गरिएको थियो । महासंघका जिल्ला अध्यक्ष गिरिराज बाँस्कोटाको अध्यक्षता तथा पालिका अध्यक्ष आङ्देम्बेको प्रमुख आतिथ्यमा विभिन्न मिडिया हाउसमा आवद्ध जिल्लाका २१ जना पत्रकारहरुको सहभागीतामा पालिका कार्यालय घुर्बिसे पञ्चमीमा अन्तरक्रियापछि सामुहिक रिपोर्टिङ गर्न उनीहरुको साथमा ऐतिहाँसिक धार्मिक पर्यटकिय स्थल सेहोनाम्लाङ (छालासुकुवा) डाँडामा पुगेका हुन् । उक्त क्षेत्र धार्मिक पर्यटकिय स्थलको  सम्भावना रहेकोले डिपिआर गरी गुरू योजना शुरु गर्ने पालिका अध्यक्ष आङ्देम्बेले  बताएका छन् ।

सेहोनाम्लाङ

सेहोनाम्लाङ (छालासुकुवा) को परिचयः

फाल्गुनन्द वडा नम्बर ५ र ७,मिक्लाजुङ १ र कुम्मायक २ नम्बर वडासंग जोडिएको  उक्त ठाउँमा नाम्सामिले आफ्नो दाजु केसामिको छाला सुकाएका थिए । नाम्सामी र केसामी ताप्लेजुङ जिल्लाको साविक नाङखोलेङ गा.वि.सको केसाप्लुङ गाउँमा इप्नासो सरङ्थङ्नाका काखबाट जन्मिएका थिए । हुर्केबढेपछि उनीहरूको झगडा तरुल, भ्याकुर र शिकारलाई लिएर हुन थाल्यो । नाङ्खोलेङ्को सुभवा गाउँको विशाल सिमलको रुखमा उनीहरूको युद्ध हुँदा नाम्सामीले केसामीलाई मारे । त्यसपछि नाम्सामीले केसामीको छाला काढेर सुकाउने ठाउँ खोज्दै हिँड्दा पाँचथर,नाम्सेलिङको सेहोनाम्लाङमा आइपुगेर छाला सुकाए । नाम्सामीले छाला सुकाउँदा गाडेका खुटिका डोबहरू आजसम्म प्रष्ट देखिन्छन् । यस ठाउँमा अझैसम्म झार उम्रिएको छैन ।  घाम झुल्कदा पहिले आइपुग्ने र अस्ताउँदा पनि त्यहाँ अन्तिम अवस्थासम्म रहने गर्छ । सेहोनाम्लाङको मुन्धुम फूल जगाउने संस्कारसँग सम्बन्धित छ । विशेषगरी तरुणी–तन्देरीको शिर उठाउन फूल जगाउने संस्कार गरिन्छ । आमा इप्नासो सरङ्थङ्नाले मनुष्यको प्रतिक स्वरूप  सिल्लरी फूल र बाघको प्रतिकस्वरूप बाबरी फूल कलश राखेकी थिइन् । केसामिको पराजयसँगै बाबरीफूल ओइलाउँछ । नाम्सामीले बाघ भएका दाजु केसामीको सर्वनास गरेर लिम्बू परिवार र समाजको संरक्षण गरेको पाइन्छ । नाम्सामीले छालासँग मानिसलाई आवश्यक कुराहरू साटेर ल्याएको चर्चाले उ बेलादेखि नै लिम्बू समाजमा विनिमय प्रणालीको पनि सुरु भएको देखिन्छ । वास्तवमा सेहोनाम्लाङले लिम्बू सभ्यताको आदिम कालखण्डको झझल्को दिन्छ । वास्तवमा मान्छेको जोवानसँग फूललाई दाँजेर हेर्ने लिम्बूको छुट्टै विशेषता हो । यसरी याक्थुङ्बा लिम्बूहरूको सबैभन्दा आस्थाको नजिक साँस्कृतिक धरोहरको रूपमा सेहोनाम्लाङलाई पाउन सकिन्छ । अहिले सेहोनाम्लाङलाई छालासुकुवा डाँडाको रूपमा सीमित गर्ने गरिएको छ । यहाँका स्थानीयहरू सेहोनाम्लाङको संरक्षण गर्न खुलेर लागेको समेत २०६८ सालमा प्रकाशित लाइक जर्नलमा उल्लेख गरिएको छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार