प्रशोधन छाड्दै चिया कारखाना

  विप्लव भट्टराई
42 Shares

 

इलामको सूर्योदय नगरपालिकास्थित अन्तुका किसान चियाको मुना देखाउँदै। यस वर्ष उत्पादनमा ह्रास आएकाले यहाँका कारखानाहरूले प्रशोधन स्थगित गर्न थालेका छन्। तस्बिर : विप्लव

इलाम  : हरियो चियापत्ती उत्पादन हुन छाडेपछि इलामका चिया कारखाना बन्द हुन थालेका छन् । यसपटक अघिल्लो वर्षको तुलनामा ३५ प्रतिशत पनि मुना नपलाएको कृषकहरूको गुनासो छ ।

हिउँदमा पानी नपरेको, मलखादको अभाव र अघिल्लो वर्षको टिपाइ बिग्रिएकाले त्यसको प्रत्यक्ष असर अहिले परेको सरोकारवालाको भनाइ छ । नेपालको पूर्वी सीमावर्ती क्षेत्रवाट भारतमा रहेका चिया कारखानामा समेत हरियो चियापत्ती जाने गरेको छ । चिया कारखाना थपिएको तुलनामा चिया वगानको विस्तार हुन भने सकेको छैन । जसका कारण पनि कारखानाहरूले दीर्घकालीन रूपमा हरियो पत्तीको अभाव खेप्नुपर्ने देखिएको छ ।

झापाको सीसीटी चिया कारखानाले पनि आवश्यकताअनुसार बढी मूल्य दिएर इलामबाट चियापत्ती लाने गरेका छन् । यसको असर पनि यहाँका अर्थोडक्स चिया कारखानामा देखिने गरेको छ । तर अहिलेको समस्या भने उत्पादनमा आएको गिरावट नै भएको उद्योगी, कृषक स्विकार्छन् ।

हिउँदमा वर्षा नभएका कारण योपटक ढिलो गरी मात्र चिया टिपाइ सुरु भएको थियो । अघिल्ला वर्षहरूमा चैतको पहिलो सातादेखि नै चिया टिपाइ सुरु हुने भए पनि योपटक तेस्रो सातादेखि मात्र चिया टिपाइ भएको थियो । कारखाना खुलेको महिना दिन पनि नपुग्दै उत्पादन न्यून भएपछि कारखाना बन्द गर्नुको विकल्प नभएको व्यवसायीहरूको भनाइ छ ।

अर्थोडक्स चिया उत्पादन गर्ने इलामका कृषकले आकाशेपानीमा नै भर पर्नुपर्ने अवस्था छ । अधिकांश बगानमा हिउँदे सिँचाइको व्यवस्था छैन । जसका कारण हिउँदमा भएको वर्षाले यति बेलाको चियाको उत्पादन निर्धारण गर्ने गर्छ । ‘पानी नपरेकै कारण दुई पात एक सुइरो नै हुन पाएन,’ अन्तुका चिया किसान तारा घिमिरेले भने, ‘अघिल्लो वर्षको यही सिजनको भन्दा अहिले २५ प्रतिशतभन्दा कम उत्पादन भएको छ ।’ अघिल्लो वर्ष पहिलो टिपाइमा ५ सय किलोसम्म हरियो चियापत्ती बिक्री गर्ने कृषकले यो वर्ष एक सय केजी पनि हरियो चियापत्ती टिप्न सकेका छैनन् ।’

बगानमा मुना नपलाएसँगै कारखानामा क्षमताभन्दा कम मात्र हरियो चियापत्ती पुग्ने गरेको छ । अन्तुको तकपतस्थित गणेश हिमाल टी स्टेटको दैनिक प्रशोधन क्षमता १० हजार किलो भए पनि अहिले मुस्किलले ३ हजार किलोको हाराहारीमा मात्र हरियो चियापत्ती आउने गरेको छ । ‘यस्तो अवस्थामा धेरै दिन कारखाना सञ्चालन गर्न सकिँदैन,’ कर्मचारी हेमन्त खतिवडाले भने ।

जिल्लाका अधिकांश कारखानाको यस्तै अवस्था छ । संस्थाले आधिकारिक निर्णय नगरे पनि हरियो चियापत्ती आउन छाडेकाले धेरै कारखानाले प्रशोधन स्थगित गर्न थालेको सूर्योदय टी प्रोड्युसर्स एसोसिएसनका अध्यक्ष उत्तमकुमार श्रेष्ठले बताए । पहिलो उत्पादन गुणस्तरीय हुने भएकाले बजारमा पहुँच जमाउनका लागि चियाको पहिलो टिपाइ फस्टफ्ल्स उत्तम मानिन्छ ।

उत्पादन कम भए पनि फस्टफ्ल्स चियाको मूल्य उच्च हुन्छ ।इलामसहित पूर्वी पहाडी जिल्लामा वार्षिक ५५ लाख किलो तयारी अर्थोडक्स चिया उत्पादन हुन्छ । इलाममा मात्र २४ वटा ठूला र १ सय भन्दा धेरै साना तथा मझौला चिया कारखाना रहेका छन् । यहाँका करिब १५ हजार किसान चियामा आश्रित छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार