खसआर्यको कर्मकाण्ड सिकाउँदै फाल्गुनन्द गाउँपालिका

  नयाँ बुलन्द
1k Shares

पाँचथर : खसआर्य समुदायको कर्मकाण्ड प्रवर्द्धन र संस्कृति संरक्षण कार्यक्रम पाँचथरको फाल्गुनन्द गाउँपालिकामा संचालन भएको छ ।

फाल्गुनन्द गाउँपालिका-५ घुर्बिसे पंचमीमा तिन दिवसीय खसआर्य कर्मकाण्ड प्रवर्द्धन सम्बन्धी कार्यक्रम संचालन भएको हो । फाल्गुनन्द गाउँपालिकाको आर्थिक सहयोगमा सारथी अनलाइनको आयोजनामा कार्यक्रम संचालन गरिएको हो ।

आफ्नो रीतिरिवाज तथा संस्कारहरुलाई उपयोग गरी संस्कृति जगेर्ना गर्न सक्षम बनाउने उदेश्यले संचालित कार्यक्रममा खसआर्य समुदायको जन्म, विवाह, मृत्यू पश्चात गरिने काजकिरिया, पाश्‍नी, वार्षिक रुपमा गरिने पाठपूजा र धर्मसंस्कार सम्बन्धी जानकारी गराइनेछ ।

कार्यक्रममा गाउँपालिकाका विभिन्न वडाबाट ४० जना खसआर्य समुदायका अग्रजहरुको सहभागिता रहेको छ । कार्यक्रमका पण्डित कमल दाहाल र कमल भण्डारीले सहजीकरण गरिरहेका छन् ।

आदिवासी लिम्बू समुदायको बाहुल्यता रहेको फाल्गुनन्द गाउँपालिकामा पहिलो पटक खसआर्य समुदायलक्षित कार्यक्रम संचालन भएको हो । अन्य लक्षित वर्ग आदिवासी जनजाति, दलित, महिला, युवा, बालबालिकालगायतको क्षेत्रका लागि मात्र कार्यक्रम तर्जुमा गर्दै आएको गाउँपालिकाले खसआर्य समुदायका लागि समेत कार्यक्रम तर्जुमा गरेपछि खसआर्य समुदाय उत्साहित भएका छन् ।

कार्यक्रममा जेष्ठ सहभागी जनार्दन अधिकारीले गाउँपालिकाले खसआर्य लक्षित कार्यक्रम समेत तर्जुमा गरेर सबैलाई समान व्यवहार गरेको बताए । उनले पहिलो पटक खसआर्य समुदाय लक्षित कार्यक्रम फाल्गुनन्द गाउँपालिकाले सुरु गरेको बताउँदै गाउँपालिकालाई धन्यवाद ज्ञापन गरे ।

फाल्गुनन्द गाउँपालिकाले आदिवासी जनजाति, महिला, दलित, युवा, बालबालिकासहित खसआर्य समुदायका लागि कार्यक्रम तर्जुमा गरेको छ । फाल्गुनन्दमा लिम्बू ५५ प्रतिशत, खसआर्य १५ प्रतिशत, राई र तामाङ १०/१० प्रतिशत, दलित ५ प्रतिशत, मगर, सुनुवार र नेवार १/१ प्रतिशत र माझी, कुमाललगायत अल्पसंख्यक २ प्रतिशत रहेको गाउँपालिकाको तथ्याङ्कमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार