स्थानीय निर्वाचनमा कांग्रेस बन्यो पहिलो पार्टी

  नयाँ बुलन्द
203 Shares


काठमाडौं । बैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनबाट माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चासँग चुनावी तालमेल गरेर कांग्रेस पहिलो पार्टी बन्न सफल भयो । गठबन्धनबीच चुनावी तालमेल गर्ने विषयमा कांग्रेसभित्र पक्ष र विपक्षमा दुई धार भएपनि स्थानीय तह निर्वाचन प्रधानमन्त्री समेत रहनुभएका शेरबहादुर देउवाको चाहाना र रणनीति अनुसार नै कांग्रेस पहिलो पार्टी बनेको छ । स्थानीय तह निर्वाचनको परिणामलाई लिएर कांग्रेसभित्र तालमेलको पक्षधर कि विपक्षी खेमा सफल भयोे भन्ने बहस चलिरहँदा राजनीतिक क्षेत्रका जानकारहरु पनि दोधारमै देखिएका छन् ।

पार्टी सभापति शेरबहादुर देउवा र देउवा पक्षधर गठबन्धनबीच तालमेलकै कारण कांग्रेस २०४९ सालपछि पहिलो पटक स्थानीय तहमा पहिलो पार्टी बन्न सफल भएको जिकिर गरिरहनुभएको छ । चुनावी तालेमेल सफल भएको र आगामी चुनावमा पनि गठबन्धन गरेरै जानुपर्ने यो पक्षको जिकिर छ । तर, पार्टीभित्रको संस्थापनइतर पक्ष भने चुनावी तालमेलकै कारण कांग्रेसले कतिपय स्थानीय तह गुमाएको र एक्लै लडेको भए चार सय बढी पालिकामा कांग्रेसका उम्मेदवार जित्ने दाबी गरिरहेको छ । कांग्रेसभित्र तालमेलको पक्षधर सफल कि विपक्षी सफल भन्ने विषयमा राजनीतिक क्षेत्रका जानकारहरु पनि निष्कर्षमा पुग्न नसकेको राजनीतिक विश्लेषक प्रा.डा. गोविन्दमान सिंह कार्की बताउनुहुन्छ ।

हुन त तालमेल नगरी एक उम्मेद्वारी दिएका करिब ५० स्थानीय तहमा कांग्रेस जित हासिल गर्न सफल भएको छ । तालमेल गरेका स्थानीय तहमा कांग्रेसले जितेको प्रतिशत ३५ मात्र हो । स्थानीय तह निर्वाचनको नतिजा हेर्दा कांग्रेसको लागि चुनावी तालमेल फलिफाप नभएको राजनीतिक विश्लेषक कार्कीको तर्क रहेको छ ।

चुनावी परिणामपछि कांग्रेसभित्रको बहसले आगामी निर्वाचनमा सत्तारुढ गठबन्धनबीच हुन सक्ने तालमेललाई असर पार्ने देखिन्छ । राजनीतिक वृत्तमा पनि स्थानीय तहको चुनावी परिणामलाई हेरेर आगामी संघ र प्रदेशको चुनावमा कांग्रेस एक्लै प्रतिष्पर्धामा जानुपर्ने बहस सतहमा देखिएको कार्की बताउनुहुन्छ ।

त्यसो त कांग्रेसभित्रको चुनावी तालमेलको विपक्षमा रहेको समूहले अझैपनि चुनावी तालमेललाई स्वीकार गर्न सकेको छैन् । यस विषयमा कांग्रेसभित्र जारी पक्ष विपक्षको बहसले आगामी निर्वाचनमा हुन सक्ने गठबन्धनलाई समेत प्रभावित पार्ने देखिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार