फ्रन्टलाइनरहरू असुरक्षित

  नयाँ बुलन्द
21 Shares

फ्रन्टलाइनरहरू असुरक्षित, बाँके घटनाको सर्वत्र विरोध

काठमाडौं : कोरोना महामारीको दोस्रो लहर देशभरी नै जारी रहेका बेला अहिले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, सफाइकर्मी र एम्बुलेन्स चालकहरू भने आफ्नो ड्युटीमा निरन्तर खटिएका छन् । अहिले काठमाडौं उपत्यकालगायत देशका विभिन्न ठाउँमा निषेधाज्ञा जारी छ । तर, फ्रन्टलाइनरहरू भने आफ्नो ड्युटीमा छन् । सबैभन्दा जोखिममा रहेर काम गरिरहेका स्वास्थ्यकर्मीहरूमाथि दुव्र्यवहार हुने क्रम भने रोकिएको छैन । यसैबीच बिहीबार नेपालगञ्जस्थित भेरी अस्पतालका स्वास्थ्यकर्मीहरूमा कुटपिट भएको छ । अस्पतालमा तोडफोड पनि गरिएको छ ।

जेठ ४ गते अस्पतालमा भर्ना भएका दाङका एक कोरोना संक्रमितको मृत्यु भएपछि आफन्तहरूले स्वास्थ्यकर्मीहरूमाथि आक्रमण गरेका हुन् । स्वास्थ्य अवस्था गम्भीर हुँदै गएपछि उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । तर, राति ८ बजे मृत्यु भएपछि आफन्तहरूले चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको आरोप लगाउँदै आक्रमण गरेको भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले हिमालय टाइम्सलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार मृतकका आफन्तले भेन्टिलेटरमा राखेका कारण बिरामीको मृत्यु भएको भन्दै डा. चन्द्रप्रकाश साहु र नर्सहरू अस्मिनी गुरुङ र सदीक्षा गैरैमाथि हातपात गरेका हुन् । मृतकका छोरा र दुई भाइले ड्युटीमा रहेका चिकित्सक साहु र नर्समाथि हातपातको गरेका हुन् । ड्युटीमा खटिएका बेला हातपात भएपछि अस्पतालभित्र स्वास्थ्यकर्मीको भागाभाग भएको थियो । घटनामा चार नर्सिङ स्टाफ र एक चिकित्सक घाइते हुनुभएको छ ।

तीन जना पक्राउ, ज्यान मार्ने उद्योगमा मुद्दा

घटनामा संलग्न तीन जनालाई नै प्रहरीले पक्राउ गरेको छ । उनीहरूविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा दर्ता पनि गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक डिएसपी सुवास खड्काले अस्पतालमा आक्रमण गेर्न मानबहादुर रावत, भरत रावत र लोकराज रावतविरुद्ध मुद्दा दर्ता भएको बताउनुभयो । उनीहरूमध्ये मानबहादुर रावत नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य हुन् । उनीहरूविरुद्ध भेरी अस्पताल तथा पीडित डाक्टर नर्सलगायतले जाहेरी दिएका थिए । यस्तै, घटनाको अनुसन्धान गर्न बाँके जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सात सदस्यीय छानविन समितिसमेत गठन भएको छ ।

घटनाको चौतर्फी विरोध

स्वास्थ्यकर्मीहरूमाथि आक्रमण भएपछि विभिन्न दलका नेताहरूदेखि लिएर राष्ट्रपति विद्यादेवी भण्डारीले दुःख व्यक्त गर्नुभएको छ । साथै संलग्नहरूमाथि कडा कारबाहीको माग पनि गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्यकर्मीहरूमाथि भएको कुटपिटप्रति दुःख व्यक्त गर्दै अहिलेको विषम परिस्थितिमा संयम र धैर्य अपनाउन आग्रहसमेत गर्नुभएको छ ।

उहाँले अहिलेको समयमा भावनात्मक उत्तेजना हुनसक्नेतर्फ सचेत गराउँदै भन्नुभएको छ, ‘आफ्नो र परिवारको जीवन जोखिममा राखेर कोभिड–१९ का बिरामीको उपचारमा संलग्न भेरी अस्पतालका चिकित्सक तथा नर्सप्रति दुव्र्यवहार हुनु खेदजनक छ । यस विषम परिस्थितिमा संयम र धैर्य अपनाउँदै यो महामारीलाई परास्त गर्नु हामी सबैको साझा दायित्व हो ।’

यस्तै, विपक्षी दलका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतले पनि घटनामा संलग्नलाई कारबाहीको माग गर्नुभएको छ । कांग्रेस सभापति देउवाले चिकित्सक र नर्समाथि आक्रमण हुनु निकै निन्दनीय कार्य भएको बताउनुभएको छ । उहाँले सामाजिक सञ्जालमार्फत कोभिड–१९ महामारीमा ठूलो जोखिम लिएर बिरामीको उपचारमा दिनरात खटेका स्वास्थ्यकर्मीमाथि भएको घटनाको तत्काल छानबिन गरी आक्रमणमा संलग्नमाथि कडा कारबाही गर्न माग गर्नुभएको छ । यसैगरी, विवेकशील साझा पार्टीले पनि विज्ञप्तिमार्फत अस्पतालजस्तो संवेदनशील कार्यक्षेत्रभित्र स्वास्थ्यकर्मीमाथि अभद्र भिड पुगेर गरिएको आक्रमणको भत्र्सना गरेको छ । यस्तै, नेपाल सरकारका उपप्रधानमन्त्री ईश्वर पोखरेलले समेत बाँकेका प्रमुख जिल्ला अधिकारीलाई टेलिफोन गरी घटनामा संलग्नलाई हदैसम्मको कारबाही गर्न निर्देशन दिनुभएको छ ।

कोरोना महामारीको बेला जनताको जीवनरक्षामा खटिएका स्वास्थ्यकर्मीमाथि भएको आक्रमण ‘गम्भीर अपराध र अमानवीय’ भएको बताउँदै उपप्रधानमन्त्री पोखरेलले स्वास्थ्यकर्मीको सुरक्षामा विशेष ध्यान दिन निर्देशन दिनुभएको उहाँका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिनुभयो । यस्तै, नेपाल चिकित्सक संघले नेपालगञ्जको भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको कुटपिटको विरोध गरेको छ । कोरोना संक्रमितको उपचारमा खटिएका चिकित्सकको मनोबल बढाउनुको साटो हातपात गर्ने र अस्पताल तोडफोड गर्ने घटनाले चिकित्सक र स्वास्थ्यकर्मीको जीवन असुरक्षित रहेको छर्लङ्ग हुने संघले बताएको छ । गृह मन्त्रालयले घटनामा संलग्नलाई कारबाही गरिने प्रतिबद्धता जनाएको छ । एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले स्वास्थ्यकर्मीहरूमाथि भएको आक्रमणमा संलग्नलाई कारबाही गरिने जनाएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि घटनामा संलग्नलाई कडा कारबाहीको माग गरेको छ ।

संवादबाट समस्या समाधान गर्न मानव अधिकार आयोगको अपिल

राष्ट्रिय मानव अधिकार आयोगले अहिलेको विषम परिस्थितिमा संवेदनशीलतालाई ध्यानमा राख्दै वार्ताका माध्यमबाट समस्या समाधान गर्न आग्रह गरेको छ । आक्रमणको विरोधमा चिकित्सकहरूले आन्दोलन सुरु गरेपछि आयोगले स्वास्थ्य जस्तो अति संवेदनशील सेवालाई अवरुद्ध नगरी वार्ता र संवादको माध्यमबाटै समस्याको समाधान गर्न सम्बन्धित सबै पक्षलाई आग्रह गरेको हो ।

आयोगले कोभिड–१९ को महामारीमा अग्रपंक्तिमा रही अहोरात्र खटिएका स्वास्थ्यकर्मीमाथि कुटपिट तथा अस्पताल तोडफोडका घटनाले हालको संकटको अवस्थामा उच्च मनोबलका साथ कार्य गर्नुपर्ने स्वास्थ्यकर्मीको मनोबल र प्रतिष्ठामा नकारात्मक असर पर्ने भएकाले घटनाको शीघ्र र प्रभावकारी अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन आयोगले आग्रह गरेको छ ।

आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा कोभिड–१९ बाट उत्पन्न वर्तमान संकटको परिस्थितिमा बाँकेको भेरी अस्पतालमा संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरूमाथि भएको कुटपिट तथा अस्पतालमा भएको तोडफोडको घटनाप्रतिको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

घट्दै कोरोना दर तर जोखिम कायमै

नेपालमा केही दिनयता संक्रमण दर घट्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमण दर कम र निको हुनेदर बढ्दै गएको हो । मन्त्रालयका अनुसार शुक्रबार नौ हजार ८४१ जना संक्रमित निको भएका छन् । योसँगै देशभर निको हुनेको संख्या चार लाख २८ हजार ६७० पुगेको छ । यस्तै, थप ६ हजार ९५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर हाल एक लाख १३ हजार ३९४ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

त्यस्तै, २४ घण्टामा ९६ जना संक्रमितको मृत्यु भएको छ भने हालसम्म सात हजार ४७ जनाको मृत्यु भइसकेको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सात हजार ४७ पुगेको छ । शुक्रबारसम्म दुई हजार ७७ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन् । एक हजार ६२७ आइसियु र ४५० जना संक्रमित भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार