‘देउवाको छ महिने कार्यकाल उपलब्धिमूलक’

  नयाँ बुलन्द
49 Shares

काठमाडौं : प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका केन्द्रीय रामहरि खतिवडाले प्रधानमन्त्री शेरबहादुर देउवाको छ महिने कार्यकाल उपलब्धिमूलक रहेको दाबी गरेका छन् । उनले सरकारले संविधानलाई सही ट्र्याकमा ल्याउने काम गरेको र विकास निर्माणको काम पनि द्रुत गतिमा गरेको दाबी गरे ।

देउवा प्रधानमन्त्री भएको छ महिना पुगेको अवसरमा आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले भने, ‘यसअघि नेकपालाई पाँच वर्षको लागि सरकारको नेतृत्व गर्ने अवसर थियो, तर उहाँहरू आँपैबिच मारामार, कुटाकुट र हानाहान गर्ने अवस्था भयो, दुई तिहाइको मतलाई अपमान गर्नुभयो, उहाँहरूकै कारण अहिले कांग्रेसले सरकारको नेतृत्व गर्ने अवसर पायो । कांग्रेस सरकारमा आउनुपुर्व संवैधानिक निकाय र संसदीय पद्धति ध्वस्त थियो । तत्कालीन प्रधानमन्त्री ओलीले ६ महिनाको अवधिमा दुई दुई पटक संसद् विघटन गर्नुभयो, राष्ट्रपतिलाई दुरुपयोग गरिएको थियो । तर, अदालतले परमादेश दिएर अहिले नयाँ सरकार बनेको छ। यसले अहिले मुलुकलाई संवैधानिक ट्र्याकमा ल्याएको छ ।’

उनले हिजो संवैधानिक निकाय भर्तीको केन्द्र बनाइएको भए पनि अहिले देउवा सरकारले त्यसलाई सुधारेको दाबी गरे । उनले भने,‘अहिले गठबन्धनको सरकारले राम्रो काम गर्‍यो । संविधानलाई सही ट्र्याकमा ल्याउने काम भएको छ। हिजो सरकारमा हुँदा केपी ओलीले ०७५ सालको मङ्सिर मै रेलको टिकट किन्न भन्नुभयो, पानीजहाजको कार्यालय खोल्नुभयो, तर तीन महिनाभित्रै बन्द भयो । उहाँले बोल्दा धेरै हाँस्ने काम त गरियो, तर उहाँको काम हेर्दा निन्द्रा लाग्दैन थियो ।’

उनले आफूहरूको सरकारको नेतृत्वमा आउने बित्तिकै पदमुक्त भएका सांसदहरूको लागि राष्ट्रियसभाको निर्वाचन गरेको पनि बताए । उनले भने,‘अहिले फेरि सरकारले कार्यकाल सम्पन्न भका राष्ट्रियसभाका सांसदहरूको निर्वाचनको तयारी गर्दैछ। यो निर्वाचन आगामी माघ १२ गते सम्पन्न हुँदैछ।’

उनले देउवा सरकारले यसअघि ध्वस्त भएको अर्थतन्त्रलाई सही बाटोमा हिँडाउन थालेको पनि दाबी गरे । नले भने,‘हिजो केपी ओलीले १६५ वटा सडक एकैचोटी उद्घाटन गर्नुभयो । पैसा सैसा थिएन, एकैचोटी रणनीतिक सडक उद्घाटन गर्नुभयो । मुलुकमा खोप थिएन । अहिले १ करोड खोप जम्मा छ । यो सरकार आएपछि यसले खोप, खोप खोप मात्रै भनेको छ। माघ १ गतेबाट राष्ट्रिय खोप अभियान सुरु गर्दैछ। सरकार जनताको स्वास्थ्यप्रति गम्भीर छ, सोहीअनुसार काम गरिरहेको छ। यो बीचमा पार्टीले आफ्नो १४औं महाधिवेशन पनि सफल रूपमा सम्पन्न गरेको उनले सुनाए । त्यस्तै, सरकारले प्रत्येक (मुटु, मिर्गौला फेल भएका र स्पाइनल–कर्ड ईन्जुरी) का बिरामीलाई ५ हजार दिन थालिएको पनि उनको दाबी छ ।

त्यस्तै, खतिवडाले सरकारले विदेश सम्बन्धमा पनि राम्रो काम गरेको दाबी गरे । उनले भने,‘हिजोका दिनमा कनिका छरेर जस्तो बजेट दुरुपयोग गर्न दिँदैनौँ । जनतालाई भ्रमको खेती गरिएको थियो, अहिले यो सरकारले सही ट्र्याकमा ल्याएको छ ।’ उनले एमालेले संसद् चल्न नदिएकोमा पनि आक्रोश पोखे ।

उनले भने,‘चुनावबाट बनेको संसद् देखिनसक्नेले किन फेरि चुनावको कुरा गरेर भ्रमको खेती गर्नु ? एमालेका साथीहरू संसद्को बैठकमा चाहिँ जानुहुन्छ, अनि अवरोध गर्नुहुन्छ। फेरि भत्ता चाहिँ खाई रहनुभएको छ । संसदीय समितिमा माधव नेपालहरू बस्दा सँगै बस्ने अनि संसद्मा चाहिँ विरोध गर्ने काम गलत हो । उहाँहरूले सभामुखमाथि विषवमन गर्नुभयो ।’

उनले हिजोका दिनमा आफूहरूले प्रतिपक्षीको रूपमा प्रभावकारी भूमिका निर्वाह गरेको पनि स्मरण गराए । उनले भने,‘संसद्मा प्रतिपक्षीको भूमिका हामीले राम्रोसँग खेल्यौँ । तर, अहिले एमालेले संसद् अवरोध गरिरहेको छ। हामी त प्रमुख प्रतिपक्षीसँग सल्लाह गरेर संसद् चलाउँछौँ । प्रधानमन्त्री आफै गएर प्रमुख प्रतिपक्षी दलको नेतालाई भेट्नुभएको छ । मलाई विश्वास छ, ओलीले संसद् चलाउन सहयोग गर्नुहुन्छ। केपी ओलीले हिजो प्रधानमन्त्री हुँदा बोलाएको सर्वदलीय बैठकमा देउवा सहभागी हुनुभयो । तर, अहिले ओली सर्वदलीय बैठकमा आउनुभएन । प्रतिपक्षी सत्तापक्षसँग किन नमिल्ने  ? सबै दल मिलौँ । एमालेलाई पनि यही सरकारमा ल्याएर चुनावमा जान हामी तयार छौं । यो सरकार संसद्को पुरै अवधि चल्छ।’

उनले नेपालको भूमिमा कसैले पनि बाटोघाटो बनाउनु गलत भएको भन्दै यसमा पार्टीको तर्फबाट घोर भर्त्सना गरे । उनले भने,‘कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमि हो । नक्सा ल्याउँदा पनि कांग्रेसले केन्द्रीय समितिको बैठक राखेर निर्णय गरेको छ । हामी कुटनीतकि रूपमा संवाद गरेर हाम्रो भूमि फिर्ता ल्याउँछौँ । यसको लागि अहिले पहल भइरहेको छ । परराष्ट्रमन्त्रीले पनि यसबारेमा पहल भइरहेको भन्नुभएको छ । राष्ट्रियताको सवालमा कांग्रेस कसैसँग पनि सम्झौता गर्दैन ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार